म भैल खः हुँ
- बैशाख ४, २०८३
भक्तपुरको बिस्केट (बिस्का) जात्रा नजिक आएको हुँदा एउटै टोलका ज्येष्ठ नागरिक (बाजे) हरू भक्तपुरको टौमढीमा बन्दै गरेको भैरवको रथ हेर्दै थिए । उनीहरू भैरव मन्दिर अगाडिको फराकिलो दबुमा बसे । त्यसमध्ये एक बाजेले भने, “ल, रथ पनि तयार हुँदै छ ।” भैरवको बन्दै गरेको रथ, पाँचतले मन्दिर र भैरवको मन्दिरलाई हेरेर निधार खुम्च्याउँदै गीत गाउन थाले, ‘थथिँ जःगु रस, गुबलेसँ नँ दईमखु । राम हा ! (यस्तो रस, रमाइलो कहिले पनि, हुँदैन राम…. ) त्यो गीतले हरेक वर्ष बिस्केट जात्रामा रमाउने दुईजना युवा साथी गणेश र अर्जुनलाई त्यतैतिर तान्यो । उनीहरू पनि बाजेहरूसँगै बस्न गए ।
ती युवा साथीले हात जोडेर उहाँहरूलाई नमस्कार गरे । गणेशले गीतको प्रशंसा गर्दै आफ्नो रमाइलो अनुभव सुनाए – “आहा ! हजुरको गीतले हाम्रो मन नै छोयो; आनन्द भयो । यो हाम्रो रस र उमङ्गले भरिएको विश्वमै दुर्लभ रमाइलो जात्रा हो, होइन बाजे ? पोहर त भैरवको रथ मच्चिएजस्तै मेरो मन अनि तन पनि मच्चियो, जुरुक्क जुरुक्क उफ्रियो । आहा ! कति मन चङ्गा, कति आनन्द अनि कति रमाइलो बयान गर्नै गा¥हो । तर, यस्तो रमाइलो जात्रामा त्यो राम्रो, चिटिक्क परेको रथ नै छोपिने गरी मान्छे बसेको र चमेरोजस्तो झुण्डिएको मलाई पटक्कै मन परेन । रथ जबरजस्ती तानेर बिगार्ने, बाटो वरपरको हाम्रा अग्रज पुर्खाहरूले आफ्नै खुट्टामा उभेर बनाएको सम्पदा मन्दिर, पार्टी, धारा आदि बिगारेको पनि सही नसक्नु छ ।”
गणेशको अनुभव र विचारलाई समर्थन गर्दै अर्काे बाजेले भने, “हो बाबु, के गर्नु ¤ हाम्रो पालामा त्यस्तो जबरजस्ती काम हुँदैन । बेताल भैरवले त्यस्तो पापी (मूर्ख) काम गर्ने मान्छेलाई राति सपनामा लखेट्न आउँछ भन्छन् । आज अनुशासन, मान, सम्मान, आदर भन्ने नै हराउन लागेजस्तो छ । बाबुहरू जस्तो सबै ज्ञानी युवाहरू मिलेर जात्रालाई राम्रो र सभ्य तरिकाले मनाउनुपर्छ । अहिले त हाम्रो यो रमाइलो जात्राको माहुरीजस्तो भुनभुनाएर उड्ने यन्त्रले सबै खिचेर संसारमा पठाउँछ भन्छन् । त्यसमा पनि अरु गाउँ–ठाउँका दाजु भाइ तथा दिदी बहिनीहरू, विदेशी पाहुनाहरू पनि थुपै्र हेर्न आएका हुन्छन् । यो हाम्रो देशको गौरव हो । बाबुहरू ! हामी सबै मिलेर जात्रालाई रमाइलो सभ्य तरिकाले मनाऔँ ।” हस् भन्दै उनीहरू सबै घर गए ।
Leave a Reply