भर्खरै :

सार्थकताको सारथी, मादल

सार्थकताको सारथी, मादल

मादल,
तिमीले आफ्नो गालामा परेको चड्कनलाई नै
कर्णप्रिय तालमा ढाल्नुलाई आफ्नो जिम्मेवारी मान्यौ
आफूमाथि आइपरेको दबाब र प्रहारलाई नै
जागरणको कम्पनमा प्रस्फुटित हुने प्रेरणा ठान्यौ
टोल गाउँघरमा स्वाभिमान, मौलिकताको सन्देश घन्काउँदै
दुनियाँ खुसीले नाचेको देखेर आफ्नो थकान सबै भुल्यौ

आफ्नो लागि तिमीले कहिल्यै केही जोहो गरेनौ
आफ्नो योगदान र तपस्याको कुनै मूल्य मागेनौ
ठुला र बाठाहरूका अगाडि लम्पसार पर्न जानेनौ
निमुखा निर्धाहरूको अभिव्यक्तिको माध्यम बन्न छाडेनौ

तिमी इमानदारिता र निर्भिकताको नक्षत्र हौ
तिमी परनिर्भरता र दलालीको विपरीत ध्रुव हौ
निःस्वार्थ सेवा र समर्पणको सम्पदा हौ
नैतिकतता र सदाचारको धरोहर हौ

दिनरात घामपानी नभनी निःस्वार्थपूर्वक खटिएर
जनताको दुःखसुखमा अटुट साथ निभाएर
जनसंस्कृतिको अभिन्न अङ्ग बनिसक्यौ
मन–मनमा कहिल्यै नमेटिने छाप छोडिसक्यौ

नयाँ तडकभडक र कोलाहलका बिच
तिम्रो घन्काइ केही दबिएको भान हुनसक्छ
निहित स्वार्थ पूरा गर्न नपाएकाहरूको कानमा
तिम्रो सिद्धि पुरानो र तानाशाही सुनिन सक्छ

तर, तिमी सदाझैँ सार्थकताको सारथी बनिरहनु
जनताको हृदयको धड्कन बनी सर्वत्र गुन्जिरहनु
तिम्रो इतिहास कसैले मेट्न चाहेर मेटिँदैन
तिम्रो आन्दोलन कसैले छेक्न खोजेर छेकिँदैन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *