भर्खरै :

कम्युनिस्ट पार्टीले सिद्धान्त र विचारअनुसार काम गर्नुपर्छ

कम्युनिस्ट पार्टीले सिद्धान्त र विचारअनुसार काम गर्नुपर्छ

काठमाडौँ, २ फागुन । हरेक कम्युनिस्ट पार्टी र पार्टीका नेता तथा कार्यकर्ताहरूको काम, बोली र व्यवहार बहुसङ्ख्यक जनताको पक्षमा छन् कि छैनन् भनी हेर्नुपर्छ, बुझ्नुपर्छ । बहुमत जनताको पक्ष लिने कम्युनिस्टहरू सबभन्दा बढी दूरदर्शी र जिम्मेवार हुनुपर्छ । देशको मुहार फेरेर बहुमत जनताको सेवा गर्न कम्युनिस्ट पार्टी र पार्टीका नेताहरूले सही दिशा र सही नीति अँगाल्नुपर्छ र जनतालाई सचेत र सङ्गठित गर्नुपर्छ । कम्युनिस्टहरू सच्चा माक्र्सवादी र लेनिनवादी हुनुपर्छ । खु्रश्चेभजस्तो माक्र्सवाद र लेनिनवादको पोशाक लगाएर संशोधनवादी र अवसरवादी बन्नु हुँदैन । ख्रुश्चेभजस्तो देशका मुट्ठीभर व्यक्ति, साम्राज्यवाद, विस्तारवाद र प्रतिक्रियावादको सेवक बन्नु हुँदैन । कम्युनिस्ट पार्टीको बखान गरेर नेपालमा पनि ख्रुश्चेभजस्ता धेरै अवसरवादी र संशोधनवादी कम्युनिस्ट नेताहरू देखापरे । यो नेपालको कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनको निम्ति बाधक हो । यसले कम्युनिस्ट पार्टी र आन्दोलनको खुट्टा तान्ने काम गर्छ ।
व्यापक मजदुर, किसान जनतासित एकाकार नगर्ने, जनतामाझ नभिज्ने, कम्युनिस्टको सिद्धान्त र विचार जनतामाझ नपु¥याउने कुनै पनि नेता, कार्यकर्ता क्रान्तिकारी हुँदैन । एकाकार गर्दैन; जनतामाझ भिज्दैन भने ऊ नक्कली क्रान्तिकारी हुन्छ । के यस्तो काम आफूलाई कम्युनिस्ट भनिने ठुला दलका नेता तथा कार्यकर्ताहरूले गरिरहेका छन् । गर्नुपर्ने काम नगरी केबल पद र पैसाको निम्ति राजनीति गरेर या स्थानीय र केन्द्रीय सरकारको नेतृत्व गरेर के यहाँ परिवर्तनको अनुभूति हुन्छ ? हैकम जमाएर शक्तिको अभिमानी गरेर सरकारको नेतृत्वमा छ भन्दै धाक देखाएर जनताले राहत पाउने होइन । कम्युनिस्ट नेता तथा कार्यकर्ताहरू बीउ सम्झेर जनतालाई जमिन सम्झेर जरा फैलाउनुपर्छ र जनताको बिचमा फल्नुपर्छ, फुल्नुपर्छ ।
सिद्धान्त र विचार जनतालाई देखाउने दाँत होइन । सिद्धान्तलाई व्यवहारसित नजोड्ने हो भने त्यो निरूद्देश्य हुन्छ । हो, काम गर्दा कठिनाइ भोग्नुपर्ने हुन्छ, पार्टीद्वारा निर्धारित उद्देश्य या काम पूरा गर्न कुशलतापूर्वक अघि बढ्नुपर्छ या सङ्घर्ष गर्नुपर्छ । कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताहरूले सचेततापूर्वक र जिम्मेवारीपूर्वक काम गर्नुपर्छ । कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरू आवेगमा बग्नु हुँदैन । रिस उठ्यो भनेर जे पनि बोल्ने या भन्ने व्यक्तिले समाजको बाटो देखाउने काममा के बाधा हाल्दैन ? कति नेताहरू कहाँ के बोल्नुपर्छ भन्नेतर्फ मतलब राख्दैनन्† आलोचना र विरोधको फरक छुट्याउँदैनन् ।
आफूलाई कम्युनिस्ट भन्ने सत्तासीन कम्युनिस्टहरू शत्रु या पुँजीपतिवर्गको पक्षपोषण गर्छन् र सच्चा कम्युनिस्ट पार्टी फोड्ने, कार्यकर्ता तान्ने काम गर्न पछि पर्दैनन् । सच्चा कम्युनिस्ट पार्टीले अर्को कम्युनिस्ट पार्टी फोड्ने, ताने र शत्रुको पक्षपोषण गर्दैन । तर, नेपालका कम्युनिस्ट भन्ने सत्तासीन दलले यस्तो काम गरिरहेको छ । यस्तो कामले के कम्युनिस्ट पार्टी बलियो हुन्छ ? हरेक कम्युनिस्ट पार्टीले जित्नको निम्ति जे पनि गर्ने, भन्ने होइन कम्युनिस्टको सिद्धान्त र विचार गाउँ–ठाउँमा पु¥याएर सचेत र सङ्गठित गर्ने हो । देशमा कम्युनिस्ट पार्टीको प्रभाव राम्रो छ, कम्युनिस्ट पार्टीप्रति आस्था राख्ने बहुमत छन् भन्ने तर कम्युनिस्ट सिद्धान्त, विचार र आचरणअनुसार कुनै काम गर्दैन भने त्यसको के अर्थ रह्यो ? यसकारण, दलको सिद्धान्त र विचार नै मुख्य हो† सिद्धान्त र विचारअनुसार कम्युनिस्ट पार्टीले काम गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *