भर्खरै :

भरतपुर अस्पतालको स्थलगत रिपोर्ट

राजकुमार श्रेष्ठ
भरतपुर अस्पतालमा सेवा सुविधा बढाउँदै गए पनि प्रभावकारी ढ·मा व्यवस्थापन हुन नसकेको जनगुनासो रहेको छ । जनविश्वास र बिरामीको आर्थिक अवस्था कमजोरको कारण पनि भरतपुर अस्पतालमा बिरामीको चाप बढ्न गएको हो । सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, मकवानपुर, धादिङ, गोर्खा, तनहुँ, चितवनलगायतका जिल्लाहरूबाट बिरामी उपचार गराउन भरतपुर अस्पताल आउने गर्दछ ।
बिरामीको बढ्दो चापलाई व्यवस्थापन गर्न÷सेवा सुविधा उपलब्ध गराउन अस्पताललाई हम्मेहम्मे परेको देख्न सकिन्छ । अस्पतालको आकस्मिक कक्ष, जाँच गराउने रिपोर्ट लिने ल्यावको कक्ष भिडियो एक्सरे, एक्सरे कक्षहरूमा बिरामीहरूको बढी घुइँचो देख्न सकिन्छ ।
स्वर सुक्ने समस्या भएर खकार जचाउन आएका नवलपुर जिल्लास्थित गैंडाकोटका दुर्गा ढकालको आक्रोस थियो– “बिहान ९ बजेदेखि लाइनमा बसेको दिउँसो ३ बजिसक्दा पनि रिपोर्ट लिन सकेको छैन । राज्यको यो कस्तो सेवा हो ? कहिले रिपोर्ट लिएर डाक्टरलाई देखाउने हो ?
अस्पतालमा पिसाब, खकार, रगतलगायत जाँच गरेको रिपोर्ट एकै ठाउँबाट दिइन्छ । वार्ड, आकस्मिक कक्षसमेतको एकै ठाउँबाट रिपोर्ट लिने दिने हुँदा बिरामीहरूले समयमै उपचार पाउन सकिरहेका छैनन् ।
चितवन जिल्लास्थित इच्छाकामना गाउँपालिकाका नवीन चेपाङ भन्छन्– “वार्डमा डाक्टर राउन्डमा आएर गइसकेको हुन्छ, रिपोर्ट लिन ढिलो हुनाले डाक्टरलाई समयमै देखाउन सकिंदैन ।
एक दुई दिनअघिको रिपोर्ट लिन सेवाग्राहीहरू लाइनमा बसेको देख्नसक्छौं । चिनजान भएका मानिसहरू अघिबाटै रिपोर्ट लिने, बीचमै घुस्ने गरेको गुनासो पनि सेवाग्राहीको रहेको छ ।
भरतपुर अस्पतालमा जुनसुकै दिन पनि उस्तै भीड हुने गर्दछ । गरिब दुःखी बिरामीहरूको उपचारको केन्द्रको रुपमा भरतपुर अस्पताललाई बुझ्न सकिन्छ । उचित सेवा सुविधा भने दिन नसकेको अवस्था छ । विपन्न वर्गहरूलाई सामाजिक सेवा कार्डमार्फत निःशुल्क उपचार सेवा दिंदै आइरहेको भरतपुर अस्पतालले जनाएको छ ।
१५ शैय्याबाट सुरु भएको भरतपुर अस्पताल वि.सं. २०६७ सालमा ४१५ शैय्या हुँदै हाल ६०० शैय्यामा सञ्चालनरत छ । नेपाल सरकारको ३०० शैय्या र अस्पताल विकास समितिअन्तर्गत ३०० शैय्या सञ्चालनमा छ । २०७५ असार ३२ गते मन्त्रिपरिषद्को बैठकले केन्द्रीय अस्पतालबाहेक सम्पूर्ण अस्पताल विकास समितिहरू विघटन भएको निर्णयले भरतपुर अस्पताल के कसरी चल्ने र चलाउने भन्ने विषयमा चासो र चिन्ता रहेको छ ।
उपत्यकापछिकै राम्रो सरकारी अस्पतालको रुपमा भरतपुर अस्पताल चिनिन्छ । कर्मचारी प्रशासन नासु धु्रव भट्टराईका अनुुसार ओपीडीमा दैनिक ९ सयदेखि एक हजार बिरामीले सेवा लिंदै आएका छन् । अस्पताल राम्रो हुँदा हुँदै पनि व्यवस्थापनमा केही कमजोरी रहेको उनको गुनासो छ । भट्टराई भन्छन्– “अस्पतालमा राम्रो सेवा दिन सकिन्छ ।
भरतपुर अस्पतालले ‘ए’, ‘बी’ ब्लक भवनमा सेवा दिंदै आएको छ भने ‘सी’ ब्लक भवनको निर्माण कार्य हुँदै छ ।
झण्डै ६ सय शैय्या रहेको अस्पतालका वार्डहरूमा गरिब बिरामीहरू धेरै देख्न सक्छौं । अस्पतालको जानकारीअनुसार हेमो डाइलोसियस १२ वटा, सिटी स्क्यान १ वटा न्युरो सर्जरी, जोर्नी प्रत्यारोपण सेवा, पित्तथैलीको अपरेसनलगायत महत्वपूर्ण उपचार हुँदै आएको छ ।
सर्जरी वार्डमा करिब ५ दिनदेखि रहनुभएका बारा जिल्ला कलैया ठेगाना बताउने फुल महमद भन्छन्– पर्साको नारायणी उपक्षेत्रीय अस्पतालमा एक महिना बस्दा ८० वटा सलाइनपानी दिइयो, बिरामीको नसा च्यापिएर थला परिसक्यो तर पनि उपचार हुँदैन । भरतपुर अस्पताल आएको पाँच दिन भयो । पेटको पत्थरीको अपरेसन भयो, उपचार हुँदैछ । महमद बताउँछन् – अस्पतालको ल्यावमा समस्या छ । रिपोर्ट लिन धेरै समय पर्खनुपर्छ । डाक्टरको कुरा बिरामीले बुझ्न नसक्दा भाषाको समस्या छ । डाक्टर आउँदा पनि बिरामी कुरुवालाई सँगै बस्न दिनुपर्ने उनको गुनासो थियो ।
जटिल केशका बिरामीहरू पनि भरतपुर अस्पतालमा उपचार गराउन आउँछन् । आर्थिक समस्याको कारण पनि भरतपुर अस्पतालमा धेरै टाढादेखि गम्भीर केशका बिरामीहरू उपचार हुने आशामा आउँछन् । तर कतिपय ती बिरामीहरूलाई अस्पतालले विभिन्न बहानामा निजी अस्पतालमा पठाउने गर्दछ । त्यतिबेला डाक्टर कर्मचारीहरूमा बिरामीको सेवा गर्ने भावना नभएको हो कि ? जो कसैलाई मनमा लाग्नसक्छ ।
भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रविन खड्का भन्छन्– “अस्पताल व्यवस्थापनमा सुधार ल्याउनुपर्नेछ । फोहोर ढलले समस्या छ । आकस्मिक कक्ष सुदृढीकरण तत्काल गर्नु आवश्यक छ ।
सेवा सुविधा पढ्दै जाँदा भरतपुर अस्पतालप्रति बिरामीको विश्वास बढ्न गएको छ । दिन प्रतिदिन अस्पतालमा बिरामीको चाप बढ्दै गएको डा. रविन खड्का बताउँछन् । ट्रमा सेन्टर स्तरोन्नति, अति विशिष्ट सेवाको विस्तार शैक्षिक मेडिकल कलेज बनाउने दीर्घकालीन उद्देश्य रहेको मे.सु. डा. रविन खडकाले बताए ।
भरतपुर अस्पतालको नाममा करिब ३१ विगाह जग्गा भएता पनि विभिन्न समयमा, विभिन्न सङ्घ÷संस्था, सरकारी तथा निजी क्षेत्रलाई अत्यन्तै न्यून शुल्कमा अनुचित ढङ्गले जग्गा बाँड्दै जाँदा हाल भरतपुर अस्पताल ११ विगाहमा खुम्चिएको छ । हाल अस्पतालको गुरु योजनाअनुसार विस्तार गर्न जग्गाको अभाव भएको मे.सु.डा. रविन खड्का बताउँछन् ।
जानकारी भएअनुसार ७ विगाह नेत्र ज्योति सङ्घ, ४ विगाह भरतपुर आँखा अस्पताल र ९ विगाह जमिन ५० वर्षको लागि कलेज अफ मेडिकल साइन्सेस भरतपुरलाई सस्तो मूल्यमा भाडामा दिएको छ ।
भरतपुर अस्पतालप्रति जनविश्वास बढ्दै गर्दा अस्पतालले धेरै कुराहरू सुधार गर्नुपर्ने देखिन्छ । अस्पताल परिसरमा पानी पर्नासाथ जम्छ र पोखरीझैं बन्छ । वार्डको भवन दायाँबायाँ अस्पतालबाट निस्किने फोहर पानी खोलाको रुपमा बगिरहेको देख्न सकिन्छ । ढलको उचित व्यवस्था हुन सकेको छैन । अस्पतालभित्र एक्स—रे मेसिन २ वटा छ । तर एउटामात्र चलेको छ । अर्को मेसिन बिग्रेको छ । बिरामीहरूको घुइँचो देख्न सकिन्छ । भिडियो एक्स—रे ३ वटामध्ये दुइटामात्र सञ्चालनमा आएको छ । ओपीडी वार्डका बिरामीहरूको एक्स—रे, भिडियो एक्स—रे मेसिनबाट सेवा पाउन २÷३ दिन कुर्नुपर्ने अवस्था छ ।
डाक्टरहरू ९ देखि दिउँसो २ बजेसम्म ओपीडीमा रहनुपर्ने भन्ने छ । तर डाक्टर ढिलो आएर चाँडै फर्कने कारण बिरामीहरूले प्रभावकारी ढङ्गमा सेवा पाइनरहेको जनगुनासो छ । गरिब, विपन्न वर्गका बिरामीहरूले राज्यबाट पाउने सेवा सुविधा निःशुल्क रुपमा सहज तरिकाले अस्पतालले उपलब्ध गराए भरतपुर अस्पतालप्रति जनताको थप विश्वास बढ्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *