भर्खरै :

‘अधिनायकवादको दिग्विजय यात्रा’ मा एक टिप्पणी

क्रिश्चिना
हरेक राज्यसत्ता सानो होस् वा ठूलो, शक्तिमा टिकेको हुन्छ । विधानपालिका, कार्यपालिका र न्यायपालिकाको संयुक्त शक्ति नै राज्यशक्ति हो । त्यो राज्य शक्ति वर्गीय हुन्छ, पूँजीवादी देशमा सामन्त र पूँजीपति वर्ग अर्थात् देशको उद्योग व्यवसायका कर्पोरेटहरूको हातमा राज्यशक्ति रहेको हुन्छ । उदाहरणको लागि– फ्रान्सेली राज्य क्रान्तिमा आएको उथलपुथलले त्यहाँको उद्योग व्यापार छताछुल्ल भएकै कारण त्यहाँको उद्योग वाणिज्य संघले नेपोलियन बोनापार्टलाई ल्याएर मजदुर वर्गलाई दमन गर्न दिएको थियो । त्यसबेला परिवर्तनवादी ज्याकोबिन्सहरूको ठाउँमा दक्षिणपन्थी (गिरोन्डीज) हरू ल्याएर तल्लो वर्गलाई दबाउन दिएको थियो ।
रुसमा १९१७ को फ्रेब्रुअरीमा करेन्सीको नेतृत्वमा पूँजीपति वर्गकोे सरकार बन्यो, तर त्यसले जनताका माग पूरा गर्नुको सट्टा पूँजीवादी अधिनायकवाद लागू ग¥यो । त्यसकारण कामदार वर्गको प्रतिनिधित्व गर्ने बोल्शेभिकहरू सत्तामा पुगे । त्यस क्रान्तिको विरोधमा सत्ताबाट फालिएका सामन्त र पूँजीपति वर्ग विदेशको पूँजीपति वर्गको सहयोगमा गृहयुद्धद्वारा क्रान्तिलाई पराजित गर्न खोजेका थिए तर असफल भए । चीनमा साम्राज्यवाद, उपनिवेशवादको विरोधमा संघर्ष हुँदा सामन्तवाद र विदेशी पूँजीको प्रतिनिधित्व गर्ने च्याङ काइ सेकले देशी र विदेशी शोषक वर्गमा अधिनायकवाद लागू ग¥यो । कामदार वर्गको नेतृत्वमा भएको चिनियाँ क्रान्तिले च्याङ काइ सेकको पूँजीवादी अधिनायकवादलाई पराजित ग¥यो । भारतमा २ सय वर्षसम्मको बेलायती साम्राज्यवादको विरोधमा स्वतन्त्रताप्रेमी, भारतीय जनता र राजनीतिक दलहरूले बेलायती उपनिवेशवादलाई पराजित ग¥यो ।  अर्थात् भारतमा बेलायती औपनिवेशिक अधिनायकवाद औपचारिक रुपले समाप्त भयो । १९४७ मा जवाहरलाल नेहरूको नेतृत्वमा ‘पूँजीवादी अधिनायकवाद’ सत्तामा पुग्यो । त्यसले हैदरावादको सामन्तवादको विरोधमा तेल·ानाका क्रान्तिकारी किसानहरुले शोषणबाट मुक्तिको बाटो लियो । तर त्यसलाई नेहरुको सामन्तवाद र पूँजीवादी अधिनायकवादले बहुमत जनताको आर्थिक स्वतन्त्रतामाथि दमनचक्र चलायो र नयाँ अधिनायकवाद चालु राख्यो ।
भारतमा पूँजीवादी अधिनायकवाद अगाडि बढ्यो, महानिर्वाचनहरूमा भारतीय कम्युनिष्ट पार्टी र क्रान्तिकारी जनताका पार्टी प्रमुख प्रतिपक्षमा देखा प¥यो । दमनचक्रले पूँजीवादी अधिनायकवाद कमजोर हुँदै गएको हुँदा कामदार वर्गको क्रान्तिकारी भावना र शक्तिलाई दबाउन समाजवादी देश चीनमाथि बेलायती उपनिवेशवादीले छरेको झगडाको बीउ म्याकमोहन लाइन (सर्भेयर) लाई आधार बनाएर चीनमाथि युद्ध थोपार्यो । युरोपमा पनि पूँजीवादी अधिनायकवादीहरुले त्यहाँका मजदुर आन्दोलन दबाउने, एकले अर्काे देशमाथि राष्ट्रियताको नारालाई अगाडि ल्याउँदै मजदुर वर्गको युद्धविरोधी भावनालाई आपत्काल लगाएर मजदुर आन्दोलन दबाउँथे । संसारको सबभन्दा ठूलो प्रजातान्त्रिक देश संरा अमेरिकामा आज पनि कम्युनिष्ट पार्टी खोल्न दिएको छैन । अन्य पूँजीवादी देशमा प्राप्त मौलिक र राजनीति अधिकार पनि अमेरिकामा प्राप्त छैन । यसको एक बुँदा त राष्ट्रपति ट्रम्पको जातिवादविरोधी र तेस्रो विश्व विरुद्धको भाषण र अभिव्यक्तिले प्रस्ट पार्दैछ । एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका सबै तानाशाहलाई संरा अमेरिकाले समर्थन गर्दै आइरहेको थियो । यसले थाहा हुन्छ संसारको सबभन्दा ठूलो अधिनायकवाद अमेरिकी साम्राज्यवाद हो ।
फुजिमोरी, पेनोचे, फ्राँन्को, इयान स्मिथ, सुहार्तो आदि अमेरिकी साम्राज्यवादकै पिछलग्गु हुन् । संरा अमेरिकी राष्ट्रपति मुनरोले क्यारिबियाली देशहरू र दक्षिण अमेरिकी देश वा ल्याटिन अमेरिकी देशहरू संरा अमेरिकाको आँगन हो, ‘अमेरिका अमेरिकीको लागि’ हो भनी युरोपेली उपनिवेशवादीलाई धपाए । १९६२ भित्र त्यही नीतिले सारा ल्याटिन अमेरिकीमाथि प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा ‘नियन्त्रण’ गरे । संरा अमेरिकाले अंगोला र अफ्रिकी देशहरूमा आफ्नो सेना पठाएर त्यहाँको खनिजमा आफनो नियन्त्रण जमायो । चीन, कोरिया, जापान, भियतनाम, लावस, कम्बोडिया, फिलिपाइन्स र इन्डोनेसियामाथि संरा अमेरिकाले प्रत्यक्ष÷अप्रत्यक्ष नियन्त्रण कायम राख्यो । अहिले आएर भारतको ‘विशाखापट्नम’ बन्दरगाहमा आफ्नो जलसेना उतार्यो ।
यी सबै उदाहरणले संरा अमेरिका एक अधिनायकवादी हो भन्ने प्रस्ट हुन्छ । संरा अमेरिकाले सारा संसारमाथि अधिनायकको रुपमा हैकम चलाइ आएको हो तर विस्तारै बेलायती साम्राज्यवाद जस्तै ऊ पनि पछि हट्दै जाने अवस्था उसले देख्दैछ । तर संरा अमेरिकाले आफ्नो अधिनायकवादी चरित्र त्याग्नेछैन । अन्तिम दिनसम्म उसले र अधिनायकवाद आक्रमण चालु राख्नेछ । त्यसैले संसारका सबै प्रजातनत्रवादी राष्ट्र उसको विरोधमा संघर्षमा उत्रनेछ । यस अर्थमा २ माघ २०७४ को अन्नपूर्ण पोष्टमा केशवप्रसाद भट्टराईको ‘अधिनायकवादको दिग्विजय यात्रा’ शीर्षकको लेखमा प्रस्तुत उहाँको दृष्टिकोण ‘समयलाई उल्टो घुमाउने’ दृष्टिकोणको रुपमा देखा पर्छ जुन असम्भव छ । संसारको सबभन्दा ठूलो अधिनायकवाद कुनै अर्थमा प्रजातन्त्रवादी हुनसक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *