वर्तमान सरकारबारे उसैलाई बोल्न देऔँ
- भाद्र ८, २०८३
२७ असार २०८२ को कान्तिपुरले लेख्यो, ‘जन्मदर घट्दा विश्वव्यापी चिन्ता ।’
हो, हिजो परिवार नियोजन गरेका जापान र चीनजस्ता देशहरूमा फेरिएको विश्व परिवर्तनले ज्येष्ठ नागरिकहरूको बढ्दो सङ्ख्या र भोलिको युवा हुने बालबालिकाहरूको कम जन्मदरको सङ्ख्याले काम गर्ने श्रमशक्ति थोरै हुँदा उत्पादन कम हुने र सेवा गर्ने श्रमशक्ति पनि कम हुने सम्भावनाले सताउनु स्वाभाविक हो । विकसित देशहरूमा स्वचालित यन्त्र (रोबोट) हरू र घरेलु सेवामा समेत त्यस्ता रोबोटहरूको उपयोग, वाहनहरू पनि चालकरहित हुने र उत्पादनका यन्त्रहरूसमेत स्वयंचालित हुँदा भोलि यन्त्रलाई आदेश दिने मानवको अभाव हुनेबारे मानिसहरू चिन्तित छन् ।
एकातिर जन्मदर कम हुनु, अर्कोतिर रोजगारीमा अति प्रतिस्पर्धिता र शारीरिक कष्ट नभोग्ने युवाहरूमा ढिलो विवाह गर्ने मानसिकता, बच्चा नपाउने दृष्टिकोण, सहरहरूमा डेरा नपाउने आदि कारणले जनसङ्ख्या वृद्धि डरमा कम हुँदै जाने निश्चय छ । युरोप र जापानजस्ता विकसित देश र त्यहाँका नयाँ पुस्ताका युवाहरूमा बच्चा पाउने चाहनाको कमी वा सन्तान नजन्माउने मानसिकताले युवा–युवतीमा यौन इच्छाशक्तिमा समेत ¥हास हुने अनुमान गरिएको छ । युवाहरूमा सन्तान उत्पादन गर्ने क्षमतामा ¥हास र त्यसबाट उत्पन्न युवतीहरूको बाँझोपना जनसङ्ख्या वृद्धिमा तगारो बनेको छ ।
तर अफ्रिकी महादेशका अधिकांश देशहरूका उर्वरभूमिमध्ये ९० प्रतिशत उपनिवेशकालदेखि नै गोरा शासकहरूको हातमा गएको हुँदा अत्यन्त बहुमत अफ्रिकी जनता खाद्यान्नको निम्ति विदेश निर्भर छन् । स्थानीय अन्य गोरा भूमिपतिहरू तत्तत् देशमा अन्नको व्यापार नगरी विदेशमा पठाउँदा बहुमत स्थानीय जनताको खाद्यान्नमा बढी मूल्य तिर्न बाध्य छन् । कमजोर आर्थिक अवस्था र तल्लो जीवनस्तरको कारण बहुमत अफ्रिकी जनताको सामाजिक र सांस्कृतिक स्तर बढेन । मृत्युदर पनि बढी हुनाले जनसङ्ख्या वृद्धि घट्दै गएको देखिन्छ ।
युरोपेली देश र जापानजस्ता देशका शासकहरू संयुक्त राष्ट्रसङ्घको खाद्यान्न, शिक्षा, स्वास्थ्य तथा युद्ध, भूकम्प, बाढी, खडेरी, आँधीबेहरी, आगलागी (डढेलो) जस्ता प्राकृतिक प्रकोपको सहायता वितरण लाग्नुपर्ने हुन्छ भने विश्व तापमानको नियन्त्रण गर्नेबारे संयुक्त राज्य अमेरिकाजस्तै अरू पनि पेरिस सम्मेलनको आह्वान र निर्णयबाटै पछि हट्दै जाने छन् ।
संसारको फोक्सो सम्झिएका ब्राजिलमा दक्षिणपन्थी राष्ट्रपति बोल्सोनारोले ठुलो मात्रामा वनजङ्गलमा आगो लगाएर वा रुख कटान गरेर विश्वमा नकारात्मक कार्य गरे । हिटलर र मुसोलिनी जस्तै अत्यन्त जातिवादी र प्रतिगामी सोचका रिपब्लिकन राष्ट्रपति ट्रम्पले पनि फासीवादी र नाजीवादी सोचलाई नै बढावा दिँदै माल्थसलाई पूजा गर्दै जनसङ्ख्या ह्रास हुने नीतिको नाममा अरब देशहरूमा हतियार बेच्दै र युक्रेनको काँधमा बन्दुक बिसाएर रुसमा आक्रमण गराउँदै छन् । त्यस नीतिलाई संसारका अन्य दक्षिणपन्थी सरकारहरूले पनि पछ्याउँदै छन् ।
त्यस नीतिको परिणाम विकासशील देशहरूको आर्थिक विकासलाई रोक्ने जनसङ्ख्या दरलाई घटाएर देश र राज्यको श्रमशक्तिलाई तुलनात्मक रूपले कमजोर पार्दै संसारमा नयाँ उपनिवेशवाद लागु गर्ने कुत्सित योजनाअन्तर्गत साम्राज्यवादी शक्तिहरूले संयुक्त राष्ट्र सङ्घलाई कमजोर पारी दक्षिण पूर्वी एसियामा पनि लडाइँको निम्ति तयारी गर्दै छन् ।
अफ्रिका र ल्याटिन अमेरिकी देशहरूमा पनि संयुक्त राज्य अमेरिका आफ्ना पिछलग्गू सरकारहरूमार्फत पुनः आपसमा लडाउँदै र हतियार बेच्दै संसारमा पुनः उपनिवेशवाद अर्थात् नव–उपनिवेशवाद कायम गर्ने दाउमा छ । त्यसको विरोधमा संसारका अत्यन्त बहुमत विकासशील देशहरू आफ्नो सामूहिक हितको निम्ति युद्धको विरोध र शान्तिको पक्षमा सङ्घर्ष गर्नु नै निर्विकल्प उपाय हो भन्ने भावना व्यापक हुँदै छ । यो नै विश्वका बहुमत जनताको चिन्ता हटाउने उपायको एकमात्र आशा हो ।
Leave a Reply