भर्खरै :

“नेपाल–चीनबिचको सम्बन्ध युगौँदेखिको पुरानो हो”

“नेपाल–चीनबिचको सम्बन्ध युगौँदेखिको पुरानो हो”

नेपालका लागि चिनियाँ राजदूत महामहिम छन सोङ, भक्तपुर नगरपालिकाका उपप्रमुखलगायत जनप्रतिनिधिहरू, पर्यटन बोर्डका प्रतिनिधिलगायत सम्पूर्ण सहभागी मित्रहरूलाई सांस्कृतिक नगर भक्तपुरको तर्फबाट हार्दिक स्वागत गर्दछौं ।
भक्तपुर नगरपालिका, चिनियाँ राजदूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा चिनियाँ नयाँ वर्ष २०२४ (ड्रागन वर्ष) को अवसरमा सांस्कृतिक प्रदर्शन गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ । यस अवसरमा चिनियाँ कम्युनिस्ट पार्टीका नेता सि चिनफिङ र सम्पूर्ण चिनियाँ जनतामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ ।
नेपाल–चीनबिचको मित्रता र सांस्कृतिक सम्बन्ध युगौँदेखिको पुरानो हो । ते¥हौँ शताब्दीमा नेपालका वास्तुकलाविद् अरनिकोले चीनमा श्वेत चैत्य निर्माण गर्नुभयो । जनगणतन्त्र चीनको राजधानी पेचिङमा अवस्थित श्वेत चैत्य नेपाल–चीनबिचको सयौँ वर्ष अघिदेखिको मित्रता र सांस्कृतिक सम्बन्धको बलियो प्रमाण हो । त्यो सम्बन्धलाई हामी अझ विकास र विस्तार गर्न चाहन्छौँ । आजको सांस्कृतिक प्रदर्शन त्यही सम्बन्ध विस्तारकै सिलसिला हो ।
चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा सरकारका उच्च पदाधिकारीहरूले नेपाल भ्रमणको सिलसिलामा भक्तपुरमा पनि गहिरो अभिरुचि लिएर भ्रमण गर्नुभयो । उहाँहरूलाई स्वागत गर्ने अवसर पाउँदा भक्तपुरका जनता खुसी छन् । यही वर्ष चीनको स—छुवान प्रान्तका पार्टी सचिव वाङ स्याओहुई, पोलिटब्युरो सदस्य तथा छोङछिङ नगरपालिकाका पार्टी समिति सचिव युआन चिया च्युन, सिन्चाङ (तिब्बत) स्वायत्त क्षेत्रका कम्युनिस्ट पार्टीका सचिव वाङ च्युङचङले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग भेटघाट गर्ने सिलसिलामा भक्तपुरको अवलोकन भ्रमण गर्नुभयो ।
त्यसैगरी चीनको सान्तोङ प्रान्तका छुआन थाइ नगरपालिकाका प्रतिनिधिमण्डल, चिङकाङशान नगरपालिकाका उपप्रमुख ह्वामिङ र हालै चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका उपमन्त्री सुन हेयानको नेतृत्वमा नेपाल भ्रमणमा आएको प्रतिनिधिमण्डललाई पनि हामीले भक्तपुरमा स्वागत गर्ने अवसर पायौँ । यस्ता भ्रमण र सांस्कृतिक टोलीहरूको आदानप्रदानले दुई देशबिचको सम्बन्ध थप बलियो हुँदै जाने हाम्रो विश्वास छ । यसै वर्ष भक्तपुर नगरपालिका र चीनको लसान नगरपालिकाबिच मैत्रीपूर्ण सहकार्य स्थापना गर्न सहमत भइ हस्ताक्षर सम्पन्न भएको छ ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ को कारण विश्व आक्रान्त भएको बेला चीन सरकारले त्यसको विरुद्ध खोप उत्पादन गरी नेपाली जनतालाई गरेको सहयोग अविस्मरणीय रहनेछ । भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालका लागि भगिनी सम्बन्ध रहेको चीनको स्वशासित क्षेत्र तिब्बतको शान–नान नगरपालिकाले स्वास्थ्य सामग्रीहरू सहयोग गरेको पनि यहाँ स्मरण गर्न चाहन्छौँ ।
चिनियाँ कम्युनिस्ट पार्टीको तर्फबाट नेपाल मजदुर किसान पार्टीलाई प्राप्त स्वास्थ्य सामाग्रीहरू पार्टी सचिव प्रेम सुवाल स्वयम् देशका विभिन्न अस्पतालहरूमा पुगेर वितरण गर्नुभएको थियो । सङ्कटको बेला सहयोग गरेर चिनियाँ कम्युनिस्ट पार्टी र सरकारले एक असल छिमेकीको उदाहरण प्रस्तुत गर्यो । त्यसप्रति भक्तपुर नगरपालिका र यहाँका जनताको तर्फबाट हार्दिक आभार प्रकट गर्छौं ।
भक्तपुर कला र संस्कृतिले भरिएको सांस्कृतिक नगर हो । मूर्त र अमूर्त सम्पदाहरू यहाँ जीवन्त देख्न सकिन्छ । १८ औँ शताब्दीसम्म स्वतन्त्र राज्यको रुपमा रहेको यो नगर १२ औँदेखि १५ औँ शताब्दीसम्म राजधानी नगर थियो । मल्लकालीन सम्पदाहरूको संरक्षण गर्दै हामीले भक्तपुरलाई सांस्कृतिक नगर र जीवित सङ्ग्रहालयको रुपमा विकास गर्ने कोसिस गर्दै छौँ ।
यो कार्यक्रमस्थल (दरबार क्षेत्र) नेपालका सातवटा विश्व सम्पदा सूचीमा सूचिकृतमध्ये एक हो । यस क्षेत्रमा अवस्थित विश्व प्रसिद्ध सम्पदाहरूको आधारमा सन् १९७९ मा युनेस्कोले विश्व सम्पदा सूचीमा सूचिकृत गरेको थियो । यहाँका सम्पदाहरूको अवलोकन गर्न बर्सेनि विश्वका विभिन्न देशबाट लाखौँ पर्यटकहरू आउने गर्छन् । भक्तपुर नगर प्रवेश गर्ने विदेशी नागरिकहरूबाट नगरपालिकाले केही सेवा शुल्क लिने गरेको छ । त्यही शुल्कबाट उठेको रकमबाट भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइ, विकास निर्माणलगायतमा खर्च गर्दै आएको छ ।
२०७२ सालको भूकम्पले यहाँका धेरै सम्पदाहरूमा क्षति पुग्यो । स्थानीय जनताको सहयोगमा धेरै सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार भइसकेको छ भने अझै केही सम्पदाहरू निर्माणाधीन छन् । मूर्त र अमूर्त सम्पदाहरूको संरक्षणको लागि नयाँ पुस्ता तयार गर्न नगरपालिकाले निरन्तर प्रशिक्षण दिइरहेको छ ।
अन्त्यमा, पुनःएक पटक चिनियाँ नयाँ वर्ष २०२४ (ड्रागन वर्ष) को अवसरमा चिनियाँ कम्युनिस्ट पार्टीका नेता सि चिनफिङ र सम्पूर्ण चिनियाँ जनतामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ । यस सांस्कृतिक प्रदर्शनको अवसर प्रदान गर्ने चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्डलाई धन्यवाद दिन चाहन्छौँ । सांस्कृतिक प्रदर्शन गर्नुहुने युनान विश्वविद्यालय, सनचन छीलीन नृत्य समूहका कलाकारहरू, भक्तपुरका सांस्कृतिक समूहका कलाकारहरूलगायत सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दछौं । धन्यवाद !
(२०८० फागुन २ गते चिनियाँ नयाँ वर्ष २०२४ को अवसरमा भक्तपुरमा विशेष सांस्कृतिक प्रदर्शनमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले व्यक्त गर्नुभएको मन्तव्यको सार सङ्क्षेप)

Leave a Reply

Your email address will not be published. Required fields are marked *