विकास निर्माणलाई अघि बढाउँदा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने
- असार ७, २०८३
ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ आगामी दिनमा अझ सफलतातर्पm अगाडि बढ्ने विश्वाससहित शुभकामना व्यक्त गर्दछु । आजको दिनसम्म मेहनत गर्दै आउनुहुने सबै धन्यवादका पात्र हुनुहुन्छ । ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङलाई नजिकबाट हेरिरहँदा तथा सेवाका दुई दशक पूरा गरिरहँदा हर्षको अनुभव हुनु स्वाभाविक हो । यो भक्तपुरवासीका निम्ति मात्र होइन, देशवासीहरूकै निम्ति एउटा गर्व गर्नलायक विषय हो । आगामी दिनमा हाम्रा कलेजहरूले अझ सुखद खबरहरू तथा नयाँनयाँ उपलब्धिहरूका साथ जनताबिच प्रस्तुुत हुन सफलता प्राप्त होस्, हार्दिक शुभकामना छ ।
ख्वपको चर्चा गरिरहँदा एउटा कुरा स्मरण हुन्छ । वि.सं. २०४६ सालको ऐतिहासिक जनआन्दोलनपछि भक्तपुरले एउटा फरक तर साहसिक निर्णय ग¥यो । प्रजातन्त्र पुनस्र्थापनाको ५–६ वर्षपछि शिक्षाको क्षेत्रमा भक्तपुरले नयाँ बाटो लियो । देशका अन्य भाग या पालिकाहरूमा निजीकरणको नाउँमा शिक्षा र स्वास्थ्यलाई जनताको भावनाविपरीत व्यापारिक वस्तु बनाइयोे । त्यो धारको विपरीत धार हामीले पकड्यौँ अर्थात् यहाँका अग्रजहरूले फरक धारको नेतृत्व गर्नुभयो । यो अविस्मरणीय विषय हो ।
त्यो सोच र विचार अर्थात् उद्देश्यको भिन्नता अत्यन्त महत्वपूर्ण छ । त्यो बुझ्न आवश्यक छ । त्यो भिन्नताको विषयमा छलफललाई निरन्तर अगाडि बढाउन आवश्यक छ । यदि हाम्रा अग्रजहरूले पनि यो बाटो नसमातिकन निजीकरणको बाटो, उदारीकरणको बाटो या भनौँ नाफामुखी बाटो नै रोजेका भए, देशमा यी उदाहरणीय संस्थाहरूको जन्म हुने थिएन ! त्यतिखेर के हामीसँग देखाउन लायक या गर्व गर्नलायक केही बाँकी हुन्थ्यो होला त ? तर, हाम्रा अग्रजहरूले कठिन बाटो रोज्नुभयो र सामूहिक हितको उद्देश्य लिनुभयो । आज हामी यो स्थितिमा छौँ । यो कोणबाट पनि चिन्तन—मनन गर्न र सोचविचार पु¥याउन आवश्यक छ ।
हाम्रो देशका युवा, बुद्धिजीवीहरू तथा महत्वपूर्ण जनशक्ति विदेश पलायन भइरहेको डरलाग्दो चित्रबारे यहाँ चिन्ता व्यक्त हुँदै छ । देश म्यानपावर कम्पनीका दलालहरूले सञ्चालन गर्दा, देशको बागडोर सम्हाल्नेहरू विदेशी पुँजीका एजेन्टहरू पर्नाले अर्थात् सिंहदरबार तिनीहरूको कब्जामा जानाले आज हामी यो कुरूप चित्र देख्दै छौँ । म्यानपावर कम्पनीका दलालहरूको हालीमुहाली हुँदा मानिसहरू विदेश पलायन हुनु त्यो अस्वाभाविक नहोला ! अब त्यो किन भयो ? विदेशी पुँजीका दलालहरू र म्यानपावर कम्पनी अथवा भनौँ मानव बेचबिखन कम्पनीका दलालहरूले सिंहदरबार कब्जा गर्नेसम्मको स्थिति कसरी आयो ? जनता त्यसका निम्ति कति दोषी छन् ? यो वर्तमान व्यवस्था त्यसका निम्ति कति दोषी छ ? त्यसको विषयमा पनि हामी सबैले छलफल गर्न आवश्यक छ ।
हामीले खबरहरू पनि सुन्दै आइरहेका छौँ, विदेश गइरहेको देश भनेर ! यो एकाएक आएको स्थिति होइन भन्नेबारे हामीलाई थाहा छ । यसको विरोध गर्ने कि यसैलाई सहेर बस्ने ? कि केही नभएको झैँ हामीले स्वीकारेर बस्ने ? ७०–८० लाख जनशक्ति बाहिर राखेर देश बनाउने कल्पना गर्दा त्यो बाटो कतिसम्म कठिन होला ? कति लामो होला ? त्यस विषयमा अब समाजशास्त्री, राजनीतिशास्त्री र अर्थशास्त्रीहरूले विश्लेषण गरी नेपाली जनतालाई यथार्थ बताउनैपर्छ । हाम्रो नेपाली समाजको बाटो अब कुन हुनुपर्छ भन्ने विषयमा हामीले वास्तविकता बताउनैपर्छ । हामीले हिजो गोर्खा भर्तीको कुरा गथ्र्यौँ । त्यसको विरोध वा समर्थन आदि इत्यादिको कुरा गथ्र्यौँ । आज संसारका विभिन्न देशको सेनामा नेपाली युवाहरू भर्ती भएको र त्यहाँ ज्यान गुमाइरहेको, अङ्गभङ्ग भइरहेको खबर आइरहेका छन् । यो स्थिति ल्याउनमा यो देशका नीतिनिर्माताहरू, अहिलेसम्म शासनसत्तामा जानेहरू, यो देशका ब्युरोक्राट्सहरू त्यसका निम्ति कति जिम्मेवार छन् ? यो विषयमा पनि हामीले सोचविचार पु¥याउन आवश्यक छ । निश्चय पनि यो स्थिति हाम्रो निम्ति स्वीकार्य छैन । एकप्रकारले यो राष्ट्रिय लज्जाको विषय हो । युवाहरू विदेशी पल्टनमा जाने, अनि विदेशी पल्टनमा गएर ज्यान गुमाउने अनि यहाँ आँसुको खोला बग्ने ! कतिञ्जेल सहने ? कहिलेसम्म त्यसलाई निरन्तरता दिने ? यसको अन्त्य कहिले हुने ?
देशका नीतिनिर्माताहरू स्कूल, कलेज, विश्वविद्यालय, अस्पताल, स्वास्थ्यचौकी बनाऔँ भन्नेतिर होइनन्, भैँसेपाटीमा दरबार निर्माणतर्फ लाग्दै छन् । त्यसकारण, आज देश आर्थिक, सांस्कृतिक, सामाजिक तथा राजनीतिकरूपमा कमजोर अवस्थामा छ । देशको यो ठुलो दूर्भाग्य र विडम्बना हो । जुन देशमा स्वास्थ्यचौकी, शिशुस्याहार केन्द्र, बालोद्यान, पाठशालाहरू, कलेजहरूको निर्माण गर्नुको सट्टा शासकहरूका निम्ति आलिशान महलहरू, शासकहरूका निम्ति दरबारहरू बनाइन्छन्, त्यो देश कसरी समृद्ध हुन्छ ? हिजो राणाहरूले पनि त्यही गरेका थिए, के फरक भयो ? प्रजातन्त्र, गणतन्त्रका शासकहरू राणाहरूकै बाटोमा गइरहँदा टुलुटुलु हेरेर बस्ने कि त्यसको विरोध गर्ने ? अब सचेत नेपाली दाजुभाइहरूसमक्ष यो एउटा यक्ष प्रश्नको रूपमा खडा छ । यसरी शासकहरूका निम्ति सारा चिज बन्ने तर जाजरकोटका भूकम्पपीडितहरूले अहिले पुस महिनासम्म पाल एउटा पनि नपाउने ? यसरी भइरहुञ्जेल शासकहरूका निम्ति बन्ने, जाजरकोट रुकुमका भूकम्पपीडितहरूले पुससम्म पनि एउटा पाल नपाउने ¤ हजारौँ हजार भूकम्पपीडितहरूको बिजोग भइरहँदा समेत शासकहरू, सिंहदरबार, बालुवाटार र शीतलनिवास यसमा मूकदर्शक छन् । नदेखेझैँ गर्छन्† केही नभएभैmँ गर्छन् । अर्कै अर्कै काममा विदेश यात्रामा निस्कन्छन् । सर्वसाधारणमात्र विदेश होइन, मन्त्रीहरू फौजका फाज विदेश यात्रामा जाँदै छन् । स्वदेश उनलाई दुख्दैन । किन यस्तो भइरहेको छ ? किन यति विवेकहीन शासकहरू हामीले पाइरहेका छौँ ? त्यसका निम्ति हामी नेपाली, हामी मतदाता, हामी बुद्धिजीवीहरू कति जिम्मेवार छौँ ? हामीले सच्चाइको बाटो लिइरहेका छौँ कि छैनौँ ? त्यस विषयमा पनि अब हामीले सोचविचार पु¥याउन आवश्यक छ ।
नेपाली विदेश जाने, नेपालका ठुलाठालुहरूको सम्पत्ति विदेश जाने, नाफा जति विदेश नै जाने ! अनि, विदेशीहरू यहाँ आउने, विदेशी सेना यहाँ आउने एमसीसीको नाउँमा, एसपीपीको नाउँमा, अनेक नाउँमा ! नागरिकता विधेयकको नाउँमा विदेशी नागरिकहरू यहाँ आउने ! तर, भुटानी शरणार्थीको नाउँमा नेपाली नागरिकहरू विदेश पठाउने ! यो के हुँदै छ ? यो कस्तो प्रजातन्त्र ? यो कस्तो गणतन्त्र हो ? के गणतन्त्रमा यस्तै हुनुपर्ने हो ? यस विषयमा प्राध्यापक, बुद्धिजीवी, जानकारहरूले बोल्नैपर्छ । हामीले ढिला गरिसक्यौँ ! बहुदल पुनःस्थापनाको यो ३० वर्षको अवधिमा हामीले जुन देख्यौँ त्यो स्वाभाविक होइन । यसमा विदेशी प्रभाव, विदेशी पिछलग्गूपन तथा दासता अझ बौद्धिक दासता, सांस्कृतिक दासता यसको निम्ति जिम्मेवार छ । यसलाई हामीले चिर्न आवश्यक छ ।
हाम्रो देशमा त कुनै देशको बम प्रहार भइरहेको स्थिति होइन । बमबारी यहाँ भएकै छैन । तर, देश छोड्नेहरूको लर्काे निकै लामो छ । त्रिभुवन विश्वविद्यालयतिर नभई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जब युवाहरूको लर्को लामो हुन्छ तब देशको भविष्य कसरी उज्यालो हुन्छ ? सोचनीय छ । तर, त्यसको ठीकविपरीत उता प्यालेस्टिनको गाजापट्टीमा बमबारी भइरहेको छ । तर, त्यहाँका डाक्टरहरू आ—आफ्नो जिम्मेवारीमा अहोरात्र खटिरहेका छन् । ती स्वास्थ्यकर्मीहरू भन्दै छन्, “हामी हाम्रो धर्म छौड्दैनौँ । हाम्रो माटो छौड्दैनौँ । अन्तिम दमसम्म पनि यही माटोमा बसेर हाम्रा नागरिकहरूको जीवन जोगाउनका निम्ति सास रहेसम्म लड्छौँ, भिड्छौँ ।” त्यहाँ चिकित्सकहरू लडिरहेका छन् । लडाकुहरू लडिरहेका छन् । पत्रकारहरू भिडिरहेका छन् । लगभग ३१० जना डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीहरू इजरायली बम प्रहारबाट मारिए । तर, त्यहाँका चिकित्सकहरूले आफ्नो जिम्मेवारी छोडेर भागेनन् । लडाइँ जारी छ । त्यो परिस्थिति र हाम्रो परिस्थितिबिच तुलना गरेर हेरौँ ! हाम्रो प्रवृत्ति र त्यहाँको प्रवृत्तिबिच तुलना गरौँ ! त्यहाँ त्यो कसरी सम्भव भयो ? बमबारी हुँदा तिनीहरू लड्दै छन् तर त्यस्तो बिपत्को स्थिति नहुँदै हामी भाग्दै छौँ ! कहाँनिर हाम्रो कमजोरी, खराबी भयो ? कहाँनिर खोट भयो ? त्यस विषयमा हाम्रा विद्यालयमा, हाम्रो विश्वविद्यालयमा गहन छलफल चलाउन आवश्यक छ । हाम्रो चिन्तनको दरिद्रताको कारण पत्ता लगाउन आवश्यक छ । हरेक व्यक्तिले सोच्न आवश्यक छ ।
गाजापट्टीमा ९७ जना सञ्चारकर्मीहरूको हत्या भइसकेको छ । परिवारका सबै सदस्य गुमाइसकेकाहरू समेत पत्रकारिताको धर्मबाट विचलित नहुने बताउँदै छन् । त्यहाँका पत्रकारहरूले उच्च मनोबलका साथ आफ्नो कर्तव्य निर्वाह गर्दै छन् । त्यो स्थिति र यो स्थितिबिच तुलना गरेर हाम्रो अगाडिको बाटो तय गर्न आवश्यक छ । साथै आज ६८ दिन भयो गाजापट्टीमा भइरहेको हमला । आजकै दिन ६५९ दिन भयो युक्रेनमा अमेरिकाले ‘प्रोक्सी वार’ सुरु गरेको । युक्रेनमा त्यो लडाइँ अमेरिकाले नाटो देशहरूको साथ लिएर रुसविरुद्ध सुरु ग¥यो । मस्को कब्जा गर्ने र पेचिङसम्म पुग्ने त्यो छद्मयुद्धको वास्तविक उद्देश्य हो । वर्तमान विश्वमा यसरी दुईवटा ठूला युद्ध चल्दै छन् । यसको पनि तुलनात्मक अध्ययन गरी वास्तविकता बताउन आवश्यक छ । अमेरिका यो किन गर्दै छ ? किन गाजापट्टीमा आततायी हमला गर्दै छ ? किन इजरायललाई बोक्छ ? भर्खरै मात्र पनि १०५.६ मिलियन डलर बराबरको सैन्य सहयोग फेरि पनि अमेरिकाले इजरायललाई दियो । आजको खबर हो यो । अमेरिका किन यसरी मान्छे मार्न सहयोग गर्दै छ ? महाशक्ति कायम रहनकै निम्ति उसले सारा दुनियाँलाई तह लगाउन खोज्दै छ । एक ध्रुवीय विश्व कायम राख्न लाखौँ मानिसहरूको हत्या गर्ने, नरसंहार गर्ने, जातीय सफाया गर्ने अनि त्यसलाई संसारले सहेर बस्नुपर्ने ! यो कस्तो शान्ति ? यो कस्तो न्यायको परिभाषा ? विश्वमा उसको प्रभुत्व कायम गर्नका निम्ति संसारले त्राहित्राहिको जीवन बाँच्नुपर्ने ! यो कस्तो मानवअधिकार ? अमेरिकाको बाइडेन प्रशासनको यो कस्तो अपराध कर्म ? यी विषयमा पनि हामीले नयाँ पुस्तालाई बताउन आवश्यक छ, बुझाउन आवश्यक छ ।
आजसम्ममा २० हजारभन्दा बढी प्यालिस्टिनीहरूको हत्या भइसकेको छ । त्यसमध्येमा ८ हजारभन्दा बढी त बालबालिकाहरू हुन् । त्यसमध्येमा ६ हजार २ सय छोरीहरू, आमाहरू, दिदीबहिनीहरू हुन् । यो के हुँदै छ ? अस्पतालहरूमा बमबारी युद्धको नियमविपरीत छ । अन्तर्राष्ट्रिय कानुनको ठाडै उल्लङ्घन भइरहेको छ । अस्पताल, स्कूल, मानिसहरूको बस्ती र शरणार्थी शिविरमा बमबारी भइरहेको छ । फेरि पनि अमेरिका मानवअधिकारको कुरा गर्छ, फेरि पनि अमेरिका प्रजातन्त्रको कुरा गर्छ र प्रजातन्त्रको अन्तर्राष्ट्रिय सम्मेलन गर्न ऊ थाक्दैन । यो के हुँदै छ ? अमेरिकी प्रजातन्त्र उदाङ्गो भएको आज मानिसहरू अनुभव गर्दै छन् ।
भियतनाम युद्धपछि अमेरिकी युद्धको विरोध संसारभरि यतिखेर हुँदै छ । वासिङ्टन डीसी, क्यानडा, अस्ट्रेलिया, लन्डनमा लाखौँ लाखको जुलुस अहिले युद्धको विरुद्ध, मानवताको पक्षमा भइरहेको छ । प्यालेस्टिनीहरूलाई बाँच्न दिनुपर्छ, स्वतन्त्रता दिनुपर्छ र तिनीहरूको भूमि तिनीहरूले नै फिर्ता पाउनुपर्छ भन्ने आवाज युरोप, अफ्रिका, अरब, एसिया, सारा संसारमा उठ्दै छ । हाम्रो देशमा हामी पनि त्यस विषयमा बोल्दै छौँ, सङ्घर्षलाई अगाडि बढाउँदै छौँ । ५२ हजार प्यालेस्टिनीहरू ७८ दिनमा घाइते भइसकेका छन् । ६ हजार ७ सय जना पुरिएका या हराइरहेका छन् । ७५ वर्षको हिसाबकिताब त गर्नै बाँकी नै छ । १९४८ देखिको मानवीय तथा भौतिक क्षतिको हिसाब त गर्नै बाँकी नै छ । ७० प्रतिशतभन्दा पनि बढ्ता गाजाका घर ध्वस्त पारिएको छ । प्यालेस्टिनको गाजापट्टीका ३५ वटा अस्पतालहरूमध्ये अहिले जसोतसो ५—७ वटाले काम गर्दै छन् । त्यहाँका गर्भवती महिलाहरू, ज्येष्ठ नागरिकहरू, बिरामीहरू, घाइतेहरू उपचार नपाएर, औषधि नपाएर, कुनै पनि चीजबिज नपाएर मरिरहेका छन् । स्टार्भेसन अर्थात् भोकको कारण, खान नपाएर मान्छे मर्दै छन् । एक बोतल पानीको अभावमा प्यालेस्टिनीहरू लड्दै छन् । पानीसमेत खान नपाउँदाको पीडा हामी कल्पना पनि गर्न सक्दैनौँ । फ्याँकिएको बोतलको बाँकी अलिकति पानीको चुस्कीको भरमा प्यालिस्टिनीहरू प्यास मेटाउँदै छन् । तर, ती लडिरहेका छन् । यो वीरता र देशप्रेमको उत्कृष्ट उदाहरण हुनसक्छ ! पानीबिना, सामान्य हाइजिनबिना, खानेकुराबिना मान्छेहरूलाई राख्नु नै के अमेरिकाको बाइडेनको स्वतन्त्रता र प्रजातन्त्र हो ? यो प्रश्न अहिले सारा संसारमा उठ्दै छ । यस विषयमा हामीले पनि हाम्रो भूमिबाट सङ्घर्षलाई अगाडि बढाउँदै छौँ । प्यालिस्टिनीहरूको न्यायपूर्ण सङ्घर्षमा ऐक्यबद्धता जनाउँदै छौँ ।
यो २१ औँ शताब्दीमा हामी इन्जिनियरिङ कलेजहरू बनाएर नयाँ–नयाँ संरचना निर्माणको शिक्षादीक्षा दिँदै छौँ । नयाँनयाँ प्रविधिको विकासको परिकल्पना गर्छौं । सुन्दर बस्तीको आकृतिप्रकृति तयार गर्दछौँ । यहाँ त्यही प्रयत्न गर्दै हामी अगाडि बढ्दै छौँ । तर, टाढाको त्यो ठाउँको त्यो अशान्तिले, ध्वस्त भइरहेका भवनहरूले हामीलाई गिज्याउँदै छ । त्यहाँ भइरहेको नरसंहार, विध्वंशले हामी सबैलाई छुन्छ कि छुँदैन ? त्यहाँको असुरक्षा, अशान्ति हामी सबैलाई दुख्छ कि दुख्दैन ? आज प्यालेस्टिन जलेको नदेख्ने नेपाली शासक नेताहरूलाई के रोग लाग्यो ? के ती कायर हुन् या विदेशी दलाल ? अहिलेको सन्दर्भमा यी सवाल पनि त्यतिकै महत्वपूर्ण सवाल हुन् ।
यो ६५ दिनमा ४० हजारभन्दा बढी टन विस्फोटक पदार्थ गाजापट्टीमा खसालिसकेको अवस्था छ । अमेरिकाले दिएको विस्फोटक पदार्थ इजरायलले खसालेको हो । दोषी को हो ? इजरायलमात्र होइन, प्रमुख दोषी अमेरिका हो भनेर स्वयम् बाइडेनका स्टाफहरू भन्दै छन् । बाइडेनका कर्मचारीहरू आज विरोधमा उत्रेको खबर भर्खरै हामीले सुन्यौँ । उनीहरू आफैँ, ‘योर स्टारुस डिमान्ड सिजफायर’, भन्दै बाइडेनकै कार्यालय बाहिर प्रदर्शन गर्दै छन् । तिनीहरू प्लेकार्ड बोकेर सडक सङ्घर्षमा उत्रेको हामी दैख्दै छौँ । संसारको इतिहासमा अहिले जति ‘पिस’, ‘प्रोस्पेरिटी’ आदि इत्यादिको कुरा सायदै उठ्यो होला ! तर, ‘पिस’, ‘प्रोस्पेरिटी’ को कुरा गर्ने तर विध्वंश मच्चाउन नछोड्ने ! यसको दोषी को हो ? जवाफको खोजी हरेक सचेत नागरिकले गर्न आवश्यक छ ।
हाम्रा कक्षाकोठाहरूमा यी विषयमा छलफल नगरी अगाडि बढ्नु भनेको अधुरो शिक्षाभैmँ हुनेछ । हामी सबैको चाहना विश्व शान्ति हो तर त्यो सरल उपायबाट सम्भव रहेनछ ! बाटो सहज रहेनछ ! विशेषगरी अमेरिका नेतृत्वको महाशक्तिको गुटको कारण संसारभरि आतङ्क पैmलिँदै छ । ऊ ‘वार अगेन्स्ट टेररिज्म’ भन्छ, आफैँ ‘टेररिज्म’ पैmलाउँदै हिँड्छ । यी राष्ट्रिय–अन्तर्राष्ट्रिय विषयहरू, हाम्रो देशका समस्याहरू, सङ्कटहरू तथा अन्तर्राष्ट्रिय आर्थिक—राजनीतिक क्षेत्रमा आउँदै गरेका चुनौती, सङ्कटबारे पनि गहन छलफल गर्न आवश्यक छ । संसार अहिले आर्थिक सङ्कटको त्राहीत्राहीमा बसिरहँदा युद्धमाथि युद्ध थोपरेर भोलि के होला ? यस्तो सङ्कटको बाटोबाट मुक्ति कसरी पाउने ? कसरी सम्भव होला त्यो मुक्ति ? यी विषयहरूमा पनि हामीले सर्वसाधारण जनतालाई, नयाँ पुस्तालाई वास्तविकता बताउन आवश्यक छ । अन्त्यमा, हाम्रा यी दुईवटै कलेजले आगामी दिनमा अझ बढी सफलता हासिल गरून् भन्ने कामना गर्दै मेरो भनाइ टुङ्ग्याउँदछु ।
(नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले ख्वप इन्जिनियरिङ कलेजको २२ औँ र ख्वप कलेज अफ इन्जिनियरिङको १५ औँ वार्षिकोत्सव समारोहमा मङ्सिर २८ गते दिनुभएको मन्तव्य सामान्य सम्पादनसहित प्रस्तुत छ । केही तथ्याङ्क संशोधन गरी पछिल्लो तथ्याङ्क समावेश गरिएको छ ।)
Leave a Reply