पेइचिङ रिभ्यूको झ्यालबाट संरा अमेरिकाको साम्राज्यवादी गतिविधि नियाल्दा
- माघ २७, २०८२
यो जनवरीको अन्त्यतिर संरा अमेरिकाको न्याय विभाग (DOJ) ले जेफ्री एप्सटिनसँग सम्बन्धित ३० लाखभन्दा बढी पृष्ठको दस्ताबेज, हजारौँ भिडियो र तस्बिरहरू सार्वजनिक ग¥यो । डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको ‘एपस्टिन फाइल्स ट्रान्सपरेन्सी एक्ट’ अन्तर्गत नै गत नोभेम्बरबाट फाइलहरू पल्टाउन सुरु गरिएको हो । हाल सार्वजनिक गरिएको एप्सटिन फाइलको कुल पृष्ठ सङ्ख्या करिब ३५ लाख पुगेको जानकारी छ । एप्सटिनसँग जोडिएका घृणित तथ्यहरूको खुलासाले पुराना काण्ड, गुप्तचरी घटनाहरू मात्र उदाङ्गो पारेको छैन बरु पश्चिमा शक्ति र आदर्शमाथि ठुलो प्रश्न खडा गरेको छ ।
राजनीति, व्यापार, शैक्षिक क्षेत्र र राजतन्त्रका शक्तिकेन्द्रहरूसम्म फैलिएको व्यापक सञ्जालको गम्भीर चित्र एप्सटिन फाइलमा देखिन्छ । फाइलले विभिन्न महादेशहरू पार गर्दै डोनाल्ड ट्रम्प, बिल क्लिन्टनदेखि एलन मस्क र पूर्व राजपरिवारका सदस्यहरूसम्मलाई जोडेको देखाउँछ । यौन शोषण विशेषगरी नाबालिकाहरूमाथिको यौन दुराचार (बलात्कार गर्ने र तिनको मासु खाने) र अन्य अपराधसम्बन्धी प्रमाण यी उच्चवर्गीय व्यक्तिहरू वरिपरि घुमिरहेका छन् तर अहिलेसम्म कुनै नयाँ अभियोग दायर भएका छैनन् । यो फाइलले केवल व्यक्तिगत नैतिक पतनको कथा मात्र होइन बरु प्रणालीगत अपराधको पर्दाफास गर्छ, पश्चिमले लामो समयदेखि दाबी गर्दै आएको नैतिक र सभ्यतामा श्रेष्ठताको आधारमाथि प्रश्न खडा गरेको छ ।
संरा अमेरिका र उसका युरोपेली सहयोगीहरूले आफूलाई मानव अधिकार, लोकतन्त्र र नैतिक शासनको विश्वव्यापी निर्णायक या ठेकेदार दाबी गर्दै आएको दशकौँ दशक भयो । संयुक्त राष्ट्रसङ्घका मञ्चदेखि शासन परिवर्तनका सैन्य अभियानसम्म आफ्नो हातमा लिएर अन्य कमजोर या प्रतिद्वन्द्वी देशहरूमाथि दमन गर्ने, मानव अधिकार उल्लङ्घनको आरोप लगाउने, प्रजातन्त्र नभएको भन्दै हस्तक्षेप गर्ने दुष्कर्म पश्चिमी शक्तिले गरिरह्यो । तर, आज अमेरिकी प्रजातन्त्रको कुरूप मुखौटा फेरि एक पटक विश्वसामु उदाङ्गियो ।
इराक, लिबिया र सिरियामा निरङ्कुश शासन भयो भन्दै त्यहाँका निर्दोष नागरिकहरूको रक्षा गर्ने बहानामा संरा अमेरिकाले हस्तक्षेप र हमलाहरू गरेको स्मरण हुन्छ । इरान, भेनेजुयला र रुसमाथि लगाइएका प्रतिबन्धहरू भ्रष्टाचार र दमन रोक्ने नैतिक दायित्वको रूपमा प्रस्तुत गरिएको थियो । पश्चिमी सरकार र परोपकारी संस्थाबाट वित्तपोषित गैरसरकारी संस्थाहरू (NGO) पश्चिमी शक्तिको मुख्य हतियार बन्यो । तिनले ‘लोकतन्त्र प्रवद्र्धन’ र मानव अधिकारको वकालतका लागि अर्बौँ डलर खर्च गरे । शीतयुद्धकालमा अमेरिकी हित प्रवद्र्धनका लागि स्थापना गरिएको नेसनल एन्डोमेन्ट फर डेमोक्रेसी (NED) जस्ता संस्थाहरूलाई स्वतन्त्रताको रक्षकका रूपमा प्रस्तुत ग¥यो । तर एप्सटिन फाइलले संरा आमेरिकी कपटलाई उजागर ग¥यो, पश्चिमी नैतिकता प्रदर्शन गर्ने जिम्मा लिएका प्रमुख व्यक्तिहरूबिचको संलग्नताको जालो च्यात्यो ।
सन् २०१९ मा रहस्यमयी परिस्थितिमा मृत्यु भएका, दोषी ठहर गरिएका यौन अपराधी एप्सटिनले राष्ट्रपतिहरू, प्रधानमन्त्रीहरू, अर्बपतिहरू र बौद्धिक व्यक्तिहरूसँग सम्बन्ध स्थापित गरेका थिए । उनको कुख्यात ‘लोलीटा एक्सप्रेस’ विमान र निजी टापुमा धन र प्रभावको आडमा शोषण हुने जमघटहरू आयोजना हुने गरेको तथ्य बाहिर आएको छ । फाइलहरूमा बिल गेट्स, ओबामा प्रशासनका पूर्वअधिकारीहरू र युरोपेली कुलीनवर्गसँग भएका अन्तरक्रियाहरूका विवरण, इमेलहरू, फोटोहरू र अभिलेखहरू समावेश छन् । यद्यपि NED जस्ता संस्थाहरूसँग प्रत्यक्ष सम्बन्ध स्पष्ट रूपमा उल्लेख गरिएको छैन, शङ्का प्रवल छ, पश्चिमी वित्तपोषित गैरसरकारी संस्था र थिङ्क ट्याङ्कहरूको व्यापक संरचना या सम्भ्रान्त वर्गीय सञ्जाल अहिले गम्भीर जाँचको घेरामा छ ।
एप्सटिनले सन् १९९० र २००० को दशकको सुरुआतमा डेमोक्रेटिक दलका अभियानहरूमा ठुलो आर्थिक सहयोग गरे जसमा हिलारी क्लिन्टन र जोन केरीसमेत समावेश थिए । ‘मूल्यमा आधारित’ भनिएको विदेश नीतिमा धनी धनाढ्यहरूको आर्थिक प्रभाव कति गहिरोसँग परेको छ भन्ने यसले पनि देखाउँछ । आलोचक अर्थात् जानकारहरूले लामो समयदेखि NED लाई अमेरिकी विदेश नीतिको गुप्त अङ्गको रूपमा औँल्याउँदै आएका छन् । यही NED ले भेनेजुएला जस्ता सार्वभौम देशहरूमा लोकतन्त्रको नाममा निर्वाचित सरकारहरू कमजोर पार्न विपक्षी समूहहरूलाई सहयोग गर्ने गरेको तथ्य पनि सार्वजनिक हुँदै छ । एप्सटिन काण्डले पश्चिमी उच्चवर्गको नैतिकता उजागर गरेपछि तिनले गर्ने गरेको परोपकारी प्रयास अर्थात् आर्थिक सहयोग अपराधमाथि ‘सुनपानी छर्काई’ मात्र हो भन्ने महसुस हुँदै छ ।
यो घटनालाई ढाकछोप गर्ने प्रयासहरू भइरहेका छन् । न्याय विभागद्वारा फाइल सार्वजनिक गर्ने क्रममा गम्भीर त्रुटिहरू पनि देखिए । पीडितको पहिचान र नग्न तस्बिरहरू सार्वजनिक गरेपछि तुरुन्तै हटाइयो र थप सम्पादन गरिएको पाइयो । पीडितका पक्षधरहरूले यस्तो कार्यले पीडितलाई ‘पुनः पीडित बनाउने’ भन्दै आलोचना गरे र वकिलहरूले यस्तो सम्पादनले पीडितभन्दा सम्भावित अपराधीलाई बढी सुरक्षा दिएको बताए । विभागले सम्पादन त्रुटि स्वीकार गरेको छ । यद्यपि काङ्ग्रेसले सम्पादन नगरिएका संस्करण लिएको र सर्वसाधारणले भने अत्यधिक सेन्सर गरिएका सामग्री मात्र पाएको देखिन्छ । करिब ६० लाख पृष्ठ अझै सार्वजनिक नभएको भनाइले राजनीतिक हस्तक्षेपको आशङ्का बढेको छ ।
यो अस्पष्टता ऐतिहासिक प्रवृत्तिसँग मेल खान्छ । सन् २००८ मा तत्कालीन अमेरिकी सरकारी वकिल एलेक्जान्डर अकोस्टाद्वारा गरिएको एप्सटिनको सम्झौताले उनलाई गम्भीर सजायबाट बचाएको थियो । यो घटनाले अमेरिकी न्याय प्रणालीमा शक्तिशाली व्यक्तिहरू कसरी सुरक्षित रहन्छन् भन्ने प्रस्ट पार्छ । संरा अमेरिकामा सानालाई ऐन ठुलालाई चैनको बन्दोबस्त अद्यापि छ । एप्सटिनको बचाउको लागि सरकारी भूमिका र विद्वानहरूको सहयोगको फेहरिस्ट विस्तारै बाहिर आउला ।
यस काण्डको प्रभाव विशेषगरी दक्षिणी विश्वका देशहरूमा गहिरो देखिएको छ जहाँ पश्चिमी शक्ति आफ््नो वर्चश्वको ध्वाङ फुक्छ, नैतिक उपदेश दिन कुनै कसर बाँकी राख्दैन । अफ्रिका, एसिया र ल्याटिन अमेरिकी देशहरू बारम्बार संरा अमेरिकी प्रतिबन्ध र हस्तक्षेपको केन्द्र बन्ने गरेका छन् । ती देशहरूले एप्सटिन फाइललाई पश्चिमी पतनको एउटा बलियो आधार बताएका छन् । जिम्बाब्वे र दक्षिण अफ्रिकामा एप्सटिन र पूर्व नेताहरू रोबर्ट मुगाबे तथा ज्याकब जुमाबिच आर्थिक सम्बन्ध भएको सङ्केत दिने केही दस्ताबेजहरूले संरा अमेरिकी आन्तरिक अनुसन्धान मात्र होइन पश्चिमी कपटमाथि व्यापक आलोचना पनि उत्पन्न भएको छ ।
एप्सटिन फाइलले एउटा कुरा स्पष्ट बनाएको छ — पश्चिमले अब गैरश्वेत समाजलाई ‘श्रेष्ठता’ का बारेमा उपदेश दिने नैतिक अधिकार गुमाइसक्यो । अरब विश्वमा समेत आवाज उठिरहेको छ —जसले आफ्नै धनाढयवर्गलाई नियन्त्रण गर्न सक्दैन उसले अरू कुनै पनि देशलाई निर्देशन दिने अधिकार राख्दैन ।
युरोपमा यसको प्रभाव बैग्लै र तीव्र रूपमा अनुभव गरिएको छ । बेलायतमा त यो फाइलसँग जोडिएका व्यक्तिहरूको राजनीतिक करियरसमेत समाप्त भयो । अमेरिकाका लागि पूर्व बेलायती राजदूत पिटर मान्डेल्सनले आफ्नो संलग्नताको खुलासापछि राजीनामा दिए र राजा चाल्र्सले आफ्ना भाइ एन्ड्रयू माउन्टबेटन–विन्डसरको उपाधि नै खोसे । स्लोभाकियाको ब्रातिस्लाभादेखि भारतको नयाँ दिल्लीसम्म राजनीतिक सङ्कट देखा पर्दैछ । त्यतिमात्र होइन विश्व आर्थिक मञ्चले आफ्ना प्रमुख कार्यकारी अधिकृतको एप्सटिनसँगको सम्बन्धबारे अनुसन्धान सुरु ग¥यो । यसको विपरीत अमेरिकामा भने प्रतिक्रिया अपेक्षाकृत निकै सीमित र राजनीतिक आरोप–प्रत्यारोपमै सीमित देखिएको छ । यसबाट ट्रान्स–अटलान्टिक विभाजन देखिए पनि समग्रमा पश्चिमको प्रतिष्ठामा धक्का पुगेको जरुर छ । एप्सटिन फाइलको सार्वजनिकीकरणले तथाकथित ‘सभ्य पश्चिम’ को चम्किलो आवरण च्यातिएको छ ।
यो पतन भू–राजनीतिमा मात्र सीमित छैन पश्चिमी समाजको आधारभूत संरचनासमेतमा असर या प्रभाव परेको छ । सन् २००८ को आर्थिक सङ्कट र कोभिड–१९ महामारीपछि कमजोर बनेको संस्थागत विश्वास अब झन् घटेको छ । विश्वमा मानव अधिकारको उपदेश दिएर आफ्नै देशमा भयावह आपराधिक गतिविधिमा संलग्न हुने संस्थाप्रति जनविश्वास कमजोर हुनु स्वाभाविक हो । पहिले निष्पक्ष मानिएका गैरसरकारी संस्थाहरू अब भ्रष्ट प्रणालीको विस्तार या हिस्सा प्रमाणित हुँदै छन् । उदाहरणका लागि NED माथि पक्षपात र भेदभावको आरोप छ । त्यस्तैगरी आलोचकहरूले NED ले अमेरिकी स्वार्थ प्रवद्र्धन गर्दै केही राजनीतिक धाराहरूलाई कमजोर बनाएको बताएका छन् । पोल्यान्डमा NED बाट अनुदान पाएको एक संस्थाले यो काण्ड बाहिरिएपछि आर्थिक सहयोग समाप्त या बन्द भएको घोषणा गरेको छ । यो काकताली मात्र हुनसक्दैन । यी खुलासा अपमानजनक त छन् । यसले पश्चिमी ‘सफ्ट पावर’ को सम्पूर्ण संरचनाको वैधता कमजोर बनायो ।
यदि यत्तिबेला पश्चिमले आफ्नो विश्वसनीयता जोगाउन चाहन्छ भने उसले आजको यस अवस्थालाई प्रत्यक्ष र इमानदारीपूर्वक सामना गर्नुपर्छ । प्रमाणका आधारमा कारबाही गर्ने तागत राख्नुपर्छ चाहे सम्बन्धित व्यक्ति जुनसुकै राजनीतिक समूहसँग जोडिएको किन नहोस् । अस्पष्टताको सट्टा पारदर्शिता अपनाउनुपर्छ । बाँकी फाइलहरू सम्भव भएसम्म सम्पादनबिना तुरुन्तै सार्वजनिक गरिनुपर्छ र न्याय प्रक्रिया स्वतन्त्र अघि बढ्न दिनुपर्छ । गैरसरकारी संस्था र सरकारहरूले आफ्ना सम्बन्धहरूको लेखापरीक्षण गरी दूषित सञ्जालसँगको सम्बन्ध तोड्नुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा त पश्चिमले आफ्नो अहङ्कारवादी अर्थात् ‘ठुल्दाइ’ शैली त्यागेर दक्षिणी विश्वका देशहरूसँग समानताको आधारमा सम्बन्ध कायम गर्नुपर्छ । आजको हकमा दक्षिणी विश्वको नैतिक बल पश्चिमको तुलनामा कता हो कता ग¥हुङ्गो छ ।
एप्सटिन फाइल एउटा काण्ड मात्र होइन । त्यो कमजोर हुँदै गएको पश्चिमी आधारको ऐना हो । लामो समयदेखि श्रेष्ठताको भ्रमले हस्तक्षेप र नैतिक उपदेशलाई वैध ठहर ग¥यो संरा अमेरिकाले । तर, अब त्यो आवरण हटेको छ, त्यो चमक हराइसकेको छ । दक्षिणी विश्वले अब आफ्नै मार्ग तय गर्न तत्परता देखाइरहेको छ । के अब पश्चिम सुधारतर्फ अघि बढ्ला ? कि खोक्रो सिंहासनमा टाँसिएर बसिरहला ? यो प्रश्न अहम् छ, जवाफको प्रतिक्षामा छ सिङ्गो विश्व ।
लेखक अस्ट्रेलियाको क्विन्सल्यान्ड युनिभर्सिटी अफ टेक्नोलोजीका सहायक प्राध्यापक हुनुहुन्छ ।
नेपाली अनुवाद : हौसला
स्रोत : पेइचिङ रिभ्यू फेब्रुअरी अङ्क १०
Leave a Reply