भर्खरै :

वृहस्पति एक्लै हुन्छ, ध्रुवतारा एउटै छ ! नक्कली कम्युनिस्टसँग नेमकिपाको एकता हुँदैन

वृहस्पति एक्लै हुन्छ, ध्रुवतारा एउटै छ ! नक्कली कम्युनिस्टसँग नेमकिपाको एकता हुँदैन

(खबरहब डट कमका ज्ञानु घिमिरेले २३ फागुन २०८१ नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग लिइएको अन्तर्वार्तालाई सम्पादनको साथ प्रस्तुत गरिएको छ ।– सं)
नेपालको राजनीतिमा नारायणमान बिजुक्छँे (रोहित) को बेग्लै पहिचान छ । गत स्थानीय चुनावअघि बालेन्द्र शाहले मिडियालाई दिएको एक अन्तर्वार्तामा भक्तपुर केन्द्रित बिजुक्छँे नेतृत्वको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) आफूलाई मन पर्ने बताएका थिए । नेमकिपाले नेतृत्व गर्दै आएको भक्तपुर नगरपालिकाको काम गराइको शाहले प्रशंसा गरेका थिए । बालेन्द्रले ०७९ को चुनावअघि भक्तपुर नगरपालिका र ललितपुर महानगरको अवस्था काठमाडौँको भन्दा राम्रो रहेको बताएका थिए ।
नेमकिपाप्रति बालेन्द्र शाहको उक्त सकारात्मक प्रतिक्रियाबाट के बुझ्न सकिन्छ भने नारायणमान बिजुेक्छँेप्रति कम्युनिस्टहरूको मात्र चासो छैन, नयाँ पुस्ताको पनि उत्तिकै चासो छ ।
प्रतिनिधिसभामा नेमकिपाका एक मात्र सांसद छन् – प्रेम सुवाल । भक्तपुरबाट प्रत्यक्ष निर्वाचित सुवाल संसद्मा एक्लो भए पनि राम्रैसँग देखिने र सुनिने सांसद हुन् ।
प्रतिनिधिसभामा जस्तै भक्तपुर नगरपालिकाको नेतृत्व पनि नेमकिपाकै हातमा छ । सभासद् सुनिल प्रजापति स्थानीय तहमा जनताको सेवा गर्न मेयर बनेका छन् । नेमकिपाको नेतृत्वमा भक्तपुर नगरपालिकाले सरसफाइ, नगरको सौन्दर्यीकरण, पर्यटन प्रवर्धन, मूर्त–अमूर्त दुवै सांस्कृतिक सम्पदाहरूको संरक्षण र सामाजिक सुरक्षाको क्षेत्रमा पनि उदाहरणीय काम गरेको चर्चा हुने गरेको छ ।
आखिर देशैभरि काङ्ग्रेस, एमाले र माओवादीको जगजगी हुँदा पनि भक्तपुर जिल्लामा भने किन नारायणमान बिजुक्छेँकै पार्टीले जनविश्वास आर्जन गरिरहेको छ ? भक्तपुरको सत्तामा नेमकिपा किन प्रभावमा छ ? यसका पछाडिको खास रहस्य के हो ? यो पार्टीका नेता नारायणमान बिजुक्छँेसँग के जादु छ, जसले गर्दा उनले भक्तपुरलाई दशकौँदेखि आफ्नै दलको प्रभावमा राख्न सफल भएका छन् ?
यी प्रश्नहरूको जवाफका लागि भक्तपुरको गहिरो राजनीतिक रिपोर्टिङ गर्नुपर्ने हुन्छ । तर, यहाँ अलि फरक प्रसङ्गमा चर्चा गरिएको छ ।
अध्यक्ष बिजुक्छेँँ अहिले ८५ वर्ष पुगे (आज ८६ वर्ष पुग्नुभयो – सं) । उनी विगत ५० वर्षदेखि पार्टी अध्यक्ष रहँदै आएका छन् । भर्खरै सम्पन्न महाधिवेशनले पनि उनलाई नै अध्यक्ष चुनेको छ । ०३१ साल माघ १० गते विधिवत् रूपमा स्थापना भएको नेमकिपामा सुरुदेखि नै बिजुक्छेँ अहिलेसम्म नेतृत्वमा रहँदै आएका छन् ।
पञ्चायत कालमा नेकपाबाट विभाजित हुने क्रममा बिजुक्छेँको समूहलाई ‘रोहित समूह’ का रूपमा नेकपाको एउटा हाँगो मानिन्थ्यो ।
संसदीय राजनीतिमा पनि अध्यक्ष बिजुक्छेँको प्रभाव लामो समयसम्म रहँदै आयो । तर, पछिल्लो समय चुनावी राजनीतिमा भने उनले नयाँ पुस्तालाई अगाडि सारेका छन् । यद्यपि पार्टी नेतृत्व चाहिँ करिब ५० वर्षसम्म अर्को पुस्तालाई हस्तान्तरण गरेका छैनन् ।
आम निर्वाचन २०४८, २०५१, २०५६, २०६४ र २०७० सालमा पाँचवटा चुनावमा भक्तपुर १ बाट बिजुक्छेँ लगातार प्रतिनिधिसभा र संविधानसभामा निर्वाचित भए । उनले २०७४ को आम निर्वाचनदेखि संसदीय राजनीतिबाट विश्राम लिए । अहिले उनले जित्दै आएको भक्तपुर १ बाट प्रेम सुवाल सांसद बनेका छन् । उनी नेमकिपाका सचिव हुन् ।
सूचना प्रविधिको जमाना भए पनि बिजुक्छेँले मोबाइल फोन प्रयोग गर्दैनन् । बिजुक्छेँसँग संवादका लागि समय जुर्न पनि मुस्किल छ । किनकि उनी अनावश्यक काममा बाहिर निस्किँदैनन् । सार्वजनिक कार्यक्रम र राजनीतिक निम्ताहरूमा अन्य नेतालाई पठाउँछन् । उनी बिहानै उठेर पत्रपत्रिका पढ्छन् । साथीभाइ र सहयोगीहरूबाट देश–प्रदेशका घटनाको अपडेट लिन्छन् ।
यी नै रहस्यमयी ८६ वर्षीय नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेँसँग खबरहबले नेमकिपाको आन्तरिक नीति र देशको समसामयिक राजनीतिलाई हेर्ने दृष्टिकोणबारे कुराकानी गरेको छ ।

  • यहाँलाई बधाई छ । पुनः पार्टी अध्यक्षमा निर्वाचित हुनुभएको छ…
    धन्यवाद । पार्टी र साथीहरूको निणर्यले दोहोरिनुपर्ने भयो ।
  • यहाँमाथि प्रश्न के छ भने ५० वर्षदेखि लगातार अध्यक्ष बन्नुभयो । यहाँकै कारण पार्टीमा उत्साह छ र नेमकिपाको नेतृत्वमा नयाँ पुस्ता आउन सकेन….
    झन् उत्साह डब्लिएको छ । अरू पार्टी र हाम्रोबिच ठुलो भेद छ । अरू पार्टीमा मन्त्री बन्नका लागि झै–झगडा हुने गर्छ । सरकारको पैसा, जनताको कमाइको पैसा बाँड्ने गर्छन् । हामी त्यस्तो गर्दैनौँ । हाम्रो मुख्य उद्देश्य जनताको बिचमा गएर सामन्तवाद, उपनिवेशवाद र विस्तारवादको विरोधमा सङ्घर्ष गर्ने हो । जनतालाई शिक्षित गर्ने, पुँजीवादी समाज र समाजवादी समाजको दृष्टिकोण र भेदबारे जनतालाई शिक्षित गर्दै अगाडि बढ्ने हो । उनीहरू पार्टीलाई ठुलो बनाउने, जनताको पसिना खाने र खर्च गर्ने बाटोमा लागे । अब यो महाधिवेशनपछि साथीहरूले झन् जोशले काम गर्नेछन् ।
  • तर, ८५ वर्ष पुग्दा पनि पार्टी हाँक्ने जोश उस्तै छ र ?
    जसरी मान्छे नमरेसम्म आफ्नो कर्तव्य पूरा गर्नुपर्छ भन्ने कहावत छ त्यसरी नै राजनीति पदमा बसे पनि, नबसे पनि आफ्नो दृष्टिकोणको पक्षमा लड्नुपर्छ । देश र जनताको हितमा समाजलाई अगाडि बढाउनुपर्छ । म यो काम गरिरहन्छु । अरू इमानदार साथीले पनि त्यो काम गरिरहनेछन् । हाम्रा साथीहरू, मभन्दा ज्येष्ठ नागरिक पनि हाम्रो पार्टीमा कार्यरत छन् ।
  • यहाँको पार्टीमा युवा पनि देखिनुहुन्छ तर किन यहाँ नै पटक–पटक नेतृत्वमा दोहोरिनुभएको ? अभिभावक बनेर बसेको भए हुँदैनथ्यो ?
    युवालाई हामी तालिम गर्दै छौँ । अनुभव पनि ठुलो कुरा भएको हुनाले साथीहरूले नयाँ पुस्ता तयार गर्न हामीलाई जिम्मा दिएका हुन् । व्यक्ति मुख्य होइन, सिद्धान्त र गतिविधि मुख्य हो ।
    केही मानिसले हामीलाई यो के गरेको भन्छन् । महाधिवेशन र सम्मेलनको विषयमा धेरैलाई भ्रम छ । महाधिवेशनले पार्टीको नाम बदल्न सक्छ, सिद्धान्त बदल्न सक्छ, नेतृत्व बदल्न सक्छ,झन्डा बदल्न सक्छ । महाधिवेशनलाई यी सबै गर्ने अधिकार हुन्छ । तर, महाधिवेशनमा नेतृत्व बदल्न चाहन्न भन्ने अधिकार पनि प्रतिनिधिहरूलाई हुन्छ । यसकारण, युवालाई पनि अगाडि सार्नु आवश्यक अनुभव सम्झेका छौँ ।
  • अब अर्को महाधिवेशनमा चाहिँ नेतृत्व पुस्तान्तरण होला ?
    ज्येष्ठ नागरिकको ठाउँमा नयाँ पुस्ता जहाँ पनि आउने गर्छ । घरमा पनि हुन्छ । नयाँ पुस्ता तयार भइरहेको छ । त्यो काम चालु रहन्छ ।
  • यहाँले केके कार्यक्रम बनाउनुभएको छ, यो महाधिवेशनबाट जनतामाझ पुग्ने ?
    हाम्रो उद्देश्य निःस्वार्थरूपले देश र जनता सेवा गर्ने हो । सेवा भनेको विचारको सेवा हो । हाम्रा शत्रु को हुन् र हाम्रा मित्र को हुन् भन्दा साम्राज्यवादी, उपनिवेशवादी र विस्तारवादी हाम्रा शत्रु हुन् । कामदार वर्ग हाम्रा मित्र हुन् । उत्पीडित वर्ग हाम्रा साथी हुन् । सामन्तवादीले थिचोमिचो गरेका जति पनि देश र जनता छन्, ती हाम्रा मित्र हुन् । हामी यही कुरा नेपाली जनतालाई जगैबाट बताउँदै छौँ ।
    हाम्रो देशको महत्वपूर्ण कुरा के हो भने हाम्रा जति पनि नेता मन्त्रीहरू भए, तिनीहरूलाई विभिन्न देशका राष्ट्रपति, मन्त्रीहरूको नाम पनि थाहा छैन । तिनीहरूलाई अमेरिका, बेलायत र भारतजस्ता पुँजीवादी देशका नकारात्मक पात्र मात्र थाहा छ होला । देश र जनताको हितमा आफूलाई समर्पित गरेका अन्य देशका नेताहरूको नाम भने थाहा छैन । अब हामीले हाम्रो देशका जनता र नयाँ पुस्तालाई ती सबै कुरा बताउने प्रयत्नमा छौँ ।
    स्कूल, कलेजमा जस्तै अब हाम्रा कार्यकर्ता साथीहरू साना–साना समूहमा शिक्षित गर्नेछौँ । यो हाम्रो कार्यक्रम देशव्यापी चल्नेछ ।
    युक्रेनको लडाइँका बारे इजरायलले प्यालेस्टिनीहरूलाई दिएको दुःखका बारे जनतालाई बताउन देशभरका सङ्गठनमा हामी गम्भीर भएर जान्छौँ । ४३ जिल्लामा हाम्रो सङ्गठन छ । त्यहाँका जनतालाई हामी शिक्षित बनाउन जान्छौँ । हामी मन्त्री र मन्त्रालयमा जाने इच्छा राख्दैनौँ र त्यसरी देशको विकास पनि हुँदैन ।
  • ७७ मध्ये ४३ जिल्लामा मात्र अहिलेसम्म यहाँको पार्टी पुगेको छ ? अरू जिल्लामा सङ्गठन विस्तार गर्ने योजना छैन ?
    हामी मुख्यरूपमा जनताको चेतनास्तर उठाउने काम नै गर्छौँ । अहिलेका हाम्रा सरकारमा भएका नेताहरू विदेशका अर्थशास्त्रमा पीएचडी हुन्† आफ्नो देशको बारे थाहा नहुँदा झन् तलतल झर्दै गर्दा पनि तिनीहरू मौन छन् । खर्बाैँ रुपैयाँ हाम्रो ऋण पुगिसकेको छ । अर्थमन्त्री र अर्थशास्त्रीहरूको गलत सल्लाह र नीतिले गर्दा यस्तो परिमाण आएको हो । ती सबै कुरालाई आलोचनात्मक रूपले जनतामा प्रचार गर्छौं ।
  • तर, यहाँको पार्टी भक्तपुरबाहेक अन्यत्र फस्टाउन सकेन नि ?
    संसदीय राजनीति हाम्रो प्रधान कुरा होइन । कसैले हामीलाई संसदीय पार्टी भन्छन् तर संसदमा बसेर समाजवाद आउँछ भन्ने भावनाले हेर्छन् । त्यसलाई हामी विश्वास गर्दैनौँ । संसदीय पार्टीका दुईवटा चरित्र छन् ।
    एउटा – संसद्मा बहुमत पाएर सरकारमा जाने अनि पुँजीवादी पार्टीको पिछलग्गू हुने र अर्को– संसदीय व्यवस्थामा पुँजीवादी व्यवस्थाको विरोधमा सङ्घर्ष गर्ने र क्रान्तिको निम्ति मर्ने र सहिद हुने । यो ‘क्रान्तिकारी संसद्वाद’ हो; हामी यसको पक्षमा छौँ ।
    उदाहरणको लागि रुसी क्रान्तिको बेलामा त्यहाँका बोल्शेभिक सांसदहरूले जार (राजा) को विरोध गरे । जार सरकारले युद्धको पक्षमा कर लगाउने विधेयकको विरोध गरे । बोल्शेभिक सांसदहरूलाई जेल सजाय दिए । तिनीहरूलाई ‘सैनिक पोसाक लगाउन दिए’ र लडाइँको मोर्चामा लगे । उनीहरूले ‘हाम्रो शत्रु हाम्रो सरकार हो’ भनेर नारा लगाए । तिनीहरूलाई ज्यान सजाय भयो । ‘क्रान्तिकारी संसद्वाद’ भनेको त्यो हो । भ्रष्टाचार गर्ने र जनताको पैसा खाएर मनोरञ्जन गर्नेहरू संसद्वादी हुन् । हामी संसद्वादी होइनौँ । हामी क्रान्तिकारी संसद्वादको पक्षमा छौँ ।
  • कम्युनिस्ट पार्टीबिच एकता गर्ने सन्दर्भमा यहाँको धारणा के छ ?
    अहिले संसद्मा गएका, सरकारमा गएका कम्युनिस्टहरू नाम मात्रका हुन्, तिनीहरू कोही पनि ‘कम्युनिस्ट’ होइनन् । उनीहरूसँग एकता हुँदैन । जो–जो जनताको सेवामा समर्पित र पुँजीवादी व्यवस्थाको विरोधमा छन्, उहाँहरूसँग हाम्रो एकता हुनेछ । जो–जो इमानदार कम्युनिस्ट हुन् उनीहरूसँग हाम्रो एकता हुन सक्छ ।
  • को–को होलान् त त्यस्ता ?
    जसले सरकारमा नगइकन, स्वार्थ नराखीकन देश र जनताको हितमा काम गर्छन्, तिनीहरूसँग एकता हुन्छ । कम्युनिस्ट नामका नयाँ पार्टी आउँछन् तर ती नामका मात्र हुन् । हाम्रो पार्टीको नाम नेपाली जनतालाई बुझ्न सजिलो होस् भनी मजदुर–किसान पार्टी राखिएको हो । यो मजदुर र किसान जनताले बुझ्ने भाषा हो । मजदुर किसान भनेर बुझे भयो । ठुला–ठुला किताबमा पनि कम्युनिस्टहरूलाई ‘डाका’, ‘लुटाहा’ जस्ता शब्दहरू लेखेका छन् – उपद्र्याहा–लुटाहाहरू भन्छन् । नेपाली जनतामा भ्रम नहोस् भनेर हामीले मजदुर किसान पार्टी भनेका हौँ ।
  • अहिलेका कम्युनिस्ट पार्टीका नेताहरू केपी ओली, माधव नेपाल, पुष्पकमल दाहाल, झलनाथ खनाल, बाबुराम भट्टराईलगायतले यहाँहरूसँग संवाद गर्छन् ? भेट हुन्छ ?
    अहिले भेटघाट छैन । संवाद पनि छैन । तर, उहाँहरूसँग पनि काम गरियो । उहाँहरूको लडाइँ भनेको प्रधानमन्त्री हुने, ठुलो बजेट भएको मन्त्रालयमा झगडा गर्ने हो । सँगै जाउँ भन्ने अरू पार्टी पनि छन् तर मन्त्रिमण्डलमा एक–दुई सीट पाए भने तिनीहरू पनि फेरि हामीसँग मिल्दैनन् । उनीहरू र हाम्रो काम र विचार मिल्दैन । उनीहरूको चासो सरकारमा जाने, हाम्रो चासो जनताको सेवा गर्ने हो ।
  • चित्रबहादुर केसीसँग संवाद हुन्छ यहाँको ?
    पहिले हुन्थ्यो । पछि उहाँ पनि त सरकारमा जानुभयो । अहिले संवाद छैन । उहाँहरूको लाइन अरूसँग मिल्छ । उहाँहरूले अरू दलले जस्तै विदेशमा युवाहरू पठाउनुहुन्छ, जसको हामी विरोध गर्छौं ।
  • सरकारमा भएका कसैसँग संवाद नै हुँदैन त यहाँहरूको ?
    हुँदैन, छैन ।
  • यसो हुँदा त एकलकाँटे भइन्छ होला नि ? एक्लो वृहस्पति भनिन्छ होला नि ?
    वृहस्पति एक्लै हो । सौर्य मण्डलको पाँचौँ र सबभन्दा ठुलो ग्रह पनि हो । एक ऋषि र देवताहरूको गुरु पनि हो । अनेक दुर्गम जिल्लामा रातो झण्डा फहराउने पनि नेमकिपा नै हो । वृहस्पति त वृहस्पति नै हो नि । ध्रुवतारा धेरै छैनन्, धु्रवतारा पनि एउटै हो जसले दिशा बताउँछ । नेमकिपा एकलकाँटे होइन, बाटो बिराउनेहरूलाई बाटो देखाउने ध्रुवतारा हो ।
  • यहाँले बाटो देखाउने भन्नुभयो, के ग¥यो भने कम्युनिस्ट आन्दोलन एकताबद्ध भएर अगाडि बढ्छ ?
    कम्युनिस्ट पार्टी भनेको पुँजीवादी पार्टीहरूविरुद्ध उभिएको पार्टी हो । पुँजीवादी पार्टी पुँजीपति वर्गको हितमा काम गर्ने हो । अहिले यो सरकारले जति पनि ऐन कानुन ल्याउँछ, धनीलाई फाइदा गर्ने, गरिबलाई खाडलमा धकेल्ने हो । सरकारले नै मिटरब्याजीलाई संरक्षण गरेको हो । सहकारी पीडकलाई संरक्षण गरेको छ । उत्पादनका साधनलाई सामाजिकीकरणको पक्षमा लड्नुपर्नेमा भएका देशको कल–कारखाना कौडीको मोलमा देशी र विदेशी व्यक्तिलाई बेच्ने पनि सरकारहरू नै हुन् ।
    सबैले चिनेका मन्त्री र सरकारहरूले नै देशका नदी–नाला बेचेर जनतालाई कंगाल बनाएको हुँदा उहाँहरूसँग हाम्रो मित्रता हुन सक्दैन ।
    योग्यताअनुसारको काम र कामअनुसारको ज्याला समाजवादको आधार हो । आफ्ना मानिसलाई मात्र काम दिएर वा कार्यकर्ताहरूलाई पैसा दिएर वा पैसा छरेर समाजवाद आउँदैन । सबै जनतालाई काम दिने हो । विदेशमा मान्छे पठाउने होइन, हाम्रो देशमा युवाहरूलाई योग्य बनाउने हो र काम दिने हो । मन्त्री हुँदैमा जनताका काम हुने भए त कतिपटक मन्त्री भए कति… । त्यागको भावना हुनुपर्छ । एकताबद्ध हुने मार्गहरू खोज्नुपर्छ । जनताको हितमा काम गर्नुपर्छ । यी सबै काम हुनै सकेको छैन ।
  • कम्युनिस्टहरूको एकता अहिले सम्भव छैन त ?
    कम्युनिस्टहरू एक हुन्छन् । तर, यहाँले नाम लिएका नेताहरू कम्युनिस्ट होइनन्, नक्कली कम्युनिस्ट हुन् । सक्कली कम्युनिस्टहरू समयअनुसार देखा पर्नेछन् ।
  • नेमकिपा मिसन ०८४ मा छ कि छैन ?
    यहाँले निर्वाचनको कुरा गर्नुभयो, हामी निर्वाचनलाई ब्यारोमिटरको रूपमा लिन्छौँ । थर्मामिटरले हाम्रो जिउको तापक्रम नाप्छ । ब्यारोमिटरले हाम्रो वातावरण र हावापानीको स्थिति बताउँछ । केही गरी ब्यारोमिटरको पारो तल झ¥यो भने आँधी आउँछ भन्ने सङ्केत दिन्छ । चुनावमा हाम्रो मत धेरै भयो भने क्रान्तिको नजिक छ भन्ने सङ्केत दिन्छ । त्यसैको निम्ति मात्र हामीले चुनाव उपयोग गरेका छौँ ।
    प्रगतिशील र सचेत क्रान्तिकारीले हामीलाई मत दिन्छन् । प्रगतिशीलले हामीलाई मत दिन्छन् । जुन ठाउँमा हाम्रो मत आउँदैन, क्रान्तिकारी पात्रहरू छैनन् भनेर बुझ्छौँ । त्यहाँ क्रान्ति हुँदैन । यसकारण ती ठाउँमा पनि पुग्छौँ ।
  • यहाँ त मोबाइल फोन पनि बोक्नुहुन्न रहेछ । कसरी दिनचर्या बित्छ ? सबै जानकारी अहिले त फोनबाटै लिने दिने चलन छ नि ?
    कहिलेकाहीँ मोबाइल बोक्छु । अफिस र घरको नम्बर छ । साथीहरू आएर देश–विदेशका घटनाबारे जानकारी गराउनुहुन्छ । पत्रपत्रिका पढ्छु । ६ बजे उठेर अखबार पढ्छु । राष्ट्रिय र अन्तर्राष्ट्रिय पत्र–पत्रिका र किताबहरू पढ्छु ।
    नेपालका हरेक अखबारमा भ्रष्टाचार, ठगी, सहकारीका ठगहरूको प्रकरण आउँछ । त्यसमा ठुला नेता र राज्यसत्तामा भएका मानिसहरू मुछिएका हुन्छन् । हाम्रा पत्रकार साथीहरूले यी विषयहरू नलेखेका भए जनतालाई थाहा नै नहुने थियो ।
    समाजवादी देशको इतिहास र राजनीतिबारे बुद्धिजीवीहरू पनि पढ्दैनन् र पढाउँदैनन् वा झूटा कुरा जनतालाई बताउँछन् । संसारका सबै देशका लेख–रचनाबाट थाहा पाएका कुरा साथीहरू र जनताका बिचमा पु¥याउँछु र शिक्षित गर्छु ।
    हाम्रो पार्टी नेमकिपालाई कामदार वर्गको र क्रान्तिको विश्वविद्यालय बनाउने काम गर्दै छौँ, अरू पुँजीवादी पार्टीको त ठ्याकै उल्टो हो । शासक दलका नक्कली कम्युनिस्टहरू पुँजीपति वर्गको हित गर्ने, साम्राज्यवादीहरूको पछि लाग्ने र अरूले दिएको मागेर खाने पार्टी हुन् । अहिले हेरिहाल्नु भयो, युक्रेन र संरा अमेरिकाका ट्रम्पको वार्तालाप । एउटा राष्ट्रपतिले अर्को राष्ट्रपतिलाई गरेको व्यवहार – मालिक र नोकरको जस्तो छ । अरूसँग मागेर खाने – हाम्रा अर्थशास्त्री र अर्थमन्त्रीहरूले पनि त्यस्तै हविगत भोग्नु पर्नेछ ।
  • अन्तिममा, काङ्ग्रेस–एमाले नेतृत्वको यो सरकारलाई यहाँको सुझाव के छ ?
    आफ्नो देशलाई आफ्नो खुट्टामा उभ्याउनुपर्छ भन्ने हाम्रो सुझाव होइन, दृष्टिकोण हो । कसैसँग लत्रिनु हुँदैन भन्ने हाम्रो अडान हो । हाम्रा शासक नेताले अरूले दिएको कुरामा आँखा चिम्लेर काम गर्छन्, जस्तो– एमसीसीका बारेमा सबैभन्दा पहिले राजदूतले त्यसमा सही गरेका थिए । उनीबारे पहिले योजना आयोगमा उपाध्यक्ष हुँदा भ्रष्टाचारका कुरा धेरै छापिएको थियो । एमसीसीको दस्ताबेजमा हस्ताक्षर गर्ने मन्त्रीलाई सोध्दा प्रधानमन्त्रीलाई देखाए, प्रधानमन्त्रीलाई सोध्दा सबैले हेरेको हुँदा आफूले हेर्नै परेन भने । देशको ताल यस्तै हो । अरू देशले जे भन्छ त्यही गर्ने हो ?!
    देशलाई गलत ठाउँमा लगिरहेका छन्, नेमकिपा यसको विरोधमा छ । छलफल नै नभई भूमि अध्यादेश ल्यायो । भ्रष्टाचारीहरूलाई संरक्षण गर्दै छ । सबै सहकारी ठगहरूलाई खोज्न र पक्राउ गर्न सकेको छैन । सरकारले केही जनमुखी काम गर्न सकेको छैन । जनता निराश छन् । यिनको विरोधमा हामीले जनतालाई सबै कुरा बताउनुपर्छ, नत्र हाम्रो कर्तव्य पूरा हुँदैन ।

(अन्तर्वार्ता मिति २३ फागुन २०८१, शुक्रबार ८ : ०५ बजे प्रसारण भएको थियो । तर, अनेक श्रुति दोष र अस्पष्टतालाई सम्पादन गरिएको छ । सं–)

Leave a Reply

Your email address will not be published. Required fields are marked *