भर्खरै :

विश्वविद्यालय शिक्षा बलियो बनाउन विद्यालय शिक्षा राम्रो बनाउनु जरुरी

विश्वविद्यालय शिक्षा बलियो बनाउन विद्यालय शिक्षा राम्रो बनाउनु जरुरी

नुवाकोट, १५ मङ्सिर । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले शनिबार नुवाकोटको महेन्द्र माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीसँग भेटघाट गर्नुभयो ।
भेटघाट कार्यक्रममा सांसद सुवालले भन्नुभयो, “घर बलियो बनाउन जग बलियो बनाउनुपर्छ जस्तै विश्वविद्यालय शिक्षा बलियो बनाउन विद्यालय शिक्षा राम्रो बनाउनु जरूरी छ । नेपाल सरकारले विद्यालय शिक्षा बलियो बनाउने नीति–कार्यक्रम बनाएको छैन । यसकारण, नेपालको विश्वविद्यालय शिक्षा पनि बलियो छैन ।”
सरकारले युवा, विद्यार्थी र तिनका अभिभावकसमेत गरी एक करोड हाराहारीलाई वैदेशिक अध्ययन र रोजगारीमा पठाएको देशघाती कदम हो । सरकारले दाल, चामल, तरकारी, फलफूललगायत भारतसँग किनेर नेपालको कृषिभूमि मरूभूमि बनाउनु अर्को देशघात हो, सांसद सुवालले प्रस्ट्याउनुभयो ।
देशको सन्तुलित विकास नगरी सरकारहरूले सङ्घीय राजधानी काठमाडौँ र प्रदेश राजधानीहरूलाई ‘कङ्क्रिटको जङ्गल’ जस्तै बनाएको पनि देशघात भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “पहिले काठमाडौँ उपत्यकामा उत्पादित कृषि उत्पादन यहाँका बासिन्दालाई बढी हुन्थ्यो र बाहिर निकासी हुन्थ्यो ।”
भूगर्भशास्त्रीहरूले काठमाडौँ उपत्यकाको जमिन अन्यत्रबाट माटो ओसारेर थुपारिएको जस्तो कमजोर भएको र यहाँको माटोले कङ्क्रिटका घर, भवन, पुल, सडकलगायतका संरचना थेग्न नसक्ने बताएका छन् । तर, सरकारहरू नेपालको अग्राख काठ भारत तस्कर गर्न लगाई नेपालीलाई सिमेन्टको घर बनाउन दिनु पनि देशघात हो, उहाँले भन्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “सम्पूर्ण नेपाली जनताको घरमा अझै बिजुली पुगेको छैन । सरकारहरूले नेपालका नदीनालाबाट जलविद्युत् उत्पादन गर्ने जिम्मा भारतीय कम्पनीलाई दिँदै छन् । भारतको जीएमआर कम्पनीले माथिल्लो कर्णाली परियोजना १७ वर्षसम्म कब्जामा राख्यो । अहिले जीएमआरले भारतका दुई कम्पनी सतलज र इरेडालाई माथिल्लो कर्णाली परियोजनाको अंश बेच्यो । नेपालको नदीनाला भारतीय कम्पनीले कसरी बेच्न सक्छ ?”
उहाँले भन्नुभयो, “नालापानीको युद्धमा अङ्ग्रेजले नेपालीसँग मित लगाएर नेपाली सेनातर्फ जाने पानीको मुहान थुनेको थियो । पानीको मुहान नथुनिएको भए नेपालीकै जीत हुने थियो । सन् १८१६ मा सुगौली सन्धिको लागि गएका नेपाली प्रतिनिधिहरू चन्द्रशेखर उपाध्याय र गजराज मिश्रले आ–आफ्नो परिवारको लागि जग्गा जमिन लिएर नेपालको नक्सा सानो हुने गरी सहमति गरेका थिए । पृथ्वीनारायण शाहले भक्तपुरका राजा रणजीत मल्लका छोरा वीरनरसिंहसँग मित लगाएर सबैको यथार्थ बुझी आक्रमण गर्ने र मित्रघात गर्ने गरेका थिए ।”
“सुगौली सन्धिमा महाकालीपारि भारत पर्दछ । तर, महाकाली सन्धिमा महाकाली नदीको अधिकांश भाग भारतको साझा लेखियो । नेपाल मजदुर किसान पार्टीले महाकाली सन्धिको सडक र संसद्मा विरोध गरेको थियो । नेपाली भूमि कालापानीमा भारतीय सेनाले कब्जा गरी बसेको ७२ वर्ष भयो । कालापानी र लिम्पियाधुरासमेत नेपाली नक्सामा गाभियो तर, नेपाल सरकारको उपस्थिति त्यहाँ छैन, भारतकै कब्जामा छ”, उहाँले बताउनुभयो ।
भक्तपुर नगरपालिकाले मङ्सिर २८ गतेदेखि पाँच दिन भक्तपुर महोत्सव आयोजना गरेकोे जानकारी दिँदै उहाँले भन्नुभयो, “तत्कालीन अमेरिकी यात्री ईए पावेलले भक्तपुर हेर्न नपाए आधा विश्व हेर्न नपाएको जस्तै हुने बताएका थिए । महोत्सवमा भक्तपुर भ्रमण गर्न सबैलाई निमन्त्रणा छ ।”
कार्यक्रममा सचिव सुवालले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले लेख्नुभएका पुस्तकहरू ‘जनताको साहित्य र साहित्यकार’ र ‘मार्गनिर्देशनबारे भाइबहिनीलाई चिट्ठी’ शिक्षक र विद्यार्थीलाई प्रदान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *