सन्दर्भ : सहकारी अध्यादेश २०८१ – सहकारी संस्था समाजवादी : बैङ्क तथा वित्तीय संस्था पुँजीवादी
- फाल्गुन २, २०८१
नेपाल संवत् मौलिक संवत् हो । नेपालमा यो संवत् ८८८ वर्षसम्म सरकारी संवत्को रूपमा चलेको थियो । म्हः पूजाको दिन नयाँ नेपाल संवत् सुरु हुन्छ । यो वर्ष नेपाल संवत् ११४५ सुरू हुन्छ । नेपालभाषा साहित्य तःमुंज्याले कार्तिक १६ गते शुक्रबार शुभकामना ¥याली गर्नेछ । ¥याली खौमामा पुगी सभामा परिणत हुनेछ । ¥यालीपछि आयोजित सभामा खौमामा रहेको मास्टर जगतसुन्दर मल्लको प्रतिमामा माल्यार्पण हुनेछ । यो नयाँ वर्षको अवसरमा सम्पूर्ण न्यायप्रेमी जनतामा देशको स्वाधीनता र सार्वभौमिकताको निम्ति लड्ने प्रेरणा मिलोस् । प्यालेस्टिनी जनता र प्यालेस्टिन देशको सुरक्षा गर्न आक्रमणकारी इजरायल र इजरायललाई साथ र सहयोग गर्ने साम्राज्यवादी देश अमेरिकाविरूद्ध संसारका न्यायप्रेमी जनताको आवाज एक स्वरमा बुलन्द भइरहोस् !
नयाँ वर्षको अवसरमा जनतामा नयाँ सन्देश प्रवाह गर्न सत्तासीन दलका नेता, मन्त्री र सांसदहरू कुनै पनि भ्रष्टाचार, अनियमिततामा नफसी देश र जनताप्रति जिम्मेवारीबोध भएर काम गर्नुपर्ने हुन्छ । देशको सन्तुलित विकासमा ध्यान दिनुपर्छ । पद, पैसा र भागबन्डाको राजनीति छोडेर सिद्धान्त र विचारको आधारमा राजनीति गर्नुपर्ने हुन्छ । पदअनुसारको जिम्मेवारी बहन गर्नुपर्छ । शक्ति राष्ट्रको उठबसमा रहेर सरकार सञ्चालन गर्नु बुद्धिमानी होइन । हरेक अनियमितता र भ्रष्टाचारमा फसेका अपराधीहरू कारबाहीमा पर्नुपर्छ । हरेक राजनीतिक दलले आ–आफ्नो सिद्धान्त र विचारअनुसार काम गर्नुपर्छ, जनतालाई सिद्धान्तनिष्ठ बनाउनुपर्छ । सिद्धान्त र विचारप्रति जनता सचेत र सङ्गठित नभएसम्म सरकार अस्थिर भइरहनेछ । यसले विकासमा बाधा पर्छ । नेपाल संवत्को नयाँ वर्षले सत्तासीन र अन्य ठूला दलका नेताहरूमा सद्बुद्धि पलाओस् । विकास, सुशासन र राजनीतिक स्थिरता दिने विश्वास दिलाएका सत्तासीन दलका नेताहरू जनतामा राहत हुने कुनै काम गर्न नसकेर या देखाउन नसकेर लज्जित छन् । पुँजीवादी गणतन्त्र नै अन्तिम उद्देश्य ठान्ने नेका सम्मिलित एमालेको सरकारले पूरा कार्यकाल सञ्चालन गरे पनि कुनै मौलिक काम गर्ला भन्ने विश्वास नेपाली जनतालाई छैन ।
यो सरकारले भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने भनिएको ख्वप विश्वविद्यालयको सञ्चालन गर्न स्वीकृति गरेमा यो देशको निम्ति नयाँ र थप कुरा हुनेछ । देशका विभिन्न अस्पतालमा बीमाबापत बुझाउनुपर्ने रकम सरकारले उपलब्ध गराए अस्पताल र उपचारको निम्ति स्वास्थ्यलाभ गर्न आउने बिरामीहरूको निम्ति राहत हुनेछ । स्वदेशमै रासायनिक मल कारखाना खोल्ने निर्णय गरेर सोको लागि आवश्यक ठाउँको अध्ययन तथा अनुसन्धान गरी शीघ्रातिशीघ्र कारखाना सञ्चालन गरे किसानहरूको निम्ति ठुलो राहत हुनेछ ।
संविधानमा उल्लेख भएअनुसार माध्यमिक तह (१२ कक्षा) सम्म निःशुल्क शिक्षा लागु गर्न सके देशभरिका विद्यार्थी र अभिभावकको निम्ति ठुलो राहत हुनेछ । साक्षर देश बनाउन तथा अनिवार्य शिक्षा व्यवहारमा लागु गर्न सत्तासीन दलका नेताहरू कम्मरकसेर लाग्न सके देश र जनताको निम्ति राम्रो काम हुनेछ । नेपाली भूमि कालापानीमा रहेका भारतीय सेना नेपाली भूमिबाट फर्काउन सके, लिपुलेक र लिम्पियाधुराको भूमि नेपालले प्रयोग गर्ने वातावरण मिलाउन सके त्यो पनि सरकारको अर्काे महत्वपूर्ण काम हुनेछ । नयाँ वर्षको अवसरमा देश र जनताको हितमा नयाँ काम गर्न सरकार अघि बढोस् । देश बनाउने र जोगाउने काममा नेपाली जनताको योगदान रहोस् । विदेशी हस्तक्षेपको विरोध गर्ने मनोबल बढोस् । देशका सबै राजनीतिक दलले इमानदारीपूर्वक सिद्धान्त र विचारको राजनीति गरेर देश र जनताको हित हुने काम गर्न सकोस् !
देश र जनतामा समर्पित विचारप्रधान ‘मजदुर’ दैनिक तिहारमा पनि प्रकाशित हुन्छ । अतः पत्रिकामा आबद्ध लेखक, पत्रकार, समालोचक, पत्रिका वितरक, विज्ञापनदाता, आलोचक, कवि, कथाकार, पाठक, ग्राहक तथा प्रत्यक्ष र अप्रत्यक्षरूपमा साथ र सहयोग गर्ने महानुभावहरूमा ‘मजदुर’ दैनिक परिवार शुभकामना व्यक्त गर्दछौँ । यहाँहरूको सहयोग र साथ आगामी दिनमा पाइरहने हामीलाई विश्वास छ । यस अवसरमा सम्पूर्ण न्यायप्रेमी, देशभक्त जनताको सुख, शान्ति र समृद्धिको हामी कामना गर्दछौँ ।
Leave a Reply