भर्खरै :

भक्तपुर नगर हिन्दू र बौद्ध वास्तुकलाले समृद्ध नगर

भक्तपुर नगर हिन्दू र बौद्ध वास्तुकलाले समृद्ध नगर

भक्तपुर, ३० कार्तिक । बिहीबार भव्य कार्यक्रमबिच कठिन चीवर दान तथा शोभायात्रा सम्पन्न भयो । कार्यक्रममा थाइल्यान्डका कठिन दाता श्रद्धेय भिक्षु समतेच बरधीञाणमुनी (समछाय) सहित विभिन्न टोलीहरूबाट एक सत्न्दा बढी उपासक उपासिका तथा सामान्य थाइल्यान्डवासीहरू सहभागी थिए ।
प्रमुख अतिथि कठिन दाता श्रद्धेय भिक्षु समतेच बरधीञाणमुनी (समछाय) ले कठिन चीवर दान विधिबारे उपदेश दिनुभएको थियो । कार्यक्रममा ‘विनयमुख’ पुस्तक विमोचन गरिएको थियो । साथै रौतहटको चन्द्रपुर १ मा निर्माण हुने गुल्म राजा बुद्ध विहार फरेस्टको शिलान्यास पनि गरिएको थियो । कार्यक्रमस्थलमा बोधीवृक्ष वृक्षरोपण गरिएको थियो । कार्यक्रममा बरवैरीविनाश भगवानको हस्तान्तरण, नेपाल थाइ मैत्री भवनको उद्घाटन गरिएको थियो ।
नगर सुनिल प्रमुख प्रजापतिले कार्यक्रममा सहभागी सबैलाई स्वागत गर्दै भक्तपुर नगर हिन्दू र बौद्ध वास्तुकलाले समृद्ध नगर भएको र यहाँ सबै धर्म र संस्कृतिका मानिसहरू मिलेर बसेको बताउनुभयो ।
भनपाले सबै धर्म र संस्कृतिका सम्पदाहरूलाई राज्यको सम्पदाको रूपमा ग्रहण गरी संरक्षण र संवद्र्धन गरिरहेको चर्चा गर्दै उहाँले भक्तपुरका विभिन्न टोलहरूमा अवस्थित विहार र चैत्यहरूको पुनः निर्माण तथा मर्मत सम्भार गर्दै आएको स्पष्ट पार्नुभयो ।
बौद्ध दर्शन भौतिकवादी दर्शन भएको र त्यसले संसारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याएको उल्लेख गर्दै उहाँले हरेक कुरालाई भौतिकवादी दृष्टिले व्याख्या र विश्लेषण गर्नुपर्नेमा जोड दिनुभयो ।
समाजमा धनी र गरिबवर्ग भएकै कारण धेरै मानिसहरूले दुःख पाइरहेको उल्लेख गर्दै उहाँले सबैको दुःख अन्त्यका लागि वर्गविहीन समाजको खाँचो छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “गौतम बुद्धले परिकल्पना गर्नुभएको समाज पनि कसैलाई दुःखकष्ट नहुने समतामूलक समाज हो ।”
लोभ नगर्नु, पाप नगर्नु, चोरी नगर्नु, अपराध नगर्नु भन्नेजस्ता गौतम बुद्धले २६ सय वर्ष अगाडि दिनुभएको उपदेश आज पनि सान्दर्भिक र आवश्यक रहेको विचार प्रमुख प्रजापतिले व्यक्त गर्नुभयो ।
भनपाले सबै नगरवासीलाई शिक्षित र सचेत बनाउन शिशुस्याहारदेखि कलेजहरू सञ्चालन गरी सुलभ ढङ्गले शिक्षा प्रदान गर्ने प्रयास गरिरहेको बताउँदै उहाँले नागरिकहरूको स्वास्थ्य समस्या समाधानको लागि घरदैलो नर्सिङ सेवा, सहरी स्वास्थ्य क्लिनिक र सय शय्याको ख्वप अस्पताल सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
आयोजक मुनि विहार भक्तपुर व्यवस्थापन समितिका उपसचिव शिव बालाका अनुसार विदेशबाट विशिष्ट भिक्षुहरू सहभागी भई कठिन चीवर दान कार्यक्रम हुनु दुर्लभजस्तै हो ।
यसअघि चीवर शोभायात्रा गरिएको थियो । नगरको खौमा ध्वाका (प्रवेशद्वार) बाट नगर परिक्रमा गरी इनाचोस्थित रहेको मुनि विहारमा टोली पुगेको हो । मुनि विहार दायक सभा भक्तपुर नपा वडा नं ७ इनाचोको आयोजनामा सो कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, भनपा वडा नं ७ का वडा अध्यक्ष उकेश कवांलगायतका विशिष्ट व्यक्तिहरू पनि सहभागी हुनुहुन्थ्यो । कठिन चीवर दानले भिक्षु, भिक्षुणी, उपासक, उपासिकाहरूलाई एक ठाउँमा जम्मा हुने अवसर प्रदान गर्दछ । उपसम्पदा भिक्षुहरूले हरेक वर्ष तीन महिनाको वर्षाबास अधिष्ठान विनयपूर्वक सम्पन्न गरेको दिन सङ्घ पवरणा गरेदेखि एक महिनाको अवधिभित्र एउटा विहारमा एकपटक आयोजना गरिने विशेष चीवर दान उत्सवलाई कथिन चीवर दान उत्सव भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *