भर्खरै :

उल्टो गङ्गा

  • चैत्र ६, २०८२
  • सत्य सुवाल (व्यङ्ग्य कविता)
  • साहित्य
उल्टो गङ्गा

अचम्मको सहर छ यो, अचम्मकै छन् यहाँका कुरा,
भान्छामा आगो बल्दैन, तर भाषणमा छन् सपनाका पोका ।

सुनको भाउ घटोस् रे यसरी, कि गल्लीमा कराउनु परोस्,
तरकारी जस्तै डोकोमा बोकी, घर–दैलो चहार्नु परोस् ।

कल्पना त मीठो हो, तर यथार्थ अलि टर्रो छ,
बजारमा सामान त टन्नै छ, तर जनताको खल्ती रित्तो छ ।

किसानको पसिना सडकमा पोखिन्छ, मूल्य नपाएर,
व्यापारी भने मोटाउँछन् सधैँ, बिचौलिया बनेर ।

सहकारीमा बचत डुब्यो, बैङ्कको ब्याजले ढाड सेक्यो,
गरिबको चुल्हो निभ्दा पनि, कसले यहाँ पीडा देख्यो ?

रेमिट्यान्सको लौरो टेकेर, कतिञ्जेल यो देश उभिन्छ ?
युवा शक्ति विदेश पठाएर, यहाँ कसको भविष्य
बुनिन्छ ?

कागजमा अर्थतन्त्र सप्रियो भन्छन्, तथ्याङ्कको खेलमा,
तर सर्वसाधारण पिल्सिएका छन्, अभावकै झेलमा ।

महँगीले आकाश छुन्छ, आम्दानी भने पातालमा,
हुनेलाई त स्वर्गै छ यहाँ, नहुनेलाई सधैँ सकसकै जालमा ।

सुन त विलासिता हो हजुर, यहाँ त नुनकै चिन्ता छ,
गरिबको थाप्लोमा सधैँ, विदेशी ऋणकै किस्ता छ ।

यस्तै हो भने भोलि, सामान त के मान्छे नै सस्तो होला,
आफ्नै माटोमा भविष्य नदेखी, युवाको लस्कर फेरि विदेशै मोडिइरला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *