भर्खरै :

घाना, तान्जानिया र अर्जेन्टिनाका प्रतिनिधिहरू भक्तपुर भ्रमणमा

घाना, तान्जानिया र अर्जेन्टिनाका प्रतिनिधिहरू भक्तपुर भ्रमणमा

भक्तपुर, १४ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग घाना, तान्जानिया र अर्जेन्टिनाका प्रतिनिधि टोलीले मङ्गलबार भेट ग¥यो ।
टोलीलाई स्वागत गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, पर्यटन प्रवद्र्धनलगायतका क्षेत्रमा गरिरहेको अभ्यासबारे अवगत गराउँदै नेपाली र अफ्रिकी जनता फरक फरक महादेशमा भए पनि साम्राज्यवाद र विस्तारवादविरोधी भावनामा समानता भएको बताउनुभयो ।
उहाँले अफ्रिकी स्वतन्त्रता सेनानी क्वामे एनक्रोमा घानाको मात्रै नभई अफ्रिकी महादेशकै नेता र साम्राज्यवाद तथा उपनिवेशवादविरोधी योद्धाको रूपमा नेपाली जनता परिचित छन् भन्नुभयो ।
सुन र हिराको देशको रूपमा परिचित घानाको प्राकृतिक स्रोत र साधन साम्राज्यवादीहरूको नियन्त्रणमा भएजस्तै नेपालको जलस्रोतलगायत प्राकृतिक स्रोत र साधन भारतीय विस्तारवादले कब्जामा पर्दै गएको उहाँले जानकारी दिनुभयो ।
साम्राज्यवादी मुलुकहरूले अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैýङ्क, विश्व बैङ्कजस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूलाई नवउदारवादी नीति अवलम्बन गरी साना र कमजोर देशहरू कब्जा गर्न हतियारको रूपमा प्रयोग गरिरहेको स्मरण गर्नुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका पुरातात्विक र सांस्कृतिक हिसाबले महत्वपूर्ण नगर भएको बताउँदै २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुनःनिर्माण कार्य विदेशीहरूको सहयोगविना जनस्तरबाट सम्पन्न गर्न सफल भएको बताउनुभयो ।
भक्तपुर किसानहरूको बाहुल्यता भएको नगर भएको बताउँदै भक्तपुर नपाले किसानहरूलाई लक्षित गरी तालिम सञ्चालन, उन्नत जातका बीउबिजन वितरण, मल वितरणलगायतका गतिविधिलाई निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो ।
नेमकिपाले नेपालमै रासायनिक मल कारखाना स्थापना गर्नुपर्नेमा जोड दिँदै आएको उहाँले बताउनुभयो ।
बाओबाबका प्रमुख थियोडोरा पिउस लिंगोले नेपाल र नेपालीहरूको अतिथि सत्कारबाट अत्यन्त प्रभावित भएको बताउँदै भक्तपुर नगरपालिकाले आत्मनिर्भरतालाई जोड दिँदै जनताको सेवा गर्ने कार्य संसारका अन्य सहरहरूको लागि समेत प्रेरणा दिने विचार व्यक्त गर्नुभयो ।
विदेशीहरूको सहयोगविना भूकम्पले क्षति पु¥याएका भक्तपुरका सम्पदाहरू भक्तपुरका जनताको सहयोगबाटै पुनःनिर्माण गरेको जानकारी पाउँदा हामी हर्षित छौँ, उहाँले भन्नुभयो ।
भेटमा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवाल, घाना, तान्जानिया र अर्जेन्टिनाका प्रतिनिधि, प्रमेश पोखरेलको पनि उपस्थिति थियो ।
भेटपश्चात् टोलीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेज र अस्पतालको स्थलगत निरीक्षण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *