भर्खरै :

देशभित्रैका शरणार्थी मान्छे

देशभित्रैका शरणार्थी मान्छे

म प्यालेस्टिनमाथि इजरायली बर्बरतापूर्ण आक्रमण र साम्राज्यवादी अमेरिकाविरुद्ध भएको जुलुस हेर्दै थिएँ । बाटोको दुवैतिर थुप्रै मानिसहरू थिए । मेरो छेउमै एकजना मानिसले त्यस जुलुस गर्ने पार्टीको मानवतावादी विचारलाई तारिफ गर्दै भन्यो, “देशमा यतिका ठुला दलहरू र मानवतावादी सङ्घ तथा संस्थाहरू छन् । प्यालेस्टिनमा त्यतिका नरसंहार हुँदा पनि कसैले एक शब्द बोलेनन् । यस पार्टीले ठाउँ–ठाउँमा जुलुस र आमसभा गर्दै इजरायली आतङ्कवाद र अमेरिकी साम्राज्यवादको विरोध गर्दै छन् । देशको सच्चा कम्युनिस्ट पार्टी भनेको यही मात्र देखेँ मैले ।”
अर्को एकजना अधबैँसे मानिस बोल्दै थियो, “युट्युब हेर्दा त साँच्चै प्यालेस्टिनहरूलाई सखाप नै पार्ला जस्तो देखिन्छ । जताततै बम र रकेट प्रहार गर्दै घरहरू ध्वस्त पार्दै छन् । बिसौँ हजार मानिस मारिसकेका छन् । म बच्चा हुँदादेखि देखिरहेको तिनीहरूको लडाइँ अहिलेसम्म टुङ्गिएको छैन । आतङ्कवादविरुद्ध र स्वतन्त्रताको लागि ढुङ्गामुढा गर्दै लडिरहेका निःशस्त्र प्यालेस्टिनीहरूलाई अहिले झनै सखापै पार्ने हिसाबले नरसंहार गर्दै छन् । यो अपराध नै हो ।”
त्यहाँ सँगै बसेका मानिसले पनि आक्रोश पोख्दै भन्यो, “हो भने, सखापै पार्ने हिसाबले मान्छे मारिँदै छ । त्यति मात्र हो र ? ज्यान जोगाउन भागेर शरणार्थी सिबिरमा बसेका मानिसहरूलाई समेत सखाप पार्ने हिसाबले बम वर्षा गरिएको छ । यो कहाँसम्मको न्याय हो ? यो सब अमेरिकाको साथ पाएर गरेको अत्याचार हो । अमेरिकी साम्राज्यवाद यही चाहन्छन् ।”
फेरि अधबैँसे मानिसले भने, “प्यालेस्टिनीहरू अब देशबिनाका शरणार्थी हुने भइसकेका छन् । २३ लाखमा १९–२० लाख त शरणार्थी भएर गएको छ रे ! शरणार्थी भएर बस्नु भनेको कति दुःखदायी र पीडादायी छ भन्ने कुरो दुःख पाउने मान्छेहरूले मात्र थाहा हुन्छ ।”
त्यस मानिसको कुराले उसले पनि शरणार्थी भएर दुःख पीडा भोगेर आएको जस्तो लाग्यो मलाई । मैले सोधेँ, “दाइको घर कहाँ हो ? तपाईँले पनि शरणार्थी भएर दुःख पीडा भोगेर आएको जस्तो लाग्यो मलाई ।”
“भाइ, मेरो घर पश्चिम नेपाल हो । म आफ्नै देशको नागरिक भएर पनि माओवादी जनयुद्धताका शरणार्थीको जस्तो दुःख पीडा भोगेर आएको हुँ । त्यो दिन सम्झिँदा अहिले पनि मलाई ती राक्षसहरूको मुखै हेर्न मन लाग्दैन । तिनीहरू देश र जनताको मुक्तिको लागि लडेका होइनन् । तिनीहरूले देशको सम्पत्ति लुट्नको लागि युद्ध गरेको हो भन्ने कुरा अहिलेको तिनीहरूको राजनीतिक व्यवहारबाट पनि देखिन्छ । जनयुद्धमा तिनीहरूले मेरो छोरोलाई देशको मुक्तिको लागि प्रतिक्रियावादीहरूविरुद्ध लड्न भनेर लिएर गए । पछि “तपाईँको छोरा दुश्मनहरूसँग लड्दा लड्दै देशको लागि सहिद भए” भनेर खबर गरे । त्यस खबरले म मर्माहत भएँ । तिनीहरूले फेरि भएको एउटी बा¥ह वर्षे छोरीलाई पनि लिएर जाने हो कि ? भन्ने डरै डर र त्रासै त्रासले गाउँमा बस्न उचित नसम्झी रातारात गाउँ छोडेर भागेका हौँ देशभित्रैको शरणार्थी भएर । मैले गाउँ छोडेर आएपछि धेरै दुःख पीडा भोगेँ । त्यतिबेला बरोबर सराप्थे, “हे भगवान् ! तिनीहरूको पनि सत्यानास होस् भनेर ।” यताउति हेरेर अलि आक्रोश पोख्दै फेरि भन्यो, “अहिले तिनीहरूकै सरकार छ । खै त के गर्यो जनताको लागि ? गाँस, बास र रोजगारको व्यवस्था गर्छौँ भन्नेहरूले खै के गरे ? देश र जनताको लागि भनेर जनयुद्ध गरेर आएका कुलङ्गारहरूको चाला यही हो ? अहिले जनतालाई झन् खान लाउन गा¥हो भएको छ । देशमा भ्रष्टाचार र अनियमितता त्यत्तिकै बढेको छ ।” भन्दै जुलुसतिर आँखा दौडाए । उनले भने, “भाइ ¤ जुलुस त पर पुगिसकेको रहेछ । यादै भएन गफले ।” म देशभित्रैको शरणार्थी मान्छेको कुरा मनासिब लागेर उनी गएको हेरेर बसेँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *