म भैल खः हुँ
- बैशाख ४, २०८३
दसैँको उल्लासले गाउँ ढपक्कै छोपेको थियो । जमराको बास्ना र रातो टीकाको खुशियालीबिच एउटा घरमा भने रूवाबासी चलिरहेको थियो । छिमेककी बुहारी सुत्केरी व्यथाले छटपटाइरहेकी थिइन् । गाउँमा न सार्वजनिक यातायातको सुविधा थियो न त अहिलेजस्तो एम्बुलेन्स नै ।
सहरबाट दसैँ मान्न आएका सञ्जय टीका थापेर काठमाडौँ फर्कने तरखरमा थिए । उनको गाडी घरअगाडि स्टार्ट भइरहेको देखेपछि छिमेकीहरू दौडिँदै आए र बिन्ती गरे, “बाबु, बुहारीको ज्यान जोखिममा छ । ‘सप्रे सुत्केरी, बिग्रे काल’ भन्छन्, यो बेला अस्पताल पु¥याउन ढिलो भयो भने अनर्थ हुन्छ । लौ न सघाइदेऊ !”
सञ्जयको मन पग्लियो । उनले तुरून्तै भने, “हुन्छ, छिटो लिएर आउनुस्, म पु¥याइदिन्छु ।”
सञ्जयले गाडीको ढोका खोल्न मात्रै के लागेका थिए, उनकी श्रीमती सुनिता आफ्नो पाल्तु कुकुरलाई खोला किनारमा हगाएर फर्किइन् ।
प्रशव व्यथाले छटपटाइरहेकी महिलालाई देख्नेबित्तिकै उनको अनुहार खुम्चियो । “सञ्जय, यो के हुँदै छ ? यी मान्छेहरूलाई गाडीमा चढाउन मिल्दैन ।” सुनिताले कडा स्वरमा भनिन् ।
सञ्जय अवाक भए । “सुनिता, तिमी के भन्दै छौ ? बिचरीको अवस्था गम्भीर छ, अस्पताल पु¥याउनु हाम्रो धर्म हो ।”
छिमेकीहरूले पनि हात जोडेर बिन्ती गरे, “बहिनी, तपाईंंं पनि त एउटी नारी हो, अर्की नारीको प्रशव वेदना बुझिदिनुस् । यति ठुलो गाडी छ, अलिकति ठाउँ दिँदा दुईवटा ज्यान जोगिन्छ ।”
तर, सुनिताको पत्थरको मन अलिकति पनि पग्लिएन । उनले कुकुरलाई काखमा च्याप्दै अहङ्कारका साथ भनिन्, “ज्यान जोगिने कुरा मलाई थाहा छैन । मेरो कुकुरलाई गाडीमा अरू मान्छे कोचिएको मन पर्दैन । मान्छे चढाउँदा मेरो ‘टमी’लाई डिस्टर्ब हुन्छ, ऊ डराउँछ । आफ्नो कुकुरलाई तनाव दिएर अर्काको ज्यान जोगाउनु छैन मलाई ।”
मान्छेको ज्यानभन्दा एउटा जनावरको सुविधा ठुलो देख्ने सुनिताको जिद्दी अगाडि कसैको केही लागेन । उनले निर्दयी बन्दै गाडीको सिसा बन्द गरिन् र सञ्जयलाई गाडी हाँक्न दबाब दिइन् । गाडीको धुलो उडाउँदै उनीहरू हुइँकिए ।
पछाडि, अस्पताल जान नपाएकी ती सुत्केरीको छटपटी र गाउँलेहरूको आँखामा भरिएको आक्रोशले एउटै प्रश्न सोधिरहेको थियो – “के आधुनिकताको नाममा मान्छेको संवेदना यतिसम्म गिर्न सक्छ, जहाँ एउटा कुकुरको सुविधाका लागि मान्छेलाई कालको मुखमा छोडिन्छ ?”
Leave a Reply