भर्खरै :

भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन

भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन

अभिभावकहरूले यदि आफ्ना, शिशु र छाराछोरीलाई माया गर्नुहुन्छ भने उनीहरूलाई धेरै नयाँनयाँ लुगा, नयाँ मोबाइल दिनुभन्दा उनीहरूको भोजन कति पौष्टिक छ भन्ने कुरामा बढी ध्यान दिनुपर्छ । साना शिशु र बालबालिकाको स्वास्थ्य राम्रो पार्न र उनीहरूलाई रोगसँग लड्ने शक्ति दिलाउन बाहिरका प्याकेटका खाना, सिसीमा राखेका महँगो खाना, उचाइ र बुद्धि बढाउने भनेर विज्ञापन गरिएका गलत खाना होइन, आफ्नो भान्छामा जे छ त्यसैलाई शिशुको रुचिअनुसार र उसले खानसक्ने गरी बनाएर दिनुपर्छ ।
अहिलेका बालबालिका आमाबुबाले माया गरेर बाहिरका खानेकुरा दिएको देख्दा दुःख लाग्छ । एउटा त यसले बच्चाको स्वास्थ्यमा नराम्रो असर पार्छ, अर्कोतिर बच्चाले जीवनभरको लागि घरको खानाभन्दा बाहिरको खाना उत्तम हुन्छ भन्ने सिक्छ । अनि युवावस्था नपुग्दै उच्च रक्तचाप, मधुमेहको शिकार हुन्छ । प्याकेटका खानेकुरालाई राम्रोसँग सुरक्षित राख्न बढी नुन र चिनी दुबै हालेको हुन्छ । बच्चाको सानो मृगौलामा त्यसले नराम्रो असर पर्छ ।
जब स्कूल जाने केटाकेटीको खाना बट्टामा बाबुआमाले नै खाजाको रूपमा चाउचाउ, बिस्कुट, कुरमुरे, दुनोट हालेको देख्छु मेरो मन कटक्क काट्छ । कतिलाई त भन्ने गर्छु, “तपाईँले बच्चालाई मन परेको भनेर यस्ता खाना दिनुहुन्छ । तर, यसले त बच्चालाइ मन्द विषको काम गर्छ । मिर्गौला, मुटु, आद्रा सबै विस्तारै खराब हुँदैँ जान्छ ।” यसोभन्दा कतिले ‘ए हो र ¤ हामीलाई थाहा थिएन’ भनेर बच्चाको हातबाट खोस्छन् पनि, कतिले पल्र्लक्क आँखा पल्ट्याउँदै भन्छन्, ‘तपाईँलाई के चासो, मेरो छोराछोरीलाई म जे मन लाग्छ दिन्छु ।’ कतिले “हो हामीलाई थाहा छ, तर के गर्नु बच्चाले रोएर, मान्दै मान्दैन, अनि दिक्क लागेर दिन्छु” भन्छन् । त्यस्ता बाबुआमालाई मेरो एउटै प्रश्न हुन्छ, “के तपाईँको बच्चाले रक्सी र चुरोट खान्छु भनेर लडीबुडी गरे दिनुहुन्छ ?” तुरुन्तै जवाफ आउँछ, “अहँ, दिन्न नि, त्यो त स्वास्थ्यको लागि खराब हुन्छ ।” भन्छन् अनि म भन्छु, “हो, त्यसरी नै यस्ता प्याकेटका खानाले तपाईँको बच्चालाई हानि गर्छ । भोलि स्वस्थ युवायुवती बन्नुको सट्टा उनीहरू रोगी बन्छन् ।”
गाउँ र सहरमा बालबालिका र शिशुको खानेकुरा भनेर महँगो बट्टा र प्याकेटमा बेचेको देख्दा प्रायः बाबुआमाले हो त नि त्यस्तै खाना बच्चालाई दिए बच्चा शारीरिक र मानसिकरूपमा स्वस्थ बन्छ भन्ने विचार राख्छन् । कतिले भन्छन्, “हाम्रो भान्छामा त शिशुलाई खुवाउनयोग्य वस्तु नै छैन ।” अनि कतिचोटि सञ्चारमाध्यमहरूमा बजारका प्याकेटका खानाको विज्ञापन आउँछ, “बच्चा एक वर्षको भएपछि घरको खानाले पुग्दैन । घरको खानामा प्रोटीन र भिटामिन हुँदैन । त्यसैले प्याकेटका खाना नै खुवाउनुपर्छ ।” विज्ञापनको प्रभावमा परेर यस्ता प्याकेटका खाना बच्चालाई दिनु हुँदैन । यस्ता खाना त गहुँ, चामल, मकैबाट नै बनाइएका हुन्छन्, जुन हाम्रो घरमा हुन्छन् नै । प्याकेटमा राखेपछि यसको मूल्य बीसौँै गुना बढ्न जान्छ । फेरि यस्ता प्याकेटमा राखेका अन्न कुहिएका वा म्याद नाघेका हुन्छन् कसलाई थाहा नै हुँदैन । त्यसैले शिशु र बालबालिकालाई आफ्नै भान्छाको खाना दिनुपर्छ ।
पास्नीपछि जब शिशुलाई अन्न दिन सुरु गरिन्छ, त्यसपछि थोरै थोरै चामलको पिठोको हलुवा खुवाउन सकिन्छ । शिशुलाई खान दिँदा उसलाई पहिले स्वाद लाग्दैन । सुरुसुरुमा थु थु गर्छ होला, तर विस्तारै धैर्यपूर्वक खुवाउनै जानुपर्छ । शिशुले खाएन भनेर धेरै चिनी हालेर खुवाउँदा एकछिन त शिशुले खान्छ तर चिनीले उसको स्वास्थ्यमा राम्रो प्रभाव पार्दैन । चामलको पिठो, गहुँको पिठो आदिबाट हलुवा, लिटो बनाएर शिशुलाई खुवाउन सुरु गर्न सकिन्छ । गहुँ र चामलका पिठो, सुजी त प्रत्येकको भान्छामा हुन्छ । एक चम्चाबाट खुवाउन सुरु गरेर विस्तारै बढाउन सकिन्छ । शिशुको पेट सानो हुन्छ, त्यसैले एकैपल्ट धेरै खुवाउनु हुँदैन भन्ने हेक्का त राख्नै पर्छ । आलुलाई उसिनेर लिटोजस्तो बनाएर शिशुलाई खान दिने चलन त पुरानै हो । आलु शिशु र बालबालिकाको लागि शक्ति र विभिन्न किसिमका भिटामिन दिने राम्रो भोजन हो । तर, आलुलाई बेस्सरी तेलमा तारेर वा फ्रच फ्राई जस्तो गरेर दिनु हुँदैन ।
शिशुलाई रक्तअल्पता नहोस् भनेर ध्यान पु¥याउनैपर्छ । भटमासको पिठो, बदामको पिठो अलिकता दूधमा पकाएर दिनाले शिशुको शरीरमा प्रोटिन पुग्छ । गाउँघरको चलनअनुसार फलामको भाँडामा पकाएको खानेकुराले शिशुलाई फाइदा गर्छ । विभिन्न प्रकारका दाल भुटेर, चामल र मकै पनि भुटेर त्यसको सर्वोत्तम पिठो बनाएर त्यो दूध वा पानीमा पकाएर हलुवा वा मोहनभोग जस्तो गरेर दिन सकिन्छ । शिशुलाई दिनभरिमा पाँच÷छ पटक खुवाउँदा शिशुको स्वास्थ्य राम्रो हुन्छ । खाना खुवाउँदा शिशुलाई गाली गरेर, तर्साएर, पिटेर जबरजस्ती कोच्याएर खुवाइयो भने त्यसले शिशुको शारीरिक र मानसिक दुवै स्वास्थ्यमा नराम्रो असर गर्दछ । कति जनाले शिशुलाई एक÷दुई चोटि खुवाउन कोशिश गर्दा नखाएपछि, “आ, फुर्सद छैन । पछि खाइहाल्छ” भनेर बेवास्ता गरिदिन्छन् । यसरी हरेक दिन शिशुले लामो समय भोको बस्यो भने उसलाई कुपोषण, रक्तअल्पता, विभिन्न खनिज पदार्थको कमी हुनसक्छ । शिशुलाई रक्तअल्पता भयो भने उसको रोगसँग लड्ने शक्ति पनि कम भएर जान्छ र बारम्बार रुखाखोकी लाग्ने, छातीमा सङ्क्रमण हुने हुन्छ । साथै, उनीहरूको नयाँ कुरा सिक्ने क्षमता पनि कमी हुन्छ ।
