नक्कली सत्यको ऋण
- चैत्र २७, २०८२
फरक टोलका परिचित दुईजना युवा साथी आफ्ना छोराछोरीलाई विद्यालय पु¥याउन सँगै जाँदै थिए । बाटोमा दुवै साथी आफ्ना छोराछोरीको पढाइ र संस्कारका बारेमा छलफल गर्दै गइरहेका थिए । पढाइ र संस्कारको कुरा आउनासाथ एक युवा साथीले भने, “मेरा छोराछोरीले त विद्यालयबाट राम्रो पढाइ र संस्कार सिकेर आएका रहेछन् । उनीहरू सबेरै उठ्छन् । आफ्नो कोठा, घर र आँगन सफा गर्छन् । हामीलाई सम्मानका साथ चिया दिएर पढ्न कोठातिर जान्छन् । एक दुइटा पत्रपत्रिका, पुस्तक पढ्ने बानी भएकाले उनीहरू त्यसका बारेमा जिज्ञासा राख्छन् । कहिलेकाहीँ आमालाई भान्छामा सघाउँछन् । छिमेक र बाटामा गरिब, बिरामी, अशक्त ज्येष्ठ नागरिकलाई सघाउने गर्दछन् ।”
अर्का युवा साथीले साथीका सन्तानका पढाइ र संस्कारप्रति गर्व गर्दै भने, “यो भनेको तेल के हेर्नु तेलको धारा हेर्नु, छोरा के हेर्नु छोराको सङ्गत हेर्नु भनेझैँ हाम्रो घरको संस्कार, विद्यालयका शिक्षक–शिक्षकाहरूको निःस्वार्थ सोच, संस्कार र देशभक्ति आचरणमा भर पर्छ । मलाई त एउटा विद्यालयले यस्तै सोच र भावनाअनुसार टोलका ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्दै छन् भन्ने कुरा सुन्दा खुसी लाग्यो । भोलि हामी पनि ज्येष्ठ नागरिक हुनेछौँ । यसलाई अरु विद्यालय, स्थानीय पालिकाले पनि अनुशरण गरे समाज र देशको सेवा हुनेछ । कुरा सुन्नु बुढाको आगो टाप्नु मुढाको भन्ने उखान नै छ । उहाँहरूको जीवनमा आर्जेको सोच, विचार, सीप, अनुभवअनुसार युवाहरूले देशको कला, संस्कृति, सम्पदाको संरक्षण र निर्माण, शिक्षा, स्वास्थ्य, सरसफाइ, कृषि, उद्योग, यातायात आदिको विकास गरेका छन् । त्यसैले, उहाँहरू जिउँदा देवता हुन् । उहाँहरूको अनुभव र योगदानलाई पुस्तकको रूप दिनसके उहाँहरूलाई पुजेको सरह हुनेछ ।
लौ साथी विद्यालय पनि पुग्यौँ । छोराछोरीलाई विद्यालयको जिम्मा लगाएर जानुप¥यो । हामी पनि समयमै काममा पुग्नुपर्छ भन्दै उनीहरू आ–आफ्नो कर्मस्थलतिर लागे ।
Leave a Reply