भर्खरै :

क्याम्पसमा शान्त वातावरण कायम राख्नु सबैको ध्यान जान जरुरी

क्याम्पसमा शान्त वातावरण कायम राख्नु सबैको ध्यान जान जरुरी

भक्तपुर बहुमुखी क्याम्पस स्ववियुको आह्वानमा विद्यार्थीहरूले शुक्रबार ऐतिहासिक भाज्यापोखरीको दक्षिणपट्टि २० फिटको बाटो खोल्ने विषयमा भएको सहमतिको विरोध गर्दै क्याम्पस आसपासका क्षेत्रमा विरोध प्रदर्शन गरेको बताइएको छ ।
विद्यार्थीहरूले आफूहरूसित कुनै छलफलै नगरिकन सहमति गर्ने क्याम्पस प्रमुखलाई क्याम्पसमा निषेध लेखिएको व्यानर टाँग्नुका साथै मङ्सिर ५ गते दिउँसो क्याम्पस प्राङ्गणमा होमसमेत गरेका थिए । गत कार्तिक २८ गते भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, नगरपालिकाका प्रमुख सुनिल प्रजापति, त्रिभुवन विश्वविद्यालय रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजाल र भक्तपुर क्याम्पसका प्रमुख डा. कविता लुईटेलसहितको उपस्थितिमा भएको उक्त सहमति खारेज गर्नुपर्ने माग राख्दै विद्यार्थीहरूले प्रदर्शन गरिरहेका छन् । सम्पदा जगेर्ना गर्न क्याम्पसले विगतमा चर्चेको जग्गालाई बाटो खोल्न छोड्ने कार्यलाई अन्यथा बुझेर क्याम्पसको ५ रोपनी जग्गा बेचिएको भनी हल्लासमेत फिजाइँदै सत्यतथ्य नबुझी आन्दोलन गरी विद्यार्थीजस्तो सचेत र संवेदनशील वर्गसमेतलाई अनावश्यक भ्रममा राख्न खोज्नुले भोलिका दिनमा गलत नजिर स्थापित हुने त होइन भनी शुभचिन्तकहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । सम्बन्धित निकायका जिम्मेवार व्यक्तिहरूबिच सहमति भइसक्दा पनि क्याम्पसको पठनपाठनमा बाधा पुग्ने किसिमका गतिविधिहरू हुँदा भर्खरै उच्च शिक्षा अध्ययनका लागि क्याम्पस भर्ना भएका विद्यार्थी र तिनका अभिभावकले चिन्ता व्यक्त गरेको सुनिन्छ ।
भक्तपुर नगरपालिकाले क्याम्पसको गेट र पर्खाल निर्माणको लागि आवश्यक सामग्रीसमेत ओसार्न थालेको अवस्थामा उक्त कार्य थालनी नहुँदा क्याम्पस हाता अझै कति दिनसम्म असुरक्षित अवस्थामा रहने हो भन्ने सवाल पैदा भएको छ । अतः मिथ्या आरोप प्रत्यारोपमा नलागी क्याम्पसमा शान्त, सुरक्षित वातावरणमा पठन पाठन कार्य सुचारु राख्न सम्बन्धित सबै पक्षले संवाद, छलफल र वार्तालाई अगाडि बढाउन ध्यान दिन आवश्यक देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *