समाजका विकृति र विसङ्गतिप्रति व्यङ्ग्य गरी गाईजात्रा मनाउनुपर्ने
- भाद्र ६, २०८३
ज्येष्ठ नागरिकहरू अनुभवका खानी हुन् । आफ्ना सन्तानलाई मात्र होइन समाजमा मार्गनिर्देश गर्ने अग्रजहरू हुन्† सामाजिक मूल्य र मान्यतालाई निरन्तरता दिने, कला र संस्कृतिको संरक्षण गर्ने समाजका ज्ञाता पनि हुन् । प्रत्यक्ष या अप्रत्यक्ष रूपमा देश, समाज र परिवारको प्रगति र समृद्धिमा आफ्नो श्रम, समय र अनुभव बाँड्ने, सचेत पार्ने काममा ज्येष्ठ नागरिकहरूको भूमिका महत्वपूर्ण रहेको हुन्छ । आफ्नो भाषा, संस्कृति, धर्म पहिरनको चिनारी दिने, नयाँ पुस्ताले चिनाउने काम ज्येष्ठ नागरिकबाटै हुन्छ । दुःख सुख बुझ्ने, दुःख सुखमा साथ दिने, घामपानीमा भिजेर, साना ठूला सामाजिक या जीवनका दुःख कष्ट खाएर जीवन अगाडि बढाउने उनीहरू भोगाइ र अनुभवका खानी हुन् । जिउँदो इतिहास बनेर नयाँ पुस्तालाई प्रेरणा दिने उनीहरू समाजका पथप्रदर्शक पनि हुन् । यसकारण, ज्येष्ठ नागरिकहरूको सम्मान गर्नुपर्छ, उनीहरूको श्रम, समय र अनुभव बाँड्नुपर्छ । यो नयाँ पुस्ताको दायित्व हो, दायित्व सम्झेर जिम्मेवारीबोध गर्नुपर्छ ।
ज्येष्ठ नागरिकहरूले समाजको संस्कार सिकाउँछन् । आज समाजमा रहेका रीतिथिति, संस्कार, संस्कृति, भाषा, लिपि, ज्येष्ठ नागरिकहरूकै कारण जीवन्त रहेको यथार्थ हो । सम्पत्ति जोगाउने र सम्पत्ति बढाउने काममा पनि उनीहरूको भूमिका हुन्छ । उनीहरूकै प्रयास र प्रेरणाबाट आजका नातिहरूले पढ्न पाएका हुन्† पढेर उच्च शिक्षा हासिल गरेका हुन् । यही कारण नयाँ पुस्ता देशको लागि आवश्यक जनशक्ति बनेको छ । के यो हाम्रो समाजको लागि खुसीको क्षण होइन ? यसकारण, हामीले ज्येष्ठ नागरिकको सम्मान र कदर गर्नुपर्छ, उनीहरूले गरेको प्रयासको स्मरण र प्रशंसा गर्नुपर्छ । यो नयाँ पुस्ताको जिम्मेदारी पनि हो ।
राज्यले ज्येष्ठ नागरिकहरूको सुनिश्चित जीवन बिताउने वातावरण तयार गर्नुपर्छ । राज्यले उनीहरूको खानपिन, निःशुल्क स्वास्थ्य सेवा गर्नुपर्छ । देशमा आवश्यकताअनुसार वृद्धाश्रम या आदर निकेतन खोल्नुपर्छ । बेलाबखत घुमफिर गराउने, मनोरञ्जन दिलाएर जीवनलाई सुखमय या सक्रिय बनाउने, समय अनुकूलको शिक्षा र सन्देश दिएर ज्ञानगुणमा पारङ्गत बनाइरहने काममा पनि राज्यले पाइला चाल्नुपर्छ । घरमा बस्दा, बाहिर आउँदा दुर्घटनाबाट बच्ने र बचाउने उपाय बताइरहनुपर्छ । कति ज्येष्ठ नागरिकहरू अशक्त हुन्छन्; कानले सुन्दैनन्; राम्ररी देख्न सक्दैनन्; कति अरूको सहाराविना बाँच्न मुश्किल हुन्छ । बेलाबखत हलुका शारीरिक कसरत गराउनुपर्ने, चिन्ताको बोझ नदिने, बेलाबखत हेरविचार, पालनपोषण गर्ने काममा हामीले निरन्तरता दिन सके उनीहरूमा निरासा हुनेछैन; उनीहरूमा आत्मबल बढ्नेछ, जीवनमा सधैँ सुखको अनुभूति भइरहनेछ । यसले गर्दा उनीहरू स्वस्थ हुनेछन् र उनीहरूको आयु लम्बिने छ ।
कति ज्येष्ठ नागरिकहरू देशभक्तिपूर्ण आन्दोलनमा जुटे । किसानहरूको मोहियानी हक जोगाउन अग्रज किसानहरू लागे । पञ्चायती व्यवस्था अन्त्य गर्न, मजदुर, किसान तथा सर्वसाधारण जनतालाई नागरिक भावना जगाउन, सचेत र सङ्गठित पार्न अग्रज या ज्येष्ठ नागरिकहरूको महत्वपूर्ण योगदान रहेको कुरा नयाँ पुस्ताले भुल्नु हुँदैन । नेपाली भूमि मिच्दा, देशमा भ्रष्टाचार हुँदा, नेपाल–भारत सीमामा भारतीय पक्षले बाँध तथा तटबन्ध बनाएर नेपाली भूमि डुबानमा पर्दा लड्ने, भिड्ने या सङ्घर्ष गरेर देश जोगाउने काममा अग्रजहरूले गरेको योगदान भुल्नु हुँदैन । यसरी अग्रजहरूको स्मरण गर्दै भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले सयौँ ज्येष्ठ नागरिकहरूको उपस्थितिमा देशको वस्तुस्थितिबारे जानकारी दिँदै पौष्टिक आहार वितरण गर्नु समय सान्दर्भिक छ । ज्येष्ठ नागरिकहरूकै सम्मान गर्न भक्तपुर साकोसले आदर निकेतन सञ्चालन गरिरहेको छ । यो राम्रो कार्य हो । अरू सहकारीले पनि यसको अनुकरण गर्नु आवश्यक छ ।
Leave a Reply