भर्खरै :

एल्गोरिदम

एल्गोरिदम

लघु कथा

शुक्रबारको दिन फरक विद्यालयका तीनजना शिक्षक साथीहरू दीपक, रमेश र विनोद साँझ एउटा चिया पसलमा चिया खान बसे । साहुजीसँग चिया अर्डर गरेपछि शिक्षक दीपकले आफूलाई थकाई लागेको अनुभव साथीहरूलाई सुनाए – विद्यालयमा बिहानदेखि खट्नुपर्दा थकाइको अनुभव गर्दै छु । त्यसरी मेहनत गरेन भने विद्यालय नबन्ने भयो । फेरि विद्यार्थीहरू पनि धेरै छन् । तर, सबै शिक्षक, कर्मचारी साथीहरूले पनि समयमा आएर बढी समय दिएर साथ र सहयोग दिएको हुँदा विद्यालय राम्रो भएको छ । यो गर्वको अनुभूतिले थकाइलाई माथ गथ्र्याे ।
अर्का साथी रमेशले दीपक सरको विद्यालय बनाउन गरेको मेहनत र योगदानलाई समर्थन र सम्मान गर्दै भने, “हामीले समाजको लागि दिएको निःस्वार्थ योगदान कहिल्यै खेर जाँदैन । यसले देशकै सेवा हुने हो । यो हामी शिक्षकको कर्तव्य पनि हो । त्यसैले भक्तपुर ज्ञान विज्ञानको केन्द्र बन्दै छ ।”
चियाको चुस्की लिँदै फेरि उनले थपे, “ए, साँच्चै यसपालिको प्रतिनिधिसभाको चुनावमा घण्टीले झन्डै दुईतिहाइ सांसद जित्यो । उनीहरू राजनीतिमा भर्खर आएका दल हुन् । जनताको माझ आएर सभा र बैठक गरेर जनतालाई सचेत पारेर भोट माग्न आएका कतै देखिँदैनन् । त्यसका उम्मेदवारहरूलाई स्थानीय जनताले पनि चिन्दैनन् । मलाई त अचम्म लाग्यो ।
दुवै शिक्षक साथीको विचार र अनुभव सुनेपछि साथी विनोदले भने, अहिले तपाईँहरूले चर्चामा आएको ‘एल्गोरिदम’ भन्ने शब्द सुन्नुभएकै होला । यो प्रविधिले मोबाइल प्रयोगकर्ता बालबच्चा, युवा, विद्यार्थी सबैलाई मोबाइलले आफू स्वतन्त्र भएको जस्तो वा आफूले मोबाइललाई चलाएको जस्तो अनुभव हुने तर मोबाइलले आफूलाई चलाइरहेको चाल पाउँदैन । मोबाइल खोल्नासाथ मोबाइल चलाउने मानिसको सोच, मनोविज्ञानअनुसार फोटो, भिडियो क्लिपहरू बारम्बार आउँछन् । घण्टीले यो प्रविधिको प्रयोग गरेर जितेको हो । यसको लागि पर्दा पछाडिबाट अमेरिका र भारतले सहयोग गरेको बाहिर आयो । घण्टीमा भोट हाल्न विदेश बसेका नेपालीमार्फत पनि परिवारलाई दबाब दिन लगाएको समाचार आयो ।
ए, यो त साम्राज्यवादी र विस्तारवादीहरूको खतरनाक चाल र हतियार रहेछ । हामी सबै सचेत हुनुपर्छ र हाम्रा विद्यार्थीहरूलाई पनि सचेत पार्नुपर्छ । थकाइ पनि मेटियो भन्दै चियाको पैसा लिएर सबै घर गए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *