भर्खरै :

संसद्मा आवाज बन्द गर्न किन खोजिँदै छ ?

संसद्मा आवाज बन्द गर्न किन खोजिँदै छ ?

काठमाडौँ । असोज २६ गतेका दिन कार्तिक १२ गते दिनको १ बजे बस्ने गरी स्थगित भएको प्रतिनिधिसभाको बैठक झन्डै ४५ मिनेट ढिलो १ः४५ बजे सुरु भयो । सङ्घीय संसद् बानेश्वर स्रोतका अनुसार शासक दलहरूबिच आकस्मिक समय, शून्य समय र विशेष समयमा सांसदहरूलाई बोल्न नदिने सहमति गर्न सो विलम्ब गरिएको थियो ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसको नेपाल भ्रमण सुरु भइसकेको हुँदा प्यालेस्टिनी–इजरायल लडाइँबारे संसद्मा आवाज उठाउन नदिने पक्षमा शासक दलहरू थिए । यसकारण संसद्मा बोल्ने कार्यक्रम राखिएन ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बैङ्क तथा वित्तीय संस्थाको विधेयक र भन्सार विधेयकमा विरोधको सूचना प्रस्तुत गर्दै नेपाली भूमि गुञ्जीमा भारतीय प्रम मोदी भारतीय सैनिक अधिकारीसहित भएको प्रवेशलाई विरोध गर्नुभयो भने आफ्नो भूमि फिर्ताको लागि लडिरहेका प्यालेस्टिनीहरूको सैनिक सङ्गठन हमासलाई ‘आतङ्ककारी’ भन्नु सरकार साम्राज्यवादको अमेरिकी पिछलग्गू बन्नु हो भन्नुभयो ।
“२० लाख प्यालेस्टिनीहरू अहिले पानी, खाना, बिजुली, औषधि नपाएर तड्पिरहेका छन् । यो यथार्थ सरकारले महासचिव गुटेर्रेससँग राख्नु जरुरी छ”, सांसद सुवालले जोड दिनुभयो ।
संसद् भवन बानेश्वरमा दिउँसो ३ बजे नेपालका पूर्व प्रमद्वय शेरबहादुर देउवा र केपी ओलीसँग छुट्टाछुट्टै महासचिव गुटेर्रेसको भेटवार्ता हुने कार्यक्रम थियो । “यसकारण, पनि संसद बैठक छिटो टुङ्ग्याइएको हो”, संसद्का एक अधिकारीले भने ।
देउवा र ओलीसँगको भेटवार्ता अघि महासचिव गुटेर्रेसलाई संसद् भवनको उपसभामुखको कोठामा बस्ने व्यवस्था मिलाइएको थियो ।
सत्तापक्षका नेता देउवा र प्रमुख विपक्षी दलका नेता ओलीको महासचिव गुटेर्रेससँगको भेटवार्तामा खुलेर कुराकानी नहुने हुँदा भेटघाटबाट कुनै उपलब्धि नहुने स्रोतहरूको दाबी छ ।
महासचिव गुटेर्रेसले कार्तिक १४ गते दिउँसो ४ बजे नेपालको संयुक्त सदनमा सम्बोधन गर्ने कार्यसूची राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *