भर्खरै :

कर्मचारीहरू नागरिक दायित्व निर्वाह गर्न अग्रसर हुनुपर्ने

कर्मचारीहरू नागरिक दायित्व निर्वाह गर्न अग्रसर हुनुपर्ने

भक्तपुर, २ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चाडपर्वलाई विकृतिरहित बनाउन सबैले पहल गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा भएको दीपावली (तिहार) को उपलक्ष्यमा नगरपालिकाका कर्मचारीहरूबिच आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले हाम्रो चाडपर्व र संस्कृति हाम्रो पहिचान हो भन्दै भाषा र संस्कृतिमाथि विभाजन ल्याई भिन्नता ल्याउन खोज्ने तत्वहरूबाट जनता सचेत हुनुपर्ने बताउनुभयो ।
उहाँले चाडपर्वको समयमा फोहोर पनि बढ्ने हुँदा सरसफाइका कर्मचारीहरूले थप जिम्मेवारीका साथ काम गर्नुपर्ने बताउँदै भक्तपुर नपाले आन्तरिक पर्यटकलाई पुँजीमा रूपान्तरण गर्नेतर्फ जोड दिँदै आएको बताउनुभयो ।
प्रमुख प्रजापतिले टोल छिमेकमा हुने विविध गतिविधिमा पनि ध्यान दिन आग्रह गर्दै कर्मचारीहरू जुनसुकै समयमा नागरिक दायित्व निर्वाह गर्न अग्रसर हुनुपर्ने बताउनुभयो । चाडपर्वको समयमा स्वदेशी वस्तुको उपयोगमा जोड दिनुपर्ने बताउँदै उहाँले देशलाई आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउन सबैले पहल गर्नुपर्छ भन्नुभयो ।
पुस्तक अध्ययनलाई जीवनको अभिन्न अङ्गको रूपमा लिएर अगाडि बढ्नुपर्ने बताउँदै उहाँले नेपालको शिक्षा उत्पादनमुखी तथा सीपयुक्त जनशक्ति तयार गर्ने खालको हुनुपर्ने बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको भगिनी सहर सिचाङ (तिब्बत) को शाननान सहरको भ्रमणको अनुभव सुनाउँदै केही दशक अगाडिसम्म विकासको लागि सङ्घर्षरत सिचाङ (तिब्बत) ले केही दशकभित्र गरेको विकासको बन्दोबस्तको श्रेय त्यहाँको समाजवादी व्यवस्था नै रहेको प्रस्टसँग बुझ्ने अवसर ६ दिनको भ्रमणले प्रदान गरेको बताउनुभयो ।
भगिनी सम्बन्ध भएको चीनको स्वशासित क्षेत्र सिचाङ (तिब्बत) को शाननान सहर र ल्हासा सहरको भ्रमणबाट देश र जनताको इमानदारीपूर्वक सेवा गर्न राजनैतिक प्रणाली, इमानदार नेता, कार्यकर्ता र कर्तव्यनिष्ठ जनता भए देश र समाजको विकास अत्यन्तै तीव्रगतिमा हुने उहाँले बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले राजनीतिक इमानदारिता र विज्ञान तथा प्रविधिले देशको विकास छिटो हुने बताउँदै भक्तपुर नपाले नेमकिपाको सिद्धान्तलाई अँगीकार गरी इमानदारीपूर्वक देश र जनताको सेवामा अगाडि बढिरहेको बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले कर्मचारीहरू जुनसुकै समयमा राष्ट्र निर्माणमा केन्द्रित भएर अगाडि बढ्नुपन बताउँदै तिहार बिदामा कर्मचारीहरूले आफ्नो व्यक्तित्व विकासको लागि पुस्तक अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले समाजलाई अप्ठ्यारो पर्ने गतिविधिबाट कर्मचारीहरू टाढा रहनुपर्ने बताउँदै चाडपर्वमा हुने विकृति र कुलतबाट टाढा रहनुपर्छ भन्नुभयो ।
कार्यक्रममा नेपाल कर्मचारी एसोसियसनका सदस्य गणेशलाल फोँजुले पनि शुभकामना मन्तव्य दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *