भर्खरै :

सहकारी रकमले उद्योगधन्दाको बन्दोबस्त गरे रोजगारी र रकमको पनि उपयोग हुन्थ्यो

सहकारी रकमले उद्योगधन्दाको बन्दोबस्त गरे रोजगारी र रकमको पनि उपयोग हुन्थ्यो

सङ्गठन र दलका कार्यालयहरूका सचिव बनाउँदा आफ्ना नाता–गोता, भाइ–भतिजा, साला र सालीहरू राख्ने होइन बरु जनता र देशको सेवा गर्ने भावना भएका राख्नुपर्छ । त्यसको लागि त्यही भावनाको कक्षा सञ्चालन गरी शिक्षित वा दीक्षित बनाउनु आवश्यक छ । यो लामो अनुभवको सार हो ।
नत्र, त्यसरी दीक्षित नभएका युवाहरूले त्यो पदलाई जागिर वा नोकरीको रूपमा लिनेछन् । अनि त्यस्ता युवाहरूले तयार पारेका ‘कार्यकर्ता’ एक–दुई वर्षभित्रै ‘मण्डलेहरू’ जस्तै विरोधी सङ्गठन र दलहरूसँग अनावश्यक झगडामा लागी आफ्नो संस्था र दलबाट ‘खर्च’ माग्ने बानी बसाल्ने छन् र २–४ वर्षमै त्यस्ता ‘कार्यकर्ता’ हरू सच्चा देशभक्त र दलका योग्य सिद्धान्तनिष्ठ र सदाचारयुक्त असल नागरिक बन्ने छैन बरु ‘गुन्डा’ बन्ने निश्चित छ ।
राणाविरोधी सङ्घर्ष गरेका गाउँ र सहरका पुराना युवाहरू भावनामा लागेर ‘कानुनीराज जिन्दावाद’ भन्दै सत्याग्रहमा लागे, २–४ वर्ष जेल बसेर लामा लामा कपाल पालेर जेलबाट छुटे । तर, जिम्मेवार सङ्गठनका साथीहरू सचेत नभएर वा परिस्थितिले नदिएर यथोचित तालिम नपाउँदा आखिर जेलबाट छुटेका ती व्यक्तिहरू घरका पनि भएनन्† जनताका सेवाका पनि भएनन् बरु झगडामा हात हालेर पैसा खाने, प्रहरी र चोरको बिचमा पैसा असुल्ने र जुवा खेल्ने ठाउँमा पालो बस्ने आदि भएर बिग्रेका छन् । राजनीतिक कार्यकर्ताका भाइहरूलाई गाउँ र टोलका नागरिकहरूले ‘राजनीतिमा नलाग्नू नत्र तिमीहरूको गति त्यस्तै हुन्छ’ भनी ती व्यक्तिलाई देखाएर खबरदारी गरे ।
अफसोच, २००७ सालको राणा शाही ढले पनि हिजो राणाविरोधी दलहरूलाई शत्रुहरूले आपसमा भिडाए, सबै दलहरू टुक्रा टुक्रा भए र पालैपालो सरकारमा गएर ‘पत्रु’ भए । किन सरकारमा गएर के गर्ने हो भन्ने कुनै योजना र मेसो थिएन । मन्त्री र नेताहरूकहाँ कार्यकर्ताहरू जान्थे, स्कूल जीवन र कलेज वा विश्वविद्यालयको जीवन नहुँदा कर्मचारी, शिक्षक वा अन्य बौद्धिक कार्यको निम्ति समेत त्यस्ता कार्यकर्ताहरू भर्ती गरिन्थ्यो । वास्तवमा कार्यकर्ताले उसको योग्यता र सीपअनुसारको काम गर्नुपर्ने हो । तर, नेता र मन्त्रीसँग पनि त्यो सोच र योजना नहुँदा २–४ महिना वा एक वर्षमा सरकार बदलिँदा समस्या हुन्थ्यो । हिजोको मन्त्रीको ठाउँमा अर्कै पार्टीको मन्त्री बन्थे । पुराना मन्त्रीका दलका राम्रा कार्यकर्ताहरू सबै रिसाउनु स्वाभाविक हो – सबै बन्दोबस्त नहुँदा वा तालिम प्राप्त नहुँदा ‘सबै मन्त्री चोर हुन् र सबै नेता चोर हुन्’ भन्ने कार्यकर्ताको मनमा प¥यो ।
यो समस्या नेपालको मात्रै होइन, स्वतन्त्रता प्राप्त गरेको भारतजस्तो देशमा पनि सबै जस्तो बिचका नेताहरू बदनाम भए र निराश भए । दसौँ र बीसौँ वर्ष कारावासमा बसेका र ज्यान सजायबाट जोगिएका कार्यकर्ताहरू जेलबाट छुट्दा आफूभन्दा कान्छा सबै साथीभाइहरूले एउटा काम गरिसकेको र बिहावारी सकी बालबच्चा पालन गरी बसेका हुन्थे । जेलबाट छुटेर घर फर्कने बेलामा परिवार मुश्किलले घर धानिरहेको हुन्थ्यो । जेलबाट छुटेर आएका व्यक्ति देशभक्त भए पनि दाजु र काकाहरूलाई बोझ पर्छ । तर, कार्यकर्ताहरूलाई थाहा थिएन, गान्धीजी, नेहरू र आजको मोदीको सरकार पुँजीवादी सरकार हुन्† ती नेताहरू पुँजीपतिवर्गका हिमायती र पक्षपाती हुन्† गरिबहरूलाई हेर्ने र उद्धार गर्ने आँखा र अक्कल हुँदैनन् ।
भारत स्वतन्त्र भएको ७०–७५ भन्दा बढी वर्ष भयो । भारतको जनसङ्ख्या १ अर्ब ४५ करोडभन्दा बढी छ । तर, त्यहाँ आधा भारतीय जनता एक छाकमात्रै खान पाउँछन् । वर्षको भोकभोकै लाखौँ जनता मर्छन्, लाखौँ किसानले ऋण तिर्न नसकेर, छोरीको विवाह गर्न नसकेर आत्महत्या गर्छन् । वर्षको करोडौँ जनता उपचार गर्न नसकी मर्छन् । यसको मुख्य कारण शासक दलहरू गरिब जनताको होइन, शोषकहरूकै सरकार हुन् । तिनीहरूसँग गरिबहरूलाई हेर्ने दृष्टिकोण हुँदैन† काम दिने योजना हुँदैन ।
यसकारण, युवा कार्यकर्ता र जनताका छोराछोरीलाई ‘उत्पादन श्रमसँग मिलाउने शिक्षा’, काम पाउने, कामको सीप सिक्ने शिक्षा दिनु र कामको बन्दोबस्त पहिले नै गर्नुपर्छ ।’ यसकारण, नयाँ कार्यकर्ताहरू त्यस्तै काम सिकाउने र त्यस्तै तालिम लिएका योग्य कार्यकर्ता तयार गर्नु आवश्यक छ । जिल्ला र गाउँ गाउँमा स–साना घरेलु उद्योग र कुटीर व्यवसायसँग अध्ययनमा ध्यान दिनु आवश्यक छ । त्यस्ता कार्यकर्ताले अरूलाई पनि शिक्षित र कामको निम्ति तालिम दिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *