भर्खरै :

ललितपुरमा ‘साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या’ बारे छलफल

ललितपुरमा ‘साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या’ बारे छलफल

ललितपुर, ५ कार्तिक । नेपाल मजदुर किसान पार्टी महालक्ष्मी नगर समिति, ललितपुरको आयोजनामा ‘नेपालभाषा साहित्य तःमुंज्या र सांस्कृतिक ब्वज्या’ को आवश्यकताबारे अन्तरक्रियात्मक छलफल कार्यक्रम शनिबार सिद्धिपुरमा भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य राजवीर डंगोलले माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधाराबाट जनतालाई शिक्षित गर्ने भरपर्दाे माध्यम साहित्यिक तथा सांस्कृतिक कार्यक्रम, राजनैतिक कक्षा सञ्चालन र गतिविधि हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “विश्वसामु नेपालको छुट्टै पहिचान दिने कार्य नेवार संस्कार, संस्कृति, कला, भाषा, पहिरन र परम्पराले गर्छ । तर, नेपालमा राणा र शाहकालीन शासकवर्गले खसबाहेक अरू जातिको भाषा, संस्कृति, कला र साहित्यलाई उठ्नबाट वञ्चित गरिराखेको थियो । नेपालभित्र रहेका विभिन्न जाति र भाषाभाषीले आफ्नो भाषा र संस्कृति संरक्षणको लागि विभिन्न साहित्यिक र सांस्कृतिक गतिविधिहरू गर्न सुरु गरेका छन् । सोही सिलसिलामा विसं २०३७ सालबाट नेपालभाषा साहित्य तःमुंज्या (साहित्य सम्मेलन) भक्तपुरबाट सुरु भएको हो ।”
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय वैकल्पिक सदस्य एन.बी. श्रेष्ठले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टी किसान आन्दोलनको जगमा उभेको पार्टी हो । माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्ग निर्देशक सिद्धान्तको रूपमा अँगाली देश र जनताको हितमा कार्य गरिरहेको छ । कामदार र पछाडि परेका जनतालाई साहित्यिक, सांस्कृतिक कार्यक्रम, राजनैतिक कक्षामार्फत शिक्षित गर्ने कार्य भइरहेको छ ।”
उहाँले भन्नुभयो, “सन् १८२५ को डिसेम्बर २६ को दिन रुसमा त्यहाँका कुलीनवर्गका सैनिक कमान्डरहरूले त्यहाँको शासक जारशाहीविरुद्ध विद्रोह गरी संवैधानिक र प्रजातान्त्रिक शासन व्यवस्थामा रूपान्तरण गरी फ्रान्स, बेलायत र जर्मनीजस्तै विकासमा छलाङ मार्ने सोच राखी विद्रोह गरे ।”
उहाँले लियो टोल्स्टोय एक सामन्त परिवारको सदस्य भएर पनि जीवनको अन्तिम अवस्थामा आफ्नो जुत्तासमेत आफँै सिउने भई आफ्नो सारा जग्गा किसानहरूलाई बाँधेर दिएको, बङ्गाली लेखक रवीन्द्रनाथ ठाकुरले पनि आफ्नो जीवनको अन्त्यमा आफ्ना सबै जग्गा जमिन विश्वविद्यालयको लागि दान गरी सम्पत्ति त्याग गरेको, विश्व सर्वहारावर्गका महान् नेता फेडरिक एङ्गेल्सले आफ्नो बाबुको निधनपश्चात् आफ्नो दुई कारखाना अरूलाई बेचेर सबै पैसा माक्र्सद्वारा लिखित पुस्तक प्रकाशित गर्न र पार्टी गतिविधि गर्न खर्च गर्नुभएको थियो ।
नेपाल कर्मचारी समाजका अध्यक्ष एल.पी. गौतमले भन्नुभयो, “वर्गीय र राजनैतिक चेतना दिने माध्यम साहित्यिक र सांस्कृतिक कार्यक्रम हो । आदर्श समाज निर्माण एक दीर्घकालीन सोच र लक्ष्य हो भनी सोच राखी जनहितको कार्य गर्नु आवश्यक छ ।”
उहाँले भन्नुभयो, “भारतको वर्तमान मोदी सरकार एक दक्षिणपन्थी, धार्मिक कट्टरतावादी, बडा राष्ट्र अहङ्कारवादी र फाँसीवादी हो । त्यो सरकारले भारतीय मुसलमान, आदिवासी, जनजाति, अल्पसङ्ख्यक, दलित र अन्य धर्मावलम्बीहरूको मात्रै होइन अरू राजनैतिक दल र भारतीय जनताको राजनैतिक तथा मौलिक अधिकारहरू हनन गर्दै छ ।”
नेपाल मजदुर किसान पार्टी ललितपुर जिल्ला समिति सदस्य महन्त महर्जनले संरा अमेरिका भारतको मोदी सरकारलाई साथै लिएर जापानमार्फत चीनको दक्षिणी सागरको धमिलो पानीमा माछा मार्ने र एसियाली युद्धको नयाँ तानाबाना बुन्ने दाउमा भएको, अमेरिका–भारत–जापानको त्रिकोणात्मक भुमरीमा नेपाललाई पार्न खोजिरहेको छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेपाली काङ्ग्रेस नेपालमा सबभन्दा लामो शासन गर्ने राजनैतिक दल हो । सार्वजनिक कलकारखाना तथा उद्योगधन्दा निजीकरण गर्ने नेपाली काङ्ग्रेस सरकारको नीतिले गर्दा देशको अर्थतन्त्र ध्वस्त भएको हो, सार्वजनिक ऋण २३ खर्ब पु¥याएर देश परनिर्भर बनेको छ ।”
नेपाल मजदुर किसान पार्टी महालक्ष्मीका सदस्य अनिष महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घ ललितपुर जिल्ला समिति सदस्य रुपना महर्जन, नेपाल क्रान्तिकारी किसान सङ्घ ललितपुर जिल्ला समिति सदस्य चन्द्रमान महर्जन, इन्द्रराज महर्जन, आशाराम महर्जन, विकी महर्जनले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *