भर्खरै :

नेपालमा नदी धेरै छन्,जमिनमा सिचाई छैन

नेपाल क्रान्तिकारी किसान संघको दोस्रो राष्ट्रिय सम्मलेन माघ २८ गतेबाट सप्तरीको राजबिराजमा शुरु हँुदैछ । सम्मेलनको तयारी र मुद्दाका सन्दर्भमा अनलाइन मजदुरले हाल सम्मेलनको तयारीको शिलशिलामा राजबिराज रहनुभएका संघका केन्द्रीय अध्यक्ष एवं सांसद डिल्लीप्रसाद काफ्लेसँग गरेको संवाद प्रस्तुत छ ः
–नेपाल क्रान्तिकारी किसान संघको राष्ट्रिय सम्मेलनको तयारी कहाँ पुग्यो ?
नेपाल क्रान्तिकारी किसान संघको राष्ट्रिय सम्मेलनको प्रचार प्रसार तीब्र रुपमा भइरहेको छ । नेपालका किसानहरुको अधिकार रक्षा गर्न नेपाल क्रान्तिकारी किसान संघले क्रान्तिकारी भुमिसुधारको सिद्धान्तअनुसार जमिन जोत्ने किसानलाई जमिनको मालिक बनाउन, स्वदेशमा सरकारको लगानीमा रसायनिक मल कारखाना स्थापना गर्न, किसानलाई पेन्सनको व्यवस्था गर्ने लगायतका नाराहरु र वैदेशिक हस्तक्षेपको विरुद्ध किसानहरुलाई एक भएर संघर्षमा होमिन आह्वानका साथ हाम्रो प्रचार प्रसारको तयारी भैरहेको छ । हाम्रो तयारी अन्तिम चरणमा पुगिसकेको छ ।
–सम्मेलनको कार्यक्रमबारे केही प्रकाश पारिदिनु हुन्छ कि ?
सम्मेलनको पहिलो चरणको प्रचार–प्रसारको कार्यक्रम अन्तिममा पुग्दैछ । २८ माघमा हाम्रो खुला सभा हुनेछ । २९ गते बन्द सत्र गरी देश र जनताका वर्तमान विषयहरु समेतको राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रस्तावहरु पारित हुनेछन्, विधान संशोधन गरिने छ र किसान संघको भावी नेतृत्वको चयन हुनेछ ।

–सम्मेलन सप्तरीको राजविराजमा किन ?
सम्मेलन सप्तरीको राजविराजमा गर्नुको महत्वपूर्ण कारण छ । नेपाल कृषिप्रधान देश हो । सप्तरी देशकै बढी किसान समस्या भएको जिल्ला हो । यहाँ कोशीजस्ता ठूला नदी बग्छन् तर सप्तरीमा सिचाईको अभाव छ । कोशीको पश्चिम नहरले सप्तरीका किसानहरुको हजारौं विगाहा जमिन मासिएको छ । तर किसानहरुले जमिनमा सिचाई गर्न पाएका छैनन् । चन्द्रनहर नेपालले बनाएको छ । तर त्यो जीर्ण छ । किसानलाई मल वीउ, सिचाइको सुविधा छैन । यहाँ जमिन्दारी प्रथा कायमै छ । भूमिहीन किसान धेरै पीडित छन् । उनीहरुको जीवनस्तर गिर्दो छ । नेपाल मजदुर किसान पार्टी र किसान संघप्रति यहाँ ‘नेमकिपा मधेश विरोधी–मधेशी जनताविरोधी, यस पार्टीका सांसदहरुले मधेशको विरोधमा बोल्ने गर्छन्, नेमकिपा भारतविरोधी’ भनेर विभिन्न गलत हल्ला फैलाइएको छ । यिनै हल्लाहरुलाई चिरफार गर्न सप्तरीमा नेमकिपाको कार्यक्रम गर्न आवश्यक छ । अर्को महत्वपूर्ण कुरा के छ भने यहाँका किसानलाई नेमकिपाको राजनैतिक विचार प्रचार–प्रसार गरेर फैलाउन पर्ने भएकोले र किसानका कुरा सरकार सामु राख्न मद्दत मिल्ने भएकोले राजविराजमा गर्ने निर्णय गरेका हौं ।
–सम्मलेनमा मुलतः के विषयमा छलफल हुँदैछ ।
सम्मेलनमा मुख्यतया देशको सार्वभौमिकता जोगाउने, किसानका समस्याहरु उठाउन, वैदेशिक हस्तक्षेपको विरुद्ध नेपाली जनतालाई उठाउने विषयहरु छलफलमा ल्याइनेछन् । समाजवादी गणतन्त्रको स्थापना गर्न नेपाल क्रान्तिकारी किसान संघले गर्नुपर्ने योगदानका कार्यक्रमहरुबारे छलफल हुने र पारित गरिनेछन् ।
–नेपालका किसानहरु आजका समस्याहरु के–के छन ?
नेपालमा नदी धेरै छन् तर शासक वर्गले विदेशीलाई प्रयोग गर्न दिएका कारण नेपालको जमिनमा सिचाई भएको छैन । कृषि प्रधान देश नेपालमा मल कारखानाहरु नभई विदेशी मलमा भर पर्नु परेको छ । जमिन जोत्नेसँग जमिन छैन । जमिन बाँझो छ । किसान भोकै छन् । उत्पादन घटदो छ , भएको उत्पादनले मुल्य पाएको छैन । उखु किसानहरुले समयमा बेच्न र मुल्य पाउन सकेका छैनन् । कृषि उत्पादनमा आधारित उद्योगहरु बन्द भई निजी उद्योगहरु स्थापना भएका कारण किसानको उत्पादनले बजार र मुल्य पाउन सकेको छैन । गुठी जग्गा टाठाबाठाहरुको कब्जामा छ । गुठी जग्गा जोत्ने किसानलाई रैकरमा परिणत गर्नु पर्नेमा त्यसबारे कुनै कानुन बनेको छैन । भारतीय विस्तारवादले नेपालको कृषि उत्पादनलाई खतम बनाउने खेल खेलिरहेको छ । यिनै कुराहरु नेपाली किसानका समस्याहरु छन् । सरकारले किसानहरुको धानको मुल्य २१ सयको हाराहारीमा तोक्ने तर जमिन्दारले ३० हजारको हाराहारीमा कुत तिर्नुपर्ने कमैया, हली, हरुवा, चरुवाआदिलाई मोहियