प्यालेस्टिनी जनता र यहुदी सर्वसाधारण – २
- मंसिर २०, २०८०
संयुक्त राज्य अमेरिकाको सहयोग र इसारामा इजरायलले प्यालेस्टाइन राज्य नै नामेट पार्ने ढङ्गले आक्रमण गरेर नरसंहार गरेपछि संसारका विभिन्न देशमा उक्त आक्रमणको विरोधमा विरोध प्रदर्शन तथा सभा चालु छ । हजारौँ र लाखौँ जनसहभागिता भएको ती प्रदर्शनहरू दर्जनौँ देशहरूमा भइरहेका छन् । युद्धविरामको अन्त्यको माग गर्दै अमेरिकाको वासिङ्टनमा लाखौँले प्रदर्शन गरे । प्यालेस्टाइन राज्य कायम गर्नुपर्छ, नरसंहार बन्द गर्नुपर्छ भन्ने गगनभेदी नाराका साथ सुरु भइरहेका प्रदर्शनहरूले इजरायलको निन्दा गरेका थिए भने प्यालेस्टिनी जनताको सङ्घर्षमा ऐक्यबद्धता जनाएका थिए । प्यालेस्टाइनमा हमला गर्न संयुक्त राज्य अमेरिकाले इजरायललाई हतियार सहयोग गर्नु र उत्साहित गर्नु संयुक्त राज्य अमेरिकाका दादागिरी हो । यसले थाहा हुन्छ, अमेरिका आक्रामक देश हो, आतङ्कवादी देश हो, शान्तिविरोधी देश हो । साम्राज्यवादी देश अमेरिका र विस्तारवादी देश भारतको अन्तरमा रहेर शासन गर्ने नेपालका वर्तमान शासकहरूले प्यालेस्टिनी जनतामाथि इजरायलबाट भएको हमलाबारे चुइँक्क बोलेका छैनन् । यसबाट थाहा हुन्छ, हाल सरकारमा रहेका दलहरू स्वाधीनता र सार्वभौम राज्यको पक्षमा छैनन्, प्यालेस्टिनी जनताको पक्षमा छैनन् । अर्थात्, वर्तमान शासकहरू साम्राज्यवादी देशकै पक्षमा छन् ।
पुँजीवादी शासक दलहरूको आत्मसमर्पणवादी नीतिको कारण अमेरिकी साम्राज्यवादको निर्देशनमा विगतमा संसद्को बैठकले अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौतालाई व्याख्यात्मक घोषणाको नाममा पारित गरेर ठुलो भूल गरेको थियो । नेपाल र नेपाली जनताको स्वतन्त्रता र सार्वभौमिकतामाथि आँच हुने थाहा हुँदाहुँदै शासक दलका प्रधानमन्त्री र मन्त्रीहरूले फरक–फरक समयमा अमेरिका गई हस्ताक्षर गरे । यसरी अमेरिकीसामु घुँडा टेक्ने सरकारले प्यालेस्टाइनको मुक्तिको निम्ति आवाज उठाउँछ पनि कसरी ! आफ्नै देशको संविधान, परम्परा, ऐन–कानुन र नैतिकताले नदिने काम गर्ने सत्तासीन दलका नेता, मन्त्री र सांसदहरू प्यालेस्टिनी जनताको रगतको खोलो बग्दा पनि प्यालेस्टिनी जनतालाई धूलोपिठो पार्दा पनि केही नबोल्ने सत्तासीन दलका नेताहरूले आफूलाई कसरी स्वाधीनताप्रेमी, प्रजातन्त्रवादी र कम्युनिस्ट भनी परिचय गराउलान् ?
कम्युनिस्टहरू अन्तर्राष्ट्रवादी हुन्छन् । संसारका शोषितपीडित तथा स्वाधीनताको निम्ति भएको आन्दोलनमा कम्युनिस्टहरूले साथ दिन्छन्, समर्थन गर्छन् र ऐक्यबद्धता जनाउँछन् । अरु देशको इसारा या आदेशमा असमान सन्धि सम्झौता गर्ने, स्वाधीन र सार्वभौम देशमा आक्रमण गर्ने काम सबै देशविरोधी, जनविरोधी र मानवताविरोधी हुन् । महाकाली सन्धि र बिप्पाजस्ता सम्झौतामा हस्ताक्षर गर्नेहरू जनताका आँखामा जसरी दोषी हुन्छन् त्यसरी नै अरु देशमा आक्रमण गरी जनता मारे पनि चुइँक्क नबोल्ने शासकहरू, दलहरू सच्चा देशभक्त र अन्तर्राष्ट्रवादी हुँदैनन् । शक्तिको आडभरोसामा स–साना देशमाथि आक्रमण गर्ने सरकारको विरोधमा अब आवाजमात्र बुलन्द गरेर पुग्दैन, ती आक्रमणकारी देशमा सबै देश मिलेर प्रतिकार गर्नुपर्छ । नत्र, ठुल्ठुला शक्तिशाली देशहरू स–साना मुलुकमा आक्रमण गरेर देशै निल्न पछि पर्दैनन् ।
अमेरिका संसारका सबै देशहरूको अभिभावक होइन । संसारका सबै देशहरू स्वाधीन र सार्वभौम छन् । सबै देश र देशका जनता सुरक्षित हुनुपर्छ । सुरक्षाको निम्ति लड्नु आफ्नो अधिकार हो । सुरक्षाको निम्ति लड्दा, सङ्घर्ष गर्दा अरु देशको सहयोगमा दबाउनु हस्तक्षेप नै हो । त्यस्तो हस्तक्षेपको विरोध गर्नैपर्छ । संसारका विभिन्न देशका सहरहरूमा भइरहेको जुलुस प्रदर्शन तथा सभा इजरायली आक्रमणको विरोधमा हो, प्यालेस्टिनी जनताको समर्थनमा हो । अतः आक्रमणकारी इजरायली देशको विरोध गर्ने देश र जुलुस प्रदर्शन संसारभरि फैलिँदै छ । यी जुलुसमा साम्राज्यवादी देश अमेरिका र इजरायलको निन्दा गरिएको छ । यसबाट अमेरिका र इजरायलको संसारमा बदनाम भइरहेको छ । साम्राज्यवादी देश र देशका शासकहरू उदाङ्गिँदै छन्, उदाङ्गिँदै जानेछ ।
Leave a Reply