शिशुहरूलाई आफ्नो शरीरको जति तौल हो, त्यो अनुपातमा तीन–चार गुना बढी प्रोटिन जरुरत पर्छ । उदाहरणको लागि, आठ किलो तौल भएको शिशुको लागि २४–३२ ग्राम प्रोटिन चाहिन्छ । तर, यो कुनै औषधि वा क्याप्सुलको माध्यमबाट दिएर हुँदैन, भोजनबाटै नै दिइनुपर्छ । घरमा पाइने दलहन, गहुँ, कोदो, फापरको पिठो उचित तरिकाले पकाएर खान दिँदा शिशुले पोषण प्राप्त गर्छ । यी वस्तुमा भिटामिन, फोलिक एसिड, भिटामिन सी आदि पनि हुन्छन् अर्थात् शरीरलाई चाहिने पौस्टिक तत्व सहजै पाइन्छ ।
रक्तअल्पता नहोस् भनेर सफा गरिएको हरियो सागलाई फलामको भाडामा पकाएर त्यसलाई हातले मुछेर अलिकता कागती हालेर खुवाउँदा सागमा रहेको लौहत्व शरीरमा राम्रोसँग शोषण हुन्छ । अहिले प्रेसरकुकरमा साग वा दाल पकाउँदा सफा फलामको डल्नो हालेर पकाउने चलन पनि छ । अमेरिकाबाट निस्किएको ‘डाक्टर नभएमा’ भन्ने प्रसिद्ध किताबमा प्रेसरकुकर नहुने ठाउँमा एउटा गिलासमा सफा पानीमा फलामको टुक्रा राख्ने र आधा घण्टापछि फलामको टुक्रा झिकेर कागतीको रस राखेर कही बेर छोडिदिनु र केही समय पछि त्यसको पानी प्रयोग गर्दा पनि लौह तत्व शरीरमा प्राप्त हुन्छ भनेर लेखिएको छ ।
शिशुलाई दिने लिटो फलामको भाँडामा पकाउन सकियो भने पनि लौहतत्व प्राप्त हुन्छ । दूध शिशुको लागि राम्रो भोजन हो वा त्यसमा लौह तत्व हुँदैन । यदि दूधलाई फलामको भाँडामा उमालेर शिशुलाई खान दिइयो भने त्यसबाट पनि शिशुलाई लौहतत्व प्राप्त हुन्छ । शिशु एक वर्षको भएपछि अलिकता दाँत आउन थालेपछि जब केही टोक्न खोज्छ उसलाई सानो, टुक्रा गाजर टोक्न दिन सकिन्छ । शिशुलाई गाजर, फर्सी, लौका आदि उसिनेर, मुछेर गिलो बनाएर दिन सकिन्छ । यी सबै तरकारी विभिन्न खनिज तत्वले भरिपूर्ण हुन्छन् र यसको प्रयोगले गर्दा शरीरमा रेशादार पदार्थ पनि पुग्छ । रेशादार पदार्थले शिशु र बालबालिकालाई कब्जियतबाट बचाउँछ ।
कतिपय बाबुआमाले बच्चालाई बाहिरका भिटामिन, क्याल्सियम, प्रोटिन आदि औषधिको रूपमा खान दिनुपर्छ भन्ने विश्वास गर्छन् । अनि बच्चाका लागि भिटामिनका ठुलाठुला बोतल किनेर ल्याउँछन् र बच्चालाई राम्रो स्वास्थ्य दिएका छौँ भनेर खुसी हुन्छन् । तर, ५० वर्षअघि जब नेपालमा भिटामिनका सिसी पाइँदैनथ्यो, हाम्रा बाबुआमाले त हामीलाई राम्रो स्वास्थ्य हुर्काएका थिए । यो घरकै खानाबाट सम्भव भएको हो भन्ने कुरा बिर्सन हुँदैन ।
गाउँघरमा अहिले कतिपय आमाले चाउचाउ, बिस्कुट, कुरमुरे आदि अनेकथरीका भिटामिन पाइन्छ भनेर सुनेका हुन्छन् र उनीहरूले छ महिनाको शिशुलाई चाउचाउ पकाएर दिन्छन् । मेरो मन काटिन्छ । यस्तो देखेको बेलामा त अभिभावकलाई भन्छु प्याकेटको कुराले तपाईँको बच्चाको स्वास्थ्य सा¥है नराम्रो पार्छ, नदिनोस् । उनीहरू छक्क पर्छन्, कतिले त मैले झूटो बोलेको ठान्छन् । कुपोषित बालबालिकालाई अस्पतालमा लैजादा प्रायः स्वास्थ्यकर्मी र चिकित्सकले कुपोषणको ठीक पार्न गोली र भिटामिनका सिसीको भर पर्न हुन्न, भान्छाकै खानेकुरालाई राम्रोसँग बनाएर दिनुपर्छ भनेर त पक्कै भन्छन् तर अभिभावकले यसतर्फ ध्यान नै दिंदैनन् ।
सहरका अभिभावकहरूलाई सायद शिशुलाई भोजन भान्छामा बनाएर ख्वाउन फुर्सद हुँदैन, अनि बाहिरका प्याकेटका खानाको भर पर्छन् । जब बच्चा बिरामी पर्छन् तब डाक्टर र अस्पतालमा जाँदा जसरी भए पनि फुर्सद निकाल्छन् । बाबुआमा, बाजेबज्यै, दिदीदाजु सबैको जिम्मेवारी शिशु र बालबालिकाको भोजन र स्वास्थ्यको लागि उतिकै हुन्छ । शिशु र बालबालिकालाई तरल पदार्थ दिने नाममा विभिन्न थरीका बट्टाका फलफूलका रस दिने चलन पनि बढ्दो छ । तर, यस्ता जुसमा ८० प्रतिशतसम्म चिनीको मात्रा हुन्छ । यसले बच्चालाई एकछिन गुलियो स्वाद त दिन्छ तर कुनै पौष्टिकता दिँदैन, हानि नै पु¥याउँछ । यसरी फलफूलको रस बनाउने कारखानामा कुहिएका, सडेका फलफूल पनि प्याकेटमा राखेपछि केही थाहा हुन्न ।
बालबालिकालाई मौसमअनुसारको कुनै पनि फलफूल अमला, अम्बा, नासपती, आँप, लिची नै दिए स्वस्थ रहन मद्दत गर्छ । एउटा कुरा के विचार गर्नुपर्छ भने समत्न्दा अघि पाकेको आँप, लिची, तरबुजा आदि औषधि हालेर पकाइएका पनि हुन सक्छन् र यिनले बच्चालाई पेट दुख्न, झाडापखाला लाग्ने आदि समस्या हुन सक्छ ।
साना शिशुलाई त अभिभावकले आफूले चाहेअनुसार पौष्टिक तत्वले भरिपूर्ण भोजन दिन सक्छन् तर जब बच्चा स्कूल जान थाल्छ तब उसलाई घरको खानेकुराभन्दा बाहिरको प्याकेटको खानेकुरा खान मन लाग्ने हुन्छ । उनीहरू अरुको देखासिकी गरेर र विज्ञापनको प्रभावमा परेर प्याकेटको खानेकुरामा आकर्षित हुन्छन् । ‘टाइम्स अफ इन्डिया’ पत्रिकामा केही समयअघि प्रकाशित लेखमा प्याकेटमा राखेका खानेकुराहरूमा स्वाद बढाउन विभिन्न रसायनिक पदार्थ र चिल्लो पदार्थ राखिएको हुन्छ, जसले गर्दा खानेकुरा लामो समय बिग्रन दिँदैन र खानेकुरा सधैँ ताजा जस्तै त देखिन्छन् तर वास्तवमा यी हानिकारक नै हुन्छन् भनी उल्लेख गरिएको थियो । त्यसैले बालबालिकाले स्कूलमा खाना वा खाजा लैजाँदा प्याकेटको वस्तु लैजान दिनु हुँदैन । घरबाट लगेको खाजा फोहोरी होइन स्वास्थ्य राम्रो हो भन्ने बुझाउनुपर्छ । यसो गर्न सकिएमा आजका बालबालिका भोलिका स्वस्थ नागरिक हुन सक्छन् ।
(लेखक जनस्वास्थ्य तथा पोषणविद् हुनुहुन्छ) रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *