अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
भेनिसकी भियना
इटालीको भेनिसकी भियना काम्मारोता उमेरले ७० वर्ष नाघेको केही वर्ष भइसक्यो । तर, आफूलाई बुढ्यौली लागेको उनलाई पटक्कै अनुभव भएको छैन । त्यस्तो अनुभव हुँदो हो त भेनिसमा उनी आफ्ना तीन नातिना खेलाएर दिन बिताइरहेकी हुन्थिन् । सुन्दर नगरी भेनिसमा आफ्ना तीन छोरीसँग आरामदायी जीवन बिताइरहेकी हुन्थिन् । तर, उनलाई त्यसरी खुम्चिएर जीवन बिताउन मन भएन । त्यसैले निवृत्त जीवन आरामसँग बिताउन छोडेर उनले ७० नाघेपछि एउटा नयाँ यात्रा आरम्भ गरिन्, भेनिसदेखि पेइचिङसम्मको पैदल यात्रा ।
१३ औँ शताब्दीमा भियनाकै सहरकी व्यापारी मार्को पोलो भेनिसबाट मध्यपूर्वी एसिया छिचोलेर चीन पुगेका थिए । उनी चीनमा १७ वर्ष बसेर युरोप फर्केका थिए । उनले आफ्नो चीन यात्राबारे यात्रा वृत्तान्त लेखेका थिए । उनले लेखेको त्यही अभिलेख नै आजभन्दा झण्डै आठ सय वर्ष पहिला चीनसँग मध्य एसिया र युरोपको सम्बन्धको दसी बनेको छ । समयान्तरमा उनी हिँडेको त्यही बाटो रेशम मार्गका नामले विख्यात बन्यो । चीनका महँगा रेशम त्यही बाटो हुँदै मध्यपूर्व र युरोपमा निर्यात हुने भएकोले त्यो बाटोको नाम रेशम मार्ग रहन गयो । झण्डै सात सय पचास वर्षअघि आफ्नो पुर्खा मार्को पोलो हिँडेको त्यही बाटो पछ्याउँदै भियनाले सन् २०२२ को अप्रिल २६ मा भेनिसबाट आफ्नो यात्रा थालिन् । उनले आफूसँग २० किलोको यात्राझोला र दुई वटा टेक्ने टेकोबाहेक केही बोकेकी थिइनन् । पन्ध्र देशमा २२ हजार किलोमिटर पैदल छिचोलेर उनी सन् २०२४ को अगस्ट २९ मा चीनको सिन्च्याङ उइगुर स्वशासित क्षेत्र प्रवेश गरिन् । त्यहाँ उनलाई स्थानीय सरकारले भव्य स्वागत गर्यो । उनी आजको युगका मार्को पोलो कहलिए । तर, उनको यात्रा भने अझै टुङ्गिएको छैन । उनी मार्को पोलोले यात्रा गरेका चीनकै विभिन्न प्रान्त र सहरमा हिँडेरै पुग्दैछिन् ।
जुलाई महिनाको अन्तिम साता ‘म र चीन’ शीर्षकमा भएको लेखन अभियानका पुरस्कृत लेखकहरूको शिविरमा भियना पनि आफ्नो कथा सुनाउन आएकी थिइन् । होटलको लिफ्टबाट ओर्लिँदै गर्दा उनीसँग परिचय भयो । मैले आफू नेपालबाट आएको भन्ने बित्तिकै उनले खुसी हुँदै भनिन्, ‘म तिम्रो देशमा गएको छु नि । (नाम बिर्सेर एकछिन अलमलिएपछि) अँ, अन्नपूर्ण क्षेत्र । हो, त्यहाँ म पैदल हिँडेको छु ।’
त्यसपछिको यात्राभरि भने हामी दुई जना लगभग सँगसँगै भयौँ ।
हिँड्न पाएपछि उनी हुरुक्कै हुन्छिन् । हामी चढेको गाडी रोक्ने बित्तिकै उनी बाहिर जान्छिन् र आङ तन्काउँदै भन्छिन्, मलाई गाडीमा उति बस्न मन लाग्दैन । त्यसैले कान्सुको कान नानका घाँसेमैदानमा हामी दुई जना सबै अरु लेखकहरूलाई उछिनेर अघि अघि हिँड्यौँ । यात्राका आयोजकहरू उचाइमा उनलाई केही स्वास्थ्य समस्या होला कि भनी चिन्तित थिए । बेला बेला उनलाई केही समस्या भए भनिहाल्न भन्थे । तर, भियनाको आत्मबल उनीहरूले सोचेभन्दा निकै दरिलो थियो । उनी मस्त हिँड्थिन् । अनि बेला बेला ठट्टा गर्थिन्, ‘के मसँग हिँड्नमा प्रतिस्पर्धा गर्ने हो त ?’
उनी चिनियाँ भाषा पटक्कै बुझ्दिनन् । अङ्ग्रेजी भाषा कनिकुथी बोल्छिन् । आफ्नो शब्दले नभ्याएपछि उनी मोबाइलको सहायता लिन्छिन् । इटालियाली भाषालाई अङ्ग्रेजीमा अनुवाद गरेर आफ्नो आशय बुझाउँछिन् । आफ्नो आशयको आधाभन्दा बढी त उनी अनुहारकै भावबाट व्यक्त गर्छिन् ।
एक साँझ पहेँलो नदीमा फेरीमा जलबिहार गर्ने क्रममा उनीसँग अन्तरङ्ग कुराकानी भयो ।
‘म तपाईँको कथा सुनेर निकै प्रभावित भएँ । के म तपाईँको बारेमा एउटा लेख लेख्न सक्छु ?’ फेरीको तीखो आवाज चिर्दै मैले उनको कान नजिक गएर सोधेँ ।
‘हुन्छ नि ।’ उनले आफ्नो सरलता पोखिन् ।
अनि हामी मज्जाले गफियौँ ।
पेइचिङ जान झोलाझम्टा कसेर निस्कँदै गर्दा भेनिसमा उनका तीन छोरीले उनलाई नजान भनेका थिए । यो उमेरमा आमा यति कठिन यात्रामा जान लागेको देखेर छोरीहरू क्वाँक्वाँ रोएका थिए । तर, मार्को पोलो पनि आफ्ना प्रियजनको आँसुमा अल्झिएको भए इतिहास लेखिने थिएन । भियनालाई आजको जमानाको मार्को पोलो बन्नु थियो । त्यसैले छोरीहरूका नुनिलो आँसुले उनलाई रोक्न सकेन । अनि उनले थालिन् एउटा विषम यात्रा ।
‘यति धेरै देशको यात्रापछि तपाईँलाई सबभन्दा राम्रो कुन देश लाग्यो ?’
‘सबै देश राम्रा छन् । सबैका आ–आफ्ना विशेषता छन् । सबै देशका मानिस हार्दिक छन् ।’ कान्सुको मौलिक स्वादको चिया सुरूप्प पार्दै उनले भनिन् ।
‘बाटोमा लुटेराहरूले तपार्इँलाई लुट्न आए कि ?’ टेबुलमा राखिएको सूर्यमुखी फूलका बियाँ छोडाउँदै मैले सोधेँ ।
‘आए नि । मैले उनीहरूसँग हात मिलाउँदै मुसुक्क हाँसेर त्यसो नगर्न भनेँ ।’ उनको यो जवाफ सुनेर मैले हाँसो थाम्न सकिनँ ।
अलि बेरपछि हामी उठेर फेरीको अग्रभागमा पुग्यौँ । त्यहाँबाट पहेँलो नदी छेउछाउका रात्रिकालीन उज्यालो अझ मनमोहक देखियो । भियनालाई देखेर त्यहाँ उभिएका एक जना चिनियाँ महिलाले सोधिन्, ‘के तपाईँ उही पैदल यात्री हुनुहुन्छ ?’ अनि उनले हतार हतार आफ्नो मोबाइलमा भियनाका भिडियो देखाइन् । आफ्नो भिडियो देखेर भियना मख्ख परिन् ।
चिनियाँ महिला उनलाई देखेर खुसीले गद्गद् थिइन् र सँगै फोटो खिच्न अनुरोध गरिन् ।
‘अहो, तपाईँ त चीनमा निकै चर्चित भइसक्नुभएको रहेछ’, मैले भनेँ । उनले मुसुक्क हाँसेर जवाफ फर्काइन् ।
कान नानको साङ ख घाँसे मैदानमा स्थानीयहरूले सुन्दर पछ्यौरी बेचिरहेका थिए । सुन्दर बान्कीका पछ्यौरी किन्ने रहर लाग्यो । मैले पछ्यौरी छामिरहेको देखेर भियना मतिर आइन् र सोधिन्, ‘किन्ने हो ?’
‘अँ किनुँ कि भनेको ।’
‘ल पख है । साहुजी यो पछ्यौरीको कति हो ?’
‘एउटाको ४५ आरएमबी ।’
‘ल ३० आरएमबीमा दिनुस् है ।’
‘हुँदैन हुँदैन ।’
‘मिलाउनुस् न साहुजी । हामी टाढा देशबाट आएर यो पछ्यौरी लाँदै छौँ । भाउ मिलाउनुस् ।’
उनको मोलमोलाइ देखेर म अचम्भित भएँ । नभन्दै पसलेले उनले भनेकै भाउमा पछ्यौरी दिन तयार भए ।
‘म यो काममा निपुण छु नि । मैले बाटोमा धेरै ठाउँमा यसरी मोलमोलाइ गर्नुपर्छ ।’
कान नानको लाब्राङ गुम्बामा हामीलाई गुम्बाको इतिहास र संस्कृतिबारे वर्णन गरिरहेका भिक्षुले सँगै जीवन दर्शनबारे धेरै कुरा भनिरहेका थिए । उनी हामीलाई जीवन के हो, आफू को हो, खुसी के हो जस्ता निकै जटिल प्रश्न सोधिरहेका थिए । अनि बौद्ध दर्शनअनुसार ती प्रश्नको जवाफ पनि दिइरहेका थिए । उनको गहिरो दर्शन हामीले कति बुझ्यौँ बुझेनौँ । तर, नजिकै एक जना चिनियाँ लेखक मित्रसँग हामी साइड टक गरिरहेका थियौँ, जीवनको खुसी भनेको भियनाको खुसी हो । जो आफ्नो लक्ष्यमा दृढ सङ्कल्पित भएर हिँडिरहेकी छिन् । हरेक नयाँ ठाउँमा नयाँ मानिस भेट्दै उनीहरूसँग आफ्नो खुसी साट्दै लक्ष्यतर्फ लगातार हिँडिरहेकी छिन् ।
चीन सरकारले एक क्षेत्र एक मार्ग परियोजनाअन्तर्गत प्राचीन रेशममार्गलाई आजको युग सुहाउँदो विकासको निम्ति पुनर्जीवन दिन खोजिरहेको छ । चीनभित्रै रेशममार्गमा पर्ने विभिन्न सहरलाई सांस्कृतिक, ऐतिहासिक र आर्थिक हिसाबले नयाँ जीवन दिने काम पनि भइरहेको छ । बेल्ट एन्ड रोड परियोजना अर्थात् बीआरआईअन्तर्गतको एउटा मुख्य मार्ग रेशम मार्गमा चीनसँग मिलेर बाटोका देशहरूले बनाइरहेका पूर्वाधार देखेर भियना खुसी छिन् । उनले २२ हजार किलोमिटर लामो पैदल यात्राको क्रममा त्यहाँका मानिसका धेरै कथा बटुलेकी छिन् । जीवनका धेरै रङ्ग देखेकी छिन् । उनी ती सबै रङ्गको कलेवरमा एउटा पुस्तक लेख्ने सोचमा छिन् । अनि देश देशका सीमाले फिक्का बन्दै गएको रेशम मार्गलाई अझ जीवन दिने चीनको प्रयासमा सक्दो टेवा दिन सङ्कल्पित छिन् । अझै उनी मार्को पोलो हिँडेका चिनियाँ सहरहरूमा रेशम मार्गका कथा भन्न हिँडिरहेकी छिन् ।
यात्राको अन्तिम दिन उनले मलाई आफ्नो यात्राको लोगो भएको एउटा स्टिकर उपहार दिइन् । अब उनी केही दिन पेइचिङ बसेर आफ्नो बाँकी यात्रा थाल्दै छिन् ।
‘पेइचिङबाट म भित्री मङ्गोलियाको यात्रामा निस्कन्छु ।’
अहो, मानिसको इच्छाशक्तिसामु उमेर सधैँ फिक्का हुने रहेछ ।
नथाक्ने हेलेना
पोर्चुगलकी हेलेना मेस्कुइटा उमेरले ७० वर्ष नाघिसकिन् । तर, उनको अनुहारको चमक भने भर्खरकी कुनै युवतीको भन्दा कम छैन । कपाल सेतै फुलिसकेको छ । त्यही सेतै फुलेको कपालले पनि उनको अनुहारलाई अझ प्रकाशित बनाएको भान हुन्छ । उनी आफ्ना अठार वर्षका नाति पेद्रोसँग लेखक शिविरमा आफ्नो कथा सुनाउन आएकी हुन् ।
६० वर्ष पुग्ने बेला उनी आफ्नो कामबाट सेवा निवृत्त भइन् । कानुनले उनलाई सेवा निवृत्त भने पनि संसार बुझ्ने र केही गर्ने चाहना भने निवृत्त भइसकेको थिएन । त्यही बेला उनले चिनियाँ भाषा सिक्ने निधो गरिन् । डाँडापारिको घाम भइसकेको मान्छे संसारकै सबभन्दा कठिनमध्येमा गनिने भाषा सिक्न तम्सिनु धेरैका लागि आश्चर्यको विषय थियो । तर, हेलेना आफ्नो लक्ष्यमा स्पष्ट थिइन् । ते¥ह वर्षअघि उनले चिनियाँ भाषा सिक्न थालिन् । उनले भाषा सिक्न थाल्दा भाषा शिक्षालय उनको घरभन्दा टाढा थियो । साताको एक दिन मात्र चिनियाँ भाषाको कक्षा हुन्थ्यो । त्यही साताको एक दिन उनी घण्टौँ लामो यात्रा गरेर भाषा सिक्न कक्षामा सहभागी हुन थालिन् ।
‘हामीलाई चिनियाँ भाषा सिकाउने शिक्षकहरू चिनियाँहरू नै थिए । तर, उनीहरू सबै पोर्चुगल भाषामा पोख्त थिए । त्यही भएर पोर्चुगाली भाषामा हामीले चिनियाँ भाषा सिक्यौँ । त्यसमाथि हप्ताको एक दिन मात्र कक्षा हुने भएकोले मैले ते¥ह वर्ष भाषा सिक्दा पनि अझै मेरो भाषा उति राम्रो हुन सकेको छैन ।’ कान्सुको ह च्व सहरमा एक साँझ सँगै खाना खाने क्रममा हेलेनाले सुनाइन् ।
पेइचिङमा पिपुल्स डेली पत्रिकाको मुख्यालयमा आयोजित परिचयात्मक कार्यक्रममा हेलेनाले जब चिनियाँ भाषामै आफ्नो परिचय सुरु गरिन्, पत्रिकाका पदाधिकारीहरू सबै चकित थिए । उनले हरेक शब्दलाई ठीक ढङ्गले उच्चारण गर्दै परिचय सकेपछि सबै सहभागीले खुसीले गद्गद् भएर ताली बजाए ।
ते¥ह वर्षदेखि हेलेनाको दैनिक जीवनमा चिनियाँ भाषा अभिन्न हिस्सा बन्दै आएको छ । उनी आज पनि दैनिक चिनियाँ अक्षर अभ्यास गर्छिन् । चिनियाँ पाठ पढ्छिन् । अनि चिनियाँ भाषाका सामग्री श्रवण गर्छिन् । चिनियाँ भाषासँगै उनले चिनियाँ संस्कृतिबारे पनि क्रमशः सिक्दै गइन् । हजारौँ वर्ष पुरानो इतिहास भएको चीनको समृद्ध संस्कृति र सभ्यताले उनलाई भाषाप्रति थप आकर्षित गर्यो ।
‘चिनियाँ भाषा सिक्न सजिलो छैन । त्यसमाथि मैले ढिलो गतिमा सिकेँ । त्यसकारण, समय धेरै लाग्यो । तर, सिक्न थालेपछि छोडिएन । निरन्तरता दिँदा बिस्तारै भए पनि सिकेको छु । भाषा सिक्न मुख्य कुरा निरन्तरता नै रहेछ ।’ सधैँ हाँसिरहे जस्तो देखिने हेलेनाले ख्वाइच (चिनियाँहरूले खाना खान प्रयोग गर्ने चप स्टिक) ले टेबुलमा घुम्दै गरेको तरकारी टिप्दै उनले भनिन् ।
कुरैकुरामा चीनका एक जना सिद्धहस्त कलाकारको प्रसङ्ग आयो । तिनी चिनियाँ कलाकार हिजोआज नब्बे वर्षका छन् । उनले सेवा निवृत्त भएपछि चिनियाँ शैलीको चित्रकला सिक्न थाले । चीनमा सेवा निवृत्त भएका ज्येष्ठ नागरिकहरूका लागि विशेष कलेजहरू हुन्छन् । ती कलेजहरूमा सेवा निवृत्त र अरु ज्येष्ठ नागरिकहरू गएर चित्रकला, विभिन्न विदेशी भाषा, ताइची, नाचगान, वाद्यवादन आदि रचनात्मक शिल्प सिक्छन् । ७० वर्षपछि चिनियाँ चित्रकला सिक्न थालेका ती कलाकार बीस वर्षको लगातारको साधनापछि अहिले एक जना सिद्धहस्त कलाकार बनेका छन् । सेवा निवृत्त भए पनि जीवनमा नवीन काम थाल्न सकिन्छ र त्यसमा सफल हुन सकिन्छ भन्ने एउटा उदाहरण हुन्, उनी ।
‘चित्रकारिताको जीवन त उनको लागि नयाँ जीवन जस्तै भयो’, चिनियाँ कलाकारको प्रसङ्गमा मैले भनेँ ।
सँगै बसेकी रुसी लेखिका इकातेरिनाले हेलेनातिर हेर्दै भनिन्, ‘तपाईँको लागि पनि चिनियाँ भाषाको यात्रा नवीन जीवन नै त भयो ।’
हेलेनाले सहमतिमा टाउको हल्लाउँदै खुसी व्यक्त गरिन् ।
Leave a Reply