रसुवा भोटेकोसी बाढी–पहिरोको क्षतिले नेपालमा विश्व तापक्रमको वृद्धिमा ध्यान दिलायो
- भाद्र २२, २०८३
(नेमकिपाका अध्यक्ष रोहितद्वारा लिखित ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन’ पुस्तकको पहिलो प्रकाशन वि.सं. २०३३ (१ सेप्टेम्बर, १९७६) मा भएको थियो । यो पुस्तक नेपाल मजदुर किसान पार्टीको स्थापनाका आधारभूत तत्वहरूमध्ये एक हो । यो सैद्धान्तिक सङ्घर्षको निचोड हो । नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारको खण्डन नगरी कम्युनिस्ट आन्दोलन अघि बढ्दैन । यो पुस्तक अहिले पनि समय सान्दर्भिक छ । नेमकिपा स्थापना हुनाका सैद्धान्तिक आधार र ठम्याइबारे पुस्तकमा उल्लेख भएकोले पार्टी स्थापना दिवसको अवसरमा यो छापिएको हो । – सं.)
आफूलाई ‘कम्युनिस्ट हौँ’ भन्ने हाम्रा केही साथीहरू अरुले अन्तर्राष्ट्रिय कुराकानी गरेकोमा घाँटी सुकाइ सुकाइ विरोध गर्छन् र भित्र भित्र बेलायती कैची काट्छन् । तिनीहरू आफ्नै देशको मात्रै कुरा गर्ने निहुँमा अन्तर्राष्ट्रिय गतिविधिबारे जनतालाई जानकारी नदिन ज्यानतोड कोसिस गर्छन् । तर, प्रश्न उठ्छ–आखिर तिनीहरू अन्तर्राष्ट्रिय कुराकानीबाट किन तर्सन्छन् ? यसका भित्री र बाहिरी कारणहरू के के हुन् ? त्यसबारे जाँचबुझ गर्नु सबै कम्युनिस्टहरूको कर्तव्य हो ।
‘अन्तर्राष्ट्रिय कुरा नगर्ने’ र गर्न नदिने तिनीहरूको उद्देश्यको अर्थ के हो ? भियतनामी, लावसी र कम्बोडियाली जनताको अमेरिकी साम्राज्यवादविरोधी सङ्घर्षको समर्थन नगर्नु हो र अमेरिकी साम्राज्यवादको आक्रामक नीतिको विरोध गर्न नदिनु हो । एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देश र जनताको स्वतन्त्रता र मुक्ति आन्दोलनको समर्थन गर्न नदिनु र साम्राज्यवादी र जातिवादीहरूको आक्रमण, थिचोमिचो र हस्तक्षेपको विरोध नगर्नु हो । जनवादी गणतन्त्र चीन, कोरिया र भियतनामका जनताको समाजवादी निर्माणको सङ्घर्ष र साम्राज्यवादविरोधी सङ्घर्षको समर्थन नगर्नु हो । रुसी सामाजिक–साम्राज्यवादले साना र कमजोर देशहरूमाथि गरेको अनेक प्रकारको थिचोमिचो र हस्तक्षेपको विरोध नगर्नु हो । सामाजिक–साम्राज्यवादको आशीर्वाद पाएर ‘बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, बर्मा, सिक्किम, भुटान, अफगानिस्तान, नेपाल आदि विभिन्न छिमेकी, साना र कमजोर देशहरूमाथि गरेको थिचोमिचोको विरोध नगर्नु र मौनरूपले समर्थनसमेत गर्नु हो ।
तिनीहरूले साम्राज्यवाद र प्रतिक्रियावादको विरोध नगर्नुमा केही रहस्य हुनैपर्छ । हुनसक्छ, तिनीहरूले साम्राज्यवाद र साम्राज्यवादी तत्वहरूको समर्थन पाउन चाहेको होस् वा तिनीहरूकै आशीर्वादमा देशको शासन सत्तामा हिस्सा पाउन चाहेको होस् ।
हुनसक्छ, हिन्दचीन र एसिया, अफ्रिका र ल्याटिन अमेरिकी जनताको साम्राज्यवाद र सामन्तवादविरोधी सशस्त्र सङ्घर्षलाई समर्थन गर्दा नेपाली जनता पनि सशस्त्र सङ्घर्षकै बाटोमा लाग्ने छन् भनेर तिनीहरू डराएका हुन् । तर, ती ‘कम्युनिस्ट नेताहरू’ र ‘आफ्नै देशको परिस्थितिअनुसार’ को निहुँ राखेर संसदीय र शान्तिपूर्ण सङ्घर्ष गरेर आफ्नो उद्देश्य प्राप्त गर्न खोज्छन् अथवा देशमा आफ्नो शक्ति देखाउन खोज्छन् । मित्र पार्टीहरूसँग मोलमोलाइ, घुर्की र धम्कीको निम्ति बाटो राखेको हुनसक्छ । तर, ती सबै मनको लड्डु हो र त्यसले झन् तिनीहरू ‘रङ्गीन स्याल’ साबित हुनेछन् ।
के त तिनीहरूको ‘अन्तर्राष्ट्रिय कुरा नगर्ने’ सिद्धान्त माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारासँग मेल खान्छ ? के त्यस विचारले प्रतिक्रियावादलाई सहयोग पुग्दैन ? आउनुस् यसबारे हामी माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारको आधारमा छलफल गरौँ ।
सन् १८४७ को नोभेम्बर महिनामा युरोपका विभिन्न देशका मजदुर प्रतिनिधिहरूले बेलायतको राजधानी लण्डनमा कम्युनिस्ट लीगको स्थापना गरेका थिए । कम्युनिस्ट लीग मजदुरवर्गको अन्तर्राष्ट्रिय सङ्गठन थियो । त्यस सङ्गठनको उद्देश्य थियो, “युरोप र अमेरिकाका सबै लडाकु मजदुरवर्गलाई एक ठुलो पल्टनमा उभ्याउनु ।”
धेरै वर्षपछि एङ्गेल्सले भन्नुभयो, “युरोप र अमेरिकाको मजदुर पहिलो पल्ट एक भएर एकै झन्डाको मुनि, तात्कालीन उद्देश्यको निम्ति, एक संयुक्त पल्टनजस्तै उभिएर आफ्नो शक्तिको हिसाब–किताब गर्दै छन् ।”
सन् १८४७ मा कम्युनिस्ट घोषणापत्रमै माक्र्स र एङ्गेल्सले भन्नुभएको थियो, “कामदारहरूको कुनै देश हुन्न ।” घोषणापत्रको अन्तमा लेखिएको छ, “संसारका मजदुरहरू एक होऊ !”
एङ्गेल्सले १८–२८ मार्च १८७५ मा अगष्ट बेबेललाई लेख्नुभएको पत्रमा भन्नुभएको छ, “मजदुर आन्दोलन एक अन्तर्राष्ट्रिय आन्दोलन हो ।” उहाँले अगाडि भन्नुभयो, “पार्टी मुखपत्रले जर्मनीका मजदुरहरूलाई विदेशका मजदुर आन्दोलनको जानकारी दिइरहने कुरामा ध्यान देऊ ।”
२८ सेप्टेम्बर १८६४ को दिन अन्तर्राष्ट्रिय मजदुर सङ्घको उद्घाटन भाषणमा माक्र्सले भन्नुभएको थियो कि राष्ट्रिय पूर्वाग्रहपूर्ण लुटपाटमा र जनताको रगत र धन सम्पत्तिलाई पानी जस्तै बगाउने अपराधपूर्ण उद्देश्यहरूबाट प्रेरित विदेशी नीतिको बेलामा मजदुरवर्गको मुक्तिको महान् उद्देश्य पूरा गर्न तिनीहरूको मैत्रीपूर्ण ‘एकता’ को आवश्यक छ ।
सन् १८७० मा पेरिस कम्युनको पक्षमा माक्र्सले आफ्नो सबै शक्ति लगाउनुभएको थियो किनभने पेरिस कम्युनको झन्डामा लेखिएको थियो, “कम्युनको झन्डा संसारको जनवादी झन्डा हो ।” “कम्युन एक अन्तर्राष्ट्रिय सरकार हो ।” त्यस्तै, रुसी क्रान्तिको सफलतामा पनि अन्तर्राष्ट्रिय मजदुर आन्दोलनको समर्थन र सहयोग थियो । बोल्शेभिकहरूको सफलताबारे लेनिनले भन्नुभयो, “युरोप र अमेरिकामा यस क्षेत्रमा अगाडि आएका जुनसुकै ‘नौला–नौला’ कुराहरूलाई रुसीहरूले आश्चर्यजनक परिश्रम र मन दिएर अध्ययन गरे ।……. उन्नाइसौँ शताब्दीको पछिल्लो भागमा क्रान्तिकारी रुससँग अन्तर्राष्ट्रिय सम्बन्धहरूको धेरै ठुलो सम्पत्ति भइसकेको थियो र उसँग क्रान्तिकारी आन्दोलनको संसारव्यापी विभिन्न रूपहरू र सिद्धान्तहरूको अनुभव जति अरु कुनै देशसँग उपलब्ध थिएन ।…. र अति नै उत्सुकता र सफलतापूर्वक उसले अमेरिका, युरोपको राजनैतिक अनुभवको उपयुक्त ‘नौला नौला कुराहरू’ लाई लिए ।”
रुसी जनताको लामो, कष्टपूर्ण र रगताम्य अनुभवले पनि देखाउँछ कि क्रान्तिको निम्ति अन्तर्राष्ट्रिय विषयमा र शक्तिहरूको पनि मूल्याङ्कन गर्नु अत्यावश्यक छ । यसबारे लेनिनले हामीलाई सिकाउनु हुन्छ, “क्रान्तिकारी कार्यनीति खालि क्रान्तिकारी भावनाको भरोसाबाट बनाइन्न । कार्यनीति निर्धारित गर्नको निम्ति पहिले राज्य विशेषको (त्यसका छिमेकी राज्यहरूको) सारा वर्ग शक्तिहरूको गम्भीर र एकदम वैज्ञानिक मूल्याङ्कन गर्नु आवश्यक छ । साथै क्रान्तिकारी आन्दोलनहरूको अनुभव पनि ध्यानमा राख्नु आवश्यक छ ।”
जारशाहीको अत्याचारी शासनले गर्दा रुसी क्रान्तिकारीहरू विभिन्न देशहरूमा जान र त्यहीबाट आफ्ना गतिविधि अगाडि बढाउन बाध्य भए । विदेशमा तिनीहरूले अनेक अप्ठ्यारा अनुभव र दुःखकष्टका थुप्रै तीता पिराहरूलाई आँखा चिम्लेर सहनुपर्यो र त्यस्ता अनगिन्ती कठिनाइहरूसँग पनि बहादुरीपूर्वक तिनीहरू जुझे । ती हन्डरहरूबाट, रुसी क्रान्तिकारीहरूले विदेशी आन्दोलनहरूबाट पनि धेरै धेरै अनुभव हासिल गरे । त्यस्तै, चीन, भियतनाम र कोरियाली पार्टीहरूले पनि विदेशी अनुभवहरूबाट फाइदा उठाए र आफ्नो देशको खास परिस्थितिसँग मिलाए । चिनियाँ कम्युनिस्ट पार्टीले आफ्ना अनुभवलाई यसरी व्यक्त गरेको छ,
“चिनियाँ क्रान्तिको जीत ठीक यस कारणले भएको थियो किनभने चिनियाँ कम्युनिस्ट पार्टीले अन्तर्राष्ट्रिय सर्वहारा सङ्घर्षको ऐतिहासिक अनुभवहरूबाट शिक्षा लियो, चिनियाँ क्रान्तिको खास परिस्थितिहरूलाई ध्यानमा राखेर सङ्घर्षका सबै तरिकाहरूमा कुशलता र दक्षता हासिल गर्यो ।”
दैनिक जीवनको क्रान्तिकारी सङ्घर्षजस्तै अन्तर्राष्ट्रिय सङ्घर्ष र कम्युनिस्ट पार्टीहरूको कर्तव्यबारे लेख अगाडि भन्छ, “पुँजीवादी देशका पार्टीहरूले एकाधिकार पुँजीको विरोध गर्ने, जनवादी अधिकारहरूको रक्षा गर्ने, रहनसहनको स्थितिमा सुधार गर्ने, साम्राज्यवादीहरूको फौजी थिचोमिचो र युद्धको तयारीहरूको विरोध गर्ने, विश्वशान्तिको रक्षा गर्ने र उत्पीडित राष्ट्रहरूको क्रान्तिकारी सङ्घर्षहरूलाई जोडदार समर्थन गर्ने सङ्घर्षहरूमा मजदुरवर्ग र मेहनतकस जनतालाई सक्रियतापूर्वक नेतृत्व गर्नुपर्छ ।”
लेख अगाडि भन्छ, “अमेरिकी साम्राज्यवादको डर, धम्की, नियन्त्रण, हस्तक्षेप र आक्रमणका शिकार भएका ती पुँजीवादी देशहरूका सर्वहारा पार्टीहरूले अमेरिकी साम्राज्यवादको विरोधमा राष्ट्रिय झन्डा उठाउनुपर्छ र जनसङ्घर्षको तारो खास गरेर अमेरिकी साम्राज्यवाद र आफ्नो देशको एकाधिकार पुँजी र राष्ट्रिय हितहरूप्रति गद्दारी गरिरहेका अरु प्रतिक्रियावादी शक्तिहरूलाई बनाउनुपर्छ । तिनीहरूले ती सबै शक्तिहरूसँग एकता कायम गर्नुपर्छ जोसँग एकता कायम गर्न सकिने छ र अमेरिकी साम्राज्यवाद र त्यसका पिछलग्गूहरूको विरोधमा एक संयुक्त मोर्चा कायम गर्नुपर्छ ।”
यो लेख प्रकाशन भएको १० वर्ष बितिसकेको छ । दस वर्षभित्रमा संसारमा ठुलठुला परिवर्तनहरू भइसकेका छन् । संरा अमेरिकी साम्राज्यवादजस्तै रुसी सामाजिक–साम्राज्यवाद पनि जनसङ्घर्षको तारो भइसकेको छ । अन्तर्राष्ट्रिय परिस्थिति र सङ्घर्षहरूबारे लेख अगाडि भन्छ, “बितेका केही वर्षहरूमा, धेरै नै पुँजीवादी देशहरूमा मजदुरवर्ग र मेहनतकस जनताले व्यापक जनसङ्घर्ष चलाएका छन्, तिनीहरूले खालि एकाधिकार पुँजी र ती देशका प्रतिक्रियावादी शक्तिहरूमाथि हानेनन्, बरु एसियाली, अफ्रिकी र ल्याटिन अमेरिकी जनताको क्रान्तिकारी सङ्घर्ष र समाजवादी शिविरका देशहरूलाई पनि जोडदार समर्थन गरेका छन् । हामीले यस योगदानलाई सधैँ पूरा प्रशंसा गरेका छौँ ।”
संसारका मजदुर आन्दोलन बढ्दै गएपछि साम्राज्यवादी र प्रतिक्रियावादीहरू राष्ट्रियताको नारा दिन थाल्छन् । कम्युनिस्ट आन्दोलनलाई देशमा ‘जरा नभएको’ र ‘विदेशीवाद’ भनेर पन्छाउन खोज्छन् । क्रान्तिकारी र समाजवादी विचारधारालाई रोक्न ‘विदेशको नक्कल नगर्नु’ र ‘आफ्नो देशको माटो र हावापानी सुहाउँदो व्यवस्था ल्याउनु’ भनेर खुब झ्याली पिट्छन् । माक्र्सवाद–लेनिनवाद र सर्वहारा अन्तर्राष्ट्रवादलाई निन्दा र विरोध गर्छन्, साम्राज्यवादी र प्रतिक्रियावादीहरूले अन्धर्राष्ट्रवादीका कुरा सम्भावित सङ्घर्ष र क्रान्तिको निर्णायक घडीमा गर्छन् ।
सन् १९४९ मा चिनियाँ जनताको क्रान्ति एउटा नयाँ मोडमा पुगिरहेको थियो । संरा अमेरिकाको तत्कालीन राष्ट्रपति ट्रयुम्यानको विदेश सचिव एचेनसनले माक्र्सवाद र लेनिनवादलाई ‘चीनमा जरा नै नभएको’ र ‘विदेशीवाद’ भनेर पन्छाउन खोजेको थियो । एचेनसनको भनाइलाई बडो व्यङ्ग्य गरेर माओ त्सेतुङले भन्नुभएको थियो, “…. यो ‘वाद’ र यो व्यवस्था एकदम खराब छ, किनभने यो वाद र व्यवस्थाले वर्गसङ्घर्षलाई मान्दछ, साम्राज्यवाद निर्मूल पार्ने कुराको समर्थन गर्दछ । यसकारण यसलाई हटाउनुपर्छ !”
बस, त्यस्तै राजा ‘महेन्द्र’ ले पनि ‘विदेशको नक्कल नगर्नु’ र ‘आफ्नै देशको हावापानी सुहाउँदो’ पञ्चायती व्यवस्थालाई समर्थन गर्नु भनेका थिए । हाम्रा केही ‘कम्युनिस्ट’ साथीहरूको ‘अन्तर्राष्ट्रिय कुरा नगर्नु’ भन्ने फलाको सर्वहारा अन्तर्राष्ट्रवादविरोधी वाक्यांशहरूको नयाँ संस्करण त होइन ?
संसारका सबै जनताले एक अर्काको अनुभवबाट सिक्छन् र त्यसलाई अझ विकास गर्छन् । यसरी संसारको सभ्यता र संस्कृति अगाडि बढ्छ । कम्युनिस्टहरूले विभिन्न देशका बितेका र वर्तमान मजदुर र किसान आन्दोलनहरूबाट सिक्छन् र आफ्नो देशको परिस्थितिमा त्यसलाई बडो बुद्धि पु¥याएर लागू गर्छन् । आजसम्मका सबै सफल क्रान्तिहरू, स्वतन्त्रता र मुक्ति सङ्घर्षहरूमा एक देशका जनताले अर्को देशका जनतालाई सहयोग र समर्थन गर्दै आएका छन् । रुसी अक्टोबर क्रान्तिभन्दा अघि र पछि संसारका मजदुरवर्गले त्यसलाई समर्थन गरेका थिए । रुसमाथि साम्राज्यवादीहरूको हमला र थिचोमिचो हुँदा संसारका सबै प्रगतिशील जनताको समर्थन र सहानुभूति रुसी जनताप्रति थियो । हिटलर–मुसोलिनी र तोजो अत्याचारी गुटले संसारका मानव जातिलाई आफ्नो पैतालामुनि कुल्चन खोज्दा समाजवादी रुसले फासिस्ट आक्रामकहरूको विरोधमा लड्ने देशका जनतालाई संसारका सबै कम्युनिस्टहरूले हाम्रा साथीहरूले जस्तै ‘अन्तर्राष्ट्रिय कुरा नगर्ने’ नीति लिइदिएको भए त्यसको परिणाम के हुने थियो ? हाम्रा साथीहरूले यस कुरालाई गम्भीरतापूर्वक सोचून् । अन्तर्राष्ट्रिय समर्थनको कुरो रुस र रुसी क्रान्तिमा मात्रै होइन, चीन र अरु देशको क्रान्तिहरूमा पनि लागु हुन्छ । चिनियाँ जनताले स्वतन्त्रता पाउनमा र क्रान्तिलाई विजयसम्म लैजान सक्नुमा अन्तर्राष्ट्रिय सर्वहारावर्गको महत्वपूर्ण सहयोग थियो । यस कुरालाई १९४० तिरै माओ त्सेतुङले भन्नुभएको थियो,
“संसारका सबै साम्राज्यवादी शक्तिहरू हाम्रो विरोधमा छन् । हामी चीनको स्वतन्त्रता चाहन्छौँ भने समाजवादी देश र अन्तर्राष्ट्रिय सर्वहारावर्गको मद्दतबिना हामीले त्यसलाई प्राप्त गर्न गा¥है पर्ला या सोभियत सङ्घको सहायताबिना तथा जापान, बेलायत, संरा अमेरिका, फ्रान्स, इटाली र अरु मुलुकहरूका सर्वहारावर्गको पुँजीवादविरोधी सङ्घर्षहरूको मद्दतबिना चीनले आफ्नो स्वतन्त्रता पाउन सक्ने छैन ।”
यसबारे माओ त्सेतुङ अगाडि भन्नुहुन्छ, “ती मुलुकहरूका सर्वहारावर्गको थप सहायता नभई हामीले विजय पाउन सक्ने छैनाँै । खास गरेर चीनको जापानविरोधी लडाइँको अन्तिम विजयको निम्ति सोभियत सङ्घको सहायता एकदमै नभई नहुने कुरा हो । कुरा प्रस्ट छ, सोभियत सहायता छैन भने हाम्रो क्रान्तिको विजय पनि छैन ।
तर, आज सोभियत सङ्घ सामाजिक–साम्राज्यवादमा फेरिसकेको छ । त्यसको आक्रमण र थिचोमिचोको विरोधमा लड्न पनि अन्तर्राष्ट्रिय सर्वहारावर्गको सहयोग र समर्थन आवश्यक छ । भियतनामी, लावसी र कम्बोडियाली जनताको साम्राज्यवादविरोधी सङ्घर्षको सफलताको एउटा मुख्य कारण चिनियाँ जनता र संसारका अरु सबै प्रगतिशील जनताको समर्थन र सहयोग हो । मोजाम्बिक, गिनी–बिसाउ र अँगोलाका जनताको स्वतन्त्रता र मुक्ति सङ्घर्षमा संसारका सबै न्यायप्रिय जनताले समर्थन र सहयोग दिँदै छन् । त्यसैले आज साम्राज्यवाद र सामन्तवादविरोधी हाम्रो सङ्घर्षमा हामीले अरु देशका स्वतन्त्रता र मुक्ति आन्दोलनका गतिविधि र सफलताका कारणहरूबारे रचनात्मकरूपले छलफल र अध्ययन गर्नैपर्छ । साम्राज्यवाद र सामन्तवादविरोधी जनताको समर्थन पाउन साम्राज्यवाद र सामन्तवादविरोधी सङ्घर्ष र आन्दोलनलाई समर्थन र सहयोग गर्नैपर्छ ।
सन् १८६३ मईमा जर्मनीका मजदुरहरूको महासङ्घ स्थापना गरियो । त्यसको नेतृत्व लासालले गरेका थिए । जर्मनीका मजदुरहरूको महासङ्घलाई उनले सर्वहारावर्गको अन्तर्राष्ट्रिय सङ्गठनहरूसँग सम्बन्ध राख्न अस्वीकार गरे । यसकारण, माक्र्स र एङ्गेल्सले उनको त्यस राष्ट्रवादी प्रवृत्तिलाई मजदुर आन्दोलनको जनवादी सिद्धान्तसँग मेल नभएको सिद्धान्त भनेर आलोचना गर्नुभयो ।
सन् १९१४ मा युरोपमा साम्राज्यवादीहरूले युद्ध सुरु गरे । त्यो युद्ध आ–आफ्नो देशको रक्षाको निम्ति होइन कि अरुको देशमाथि थिचोमिचो गर्न सुरु गरेका थिए । त्यसबेला ती देशका मजदुर पार्टीका नेताहरूले आ–आफ्नो सरकारको पक्ष लिए । त्यस युद्धले अरु देशका मजदुरवर्गमाथि हुने अन्याय–अत्याचार र दुःखकष्टबारे वास्तै गरेनन् । तिनीहरूले ‘विदेशको कुरा’ वा ‘विदेशी’ मजदुरहरूबारे सोचेनन् । छोटोमा तिनीहरू अन्तर्राष्ट्रिय या विदेशी वर्गभाइबारे कुरा गर्न चाहँदैनथे । अन्तर्राष्ट्रिय मजदुर सङ्घका नेताहरूले आ–आफ्नो देशको समर्थन गर्ने राष्ट्रवादी नीति लिए । वास्तवमा त्यो अन्धराष्ट्रवाद र सामाजिक–साम्राज्यवादी सिद्धान्त थियो । दोस्रो इन्टरनेसनलको त्यस सामाजिक–साम्राज्यवादी नीतिको विरोधमा लेनिन र बोल्शेभिक पार्टीले १९१४ नोभेम्बर महिनामा नयाँ नीति लिए । साम्राज्यवादी युद्धको विरोधमा नयाँ घोषणापत्र निकाले र तेस्रो इन्टरनेसनल बोलाउने निर्णय गरे । रुसका अरु राजनैतिक पार्टीहरूले पनि आफ्नो साम्राज्यवादी सरकारको युद्धनीतिको समर्थन गरे । तर, “बोल्शेभिक पार्टी मात्रै क्रान्तिकारी अन्तर्राष्ट्रियताको महान् उद्देश्यप्रति बफादार रह्यो ।” “साम्राज्यवादी युद्धलाई गृहयुद्धमा फेरिदेउ” र “साम्राज्यवादी युद्धमा आफ्नै सरकारलाई हराई देउ” भन्ने नीति लियो ।
यी सबै तथ्यहरूले आफूलाई ‘कम्युनिस्ट हो’ भन्ने हाम्रा केही साथीहरूको मथिंगलमा अलिकति भए पनि घाम लागेको हुनुपर्छ । आफूलाई ‘कम्युनिस्ट हौँ’ भन्ने तर ‘अन्तर्राष्ट्रिय कुरा नगर्ने’ साथीहरूले यस कुरालाई सम्झनुपर्छ कि ‘कम्युनिस्ट’ भन्ने शब्दसमेत विदेशी शब्द हो । अन्धराष्ट्रवाद र सर्वहारा अन्तर्राष्ट्रवादको बिचमा मेलको कुनै बिन्दु छैन । अन्धराष्ट्रवादी विचारको विरोधमा सबै सच्चा माक्र्सवादी–लेनिनवादीहरूले सैद्धान्तिक सङ्घर्ष गर्नैपर्छ र खोटो विचारलाई नङ्ग्याउनै पर्छ ।
अन्तर्राष्ट्रिय कुरा नगर्ने सिद्धान्त वास्तवमा क्रान्तिविरोधी र मजदुरविरोधी सिद्धान्त हो । यस अन्धर्राष्ट्रवादी सिद्धान्तबारे रोजा लक्जेम्बर्गले भन्नुभएको थियो, “संशोधनवादीहरूले संसारका मजदुरहरू एक होउ भन्ने गौरवपूर्ण नारालाई रणभूमिको यस नारामा फेरिदिए –‘संसारका मजदुरहरू, एकले अर्कोलाई मारिदेऊ ।’ ‘विदेशको कुरा नगर्ने’ नेपाली संशोधनवादीहरूको उद्देश्य पनि यही हो ।
आउनुस्, हामी कम्युनिस्ट घोषणापत्रलाई फेरि एकचोटि अध्ययन गरौँ र १८४७ मा माक्र्स र एङ्गेल्सले दिनुभएको शिक्षालाई दोहो¥याऔँ, ‘संसारका मजदुरहरू एक होऊ !’
संसारका सबै दलित पीडित जनताका महान् नेता अध्यक्ष माओ त्सेतुङ भन्नुहुन्छ, “संसारका सबै दलित–पीडित जनता एक होऊ !”
साभार : नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन
Leave a Reply