बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
भक्तपुर, २९ असार । नेपाल क्रान्तिकारी किसान सङ्घले भ्रष्टाचारविरुद्धको आन्दोलनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको छ । २०२५ र २०२६ सालमा भक्तपुरमा उठेको आन्दोलनको स्मरणमा नेक्राकिसङ्घ, भक्तपुर नगर समितिले आयोजना गरेको कार्यक्रममा वक्ताहरूले भ्रष्टाचारविरुद्धको आन्दोलन जारी राख्नुपर्ने धारणा राखेका हुन् ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले भ्रष्टाचार कहाँ छ भन्दा पनि कहाँ छैन भनी सोध्नुपर्ने परिस्थिति भएको उल्लेख गर्दै अदालत, प्रहरी, प्रशासनदेखि मन्त्रीहरू भ्रष्टाचारमा फसेका घटना सार्वजनिक भएको बताउनुभयो ।
उहाँले रासायनिक मलमा भ्रष्टाचार तथा कमिसनको खेल भएको कारण समयमा मल उपलब्ध नभएको भन्दै रासायनिक मलको प्रयोग क्रमशः घटाएर लगेर जैविक मलको प्रयोग बढाउँदै लानुपर्ने धारणा राख्नुभयो । उहाँले क्युवाले गड्यौँला मलको प्रयोग गरेर विश्वमै उदाहरण प्रस्तुत गरेको भन्दै आजसम्मका सरकारहरूले देशलाई पराधीन बनाएको बताउनुभयो ।
किसानसँग जोडिएका उद्योग कलकारखाना बन्द गराएर भारतीय एकाधिकार पुँजीलाई बढावा दिइएको भन्दै केन्द्रीय सदस्य गोसाईले समाजवादी देशहरूले नेपाललाई आत्मनिर्भर बनाउने उद्योगहरू स्थापना गरिदिएको तर नेका, एमाले र माओवादी पार्टीहरूले सबै उद्योग बन्द गराएको विचार राख्नुभयो ।
नेक्राकिसङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले भ्रष्टाचारको काण्डमा जनताको कारबाहीमा परेकाहरूलाई पञ्चायती निरङ्कुश व्यवस्थाले पुरस्कार स्वरूप उच्च पदमा आसीन गराएको बताउनुभयो । उहाँले भ्रष्टाचारविरोधी भावना कायम राख्नुपर्ने भन्दै नेमकिपाले पारदर्शिता तथा सुशासनमा उदाहरण प्रस्तुत गरेको भनाइ राख्नुभयो ।
आयोजक समितिका आर. प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपा, भक्तपुर नगर समितिका सदस्य जितेन्द्र मुनंकर्मी, कृष्णसागर बासी, ज्ञानकुमार मगजु, पूर्णगोपाल राजचललगायतले मन्तव्य राख्नुभएको थियो ।
Leave a Reply