पुँजीवादी व्यवस्थामा आमूल परिवर्तन असम्भव
- असार ९, २०८३
कुनै पनि सरकार विदेशीको भरमा टिक्न सक्दैन बरू आफ्नै देशको आधारमा चल्ने सरकारहरू तुलनात्मकरूपले स्थिर रहेको हाम्रै देशको अनुभव हो । प्रजातन्त्रको पुनःस्थापना र गणतन्त्रदेखि २०८२ भदौको दोस्रो हप्तासम्मका सरकार र पञ्चायतकालीन सरकारहरूको अस्थिरताबारे अध्ययन गर्दा नेपालको शासनमा जाने राजनीतिक दलहरू जानेर वा नजानेर विदेशीहरूकै कारण अस्थिर भएको साबित हुन्छ । कतिपय मन्त्री हुनेहरू आफैलाई थाहा छैन आफूलाई कसले मन्त्री हुन सिफारिस गरेका हुन् ! २०८२ भदौको चौथो हप्तापछि मात्रै नेपाली जनता र नेपालको प्रजातन्त्रका वास्तुकलाविद्हरू कुन देशका व्यक्तिहरू थिए ? नेपाली जनतालाई थाहा छैन । नेपालको कम्युनिस्ट आन्दोलनमा ‘कम्युनिस्ट’ नामका सबै पार्टी र ‘समाजवादी’ नामका सबै दलहरू झूटा साबित भए । अहिले प्रस्ट देखिएका दुई शक्ति संरा अमेरिकाको ट्रम्प प्रशासन र भारतको मोदी सरकार कसरी चल्दै छ भन्ने प्रस्ट हुन्छ । साँच्चै वर्तमान अमेरिकी राष्ट्रपतिलाई ‘तानाशाही’ र मोदीलाई ‘सशक्त’ र ‘स्वतन्त्र शासक’ हो भनी मानेमा त्यो अड्कल र समझदारी फितलो तर्कमा आधारित भएको साबित हुनेछ ।
विदेशका राष्ट्रपति वा प्रधानमन्त्रीहरूलाई अमेरिकी राष्ट्रपति ट्रम्पले गर्ने व्यवहार र क्यानाडा, युक्रेन, ग्रीनल्यान्ड र डेनमार्कका प्रधानमन्त्री वा जिम्मेवार शासकहरूलाई ट्रम्पले गर्ने भाषा र व्यवहारलाई सामान्य राजनीतिक सदाचारको कसीमा जाँचेर हेरेमा ट्रम्पलाई स्वस्थ व्यक्ति भन्न सकिन्न वा उनको लुगाभित्र अर्कै पोशाक लगाएका तानाशाही व्यक्तित्व कल्पना गर्न पाठकहरू बाध्य हुनेछन् ।
यसको एउटा कसी हो – वर्तमान नेपालका प्रधानमन्त्री सुशीला कार्कीलाई सत्तामा ल्याउँदाका अस्पष्टता र अलमलका दृश्यहरूले प्रस्ट पार्छ र नेपालको स्वतन्त्रता र सार्वभौमिकता कति कमजोर भइरहेको छ भन्ने तस्बिर छर्लङ्ग हुन्छ । यसकारण, पदमा बस्नेहरू निर्वाचनमा विजय प्राप्त गरेका हुन् वा कतै आफूहरू कुनै मन्दिरमा चढाउन भाकल गरेका वाहन वा बलिका बोका हुन् ?¤ राणा कालमा ‘श्री ३ हरू बग्गीमा बसेर सवारी हुँदा’ नयाँ नयाँ मोहर र रुपैयाँ दर्शकहरूको दायाँ र बायाँ लहरमा छर्थे र केटाकेटीहरू आपसमा लुछाचुँडी गर्थे । ३०–४० वर्षपहिले पश्चिमेली पर्यटकहरू बजार र मन्दिरमा केही पैसा फाल्थे वा छर्थे, अनि पैसा टिप्न केटाहरू आपसमा लछारपछार गरेका दृश्यहरू क्यामरामा कैद गर्थे । नेपालका शासक दलहरू त्यसरी नै सरकारमा जान लुछाचुँडी गर्थे र नेपालको राजनीतिक स्थितिबारे वाशिङटन र दिल्लीबाट आकलन गरिरहेका हुन्थे सम्बन्धित व्यक्तिहरू !
आजको नेपालको राजनीतिक स्थिति र राजनीतिक स्तरबारे अस्तिको संसदीय निर्वाचनको परिणाम नौलो र सुध्रिएको भाषामा समाचारपत्रहरूका शीर्षकहरूबाट थाहा हुन्छ –
‘आमाको आदर्श !’ ‘जाँदाजाँदै नराम्ररी चुक्नुभयो प्रधानमन्त्री कार्की ।’
(नेपाल समाचारपत्र – २ चैत, २०८२)
‘बालेन रास्वपामा सर्वसम्मत संसदीय दलको नेता बन्दै, लगत्तै प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी ।”
‘आफ्नो हात जगन्नाथ, प्रमुख स्वकीय सचिवलाई कोषको जिम्मा ।’
‘बेस्ट पर्फमेन्स’ दिने मन्त्रिपरिषद् गठनको गृहकार्य ।’
(अन्नपूर्ण पोस्ट, २ चैत २०८२)
जाँदाजाँदै अन्तरिम सरकारबाट अख्तियारको चरम दुरूपयोग’, ‘आफ्नै सिफारिसमा भावी गृहमन्त्रीको लक्ष्यसहित राष्ट्रियसभामा अर्याल ।’
(राजधानी, २ चैत २०८२)
सरकारबाट बाहिर पाइला राख्नुभन्दा पहिले नै व्यक्ति व्यक्तिको चीरहरण गर्छन् ज–जसले व्यक्तिलाई काँधमा बोकेर थुक्ने क्षेत्रमा राख्ने गर्छन् ।
‘काङ्ग्रेस समानुपातिकमा सभापतिका ज्वाइँदेखि पूर्वराष्ट्रपतिका छोरासम्म ।’ शासक दल र नेताहरूको मानसिकतामा परिवर्तन आएन ।
‘जेन–जी आयोग प्रतिवेदन’, ‘सुरक्षा अङ्गलाई कमजोर पार्ने षड्यन्त्र ।’
(नागरिक दैनिक, २ चैत २०८२)
२००७ सालदेखि नै नेपाल विदेशीहरूकै तमासा हेर्ने खेलमैदान हुँदै छ । बुद्धिजीवीहरू मौन बस्ने यो समय होइन, नत्र देशमा एकपछि अर्को दुर्भाग्य निम्तिने छ ।
Leave a Reply