भर्खरै :

तः मुंज्याको सफलताको कामना

तः मुंज्याको सफलताको कामना

यही कार्तिक ९ र १० गते ४३ औँ नेपालभाषा साहित्य तः मुंज्या हुँदै छ । साहित्य सम्मेलन र सांस्कृतिक कार्यक्रमसमेत हुने उक्त तः मुंज्या यो वर्ष भनपा वडा नं ५ स्थित ल्यसिंख्यः मा हुनेछ । ‘जनता म्वाःसा भाषा म्वाई’ (जनता बाँचे भाषा बाँच्छ) भन्ने उद्घोषका साथ हुँदै आएको यो बृहत् साहित्य सम्मेलन नेपाल संवत् ११०० देखि सुरु हुँदै आएको हो । कथा, कविता, निबन्ध, गीत, ख्याल (व्यङग्य) र एकाङ्की नाटक श्रमजीवी वर्गको पक्षमा हुनुपर्छ भन्ने मान्यताका साथ प्रत्येक वर्ष द्वादशी र त्रयोदशीको दिन हुँदै आएको यो सम्मेलन जनताको साहित्यिक तथा सांस्कृतिक कार्यक्रम भने पनि फरक पर्दैन ।
नेपालभाषा साहित्य तः मुंज्या जनताको एक खुला विश्वविद्यालय हो । तः मुंज्या साहित्यिक मञ्चमात्र होइन वैचारिक मञ्च पनि हो । नयाँ, पुराना लेखक या साहित्यकारहरूको साहित्य वाचन, साहित्यिक अनुभवको साथै विभिन्न राजनीतिज्ञ, विज्ञहरूको आ–आफ्नो अनुभवको जानकारी पनि मिल्छ । कानुनविद्, संविधानविद्, जलस्रोतविद्, राजनीतिक विश्लेषक, डाक्टर, इन्जिनियर, अर्थशास्त्री, समालोचक, संस्कृतिविद्, इतिहासकार, सीमाविद् आदिको आ–आफ्नो अनुभव सुन्ने अवसर हामी पाउँछाँै । एउटै मञ्चमा एकै दिन विभिन्न विज्ञ र विश्लेषकहरूको अनुभव सर्वसाधारण जनताले सुन्न पाउने हुँदा यो मञ्च खुला विश्वविद्यालयसरि नै हुन्छ ।
नेपालभाषा साहित्य तः मुंज्या जनताको साहित्यिक, सांस्कृतिक र राजनीतिक मञ्च हो । नेपालभाषाको साहित्यिक र सांस्कृतिक मञ्च भए पनि यस मञ्चमा अन्य विभिन्न जनजाति र भाषाभाषीहरूको गीत प्रस्तुत हुन्छ । विभिन्न जनजातिका वक्ताहरूको अनुभव प्रस्तुत हुन्छ । यसकारण, यो मञ्च विभिन्न जनजातिहरूको मञ्च पनि हो । यो ज्येष्ठ नागरिक, विज्ञ र गुरुहरूको सम्मान हुने मञ्च हो । यस मञ्चमा वाचित उत्कृष्ट साहित्यकारहरू पुरस्कृत हुन्छन् । तः मुंज्याका महत्वपूर्ण गतिविधिमध्ये एउटा साहित्य सम्मेलन र सांस्कृतिक कार्यक्रम हो भने अर्को नेपाल संवत् फेर्ने दिन हुने न्हुदँ ¥याली हो । त्यस्तै तः मुंज्याअन्तर्गत ¥यालीमा सहभागी विभिन्न गाजाबाजाको टोली समेतलाई मायाको चिनो प्रदान गरी ख्याल, एकाङ्की नाटक र नृत्य विधाका उत्कृष्ट टोलीलाई विशेष समारोहबिच गरिने पुरस्कार वितरण पनि अर्को महत्वपूर्ण कार्यक्रम हो ।
यसबाहेक तः मुंज्या हुनुभन्दा अघिल्ला दिनहरूमा अन्य साहित्यिक गतिविधि भएको हुन्छ । यो वर्ष कविता, कथा, निबन्ध लेखनको प्रशिक्षण, नेपालभाषाको लिपिबारे पनि प्रशिक्षण भएको थियो । किसान, मजदुर, विद्यार्थी, युवा, महिला, शिक्षक, साहित्यकार, कर्मचारी, व्यापारी, व्यवसायी, बुद्धिजीवी, लेखक, कानुनविद्, चिकित्सक, राजनीतिक नेता, कार्यकर्ता तथा सर्वसाधारण जनतामा उपस्थिति भएर दुईदिन हुने सो सम्मेलन सफल पार्नु हामी सबै शुभचिन्तकहरूको जिम्मेवारी हो । नेपालभाषा साहित्य तः मुंज्याको सफलताको कामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *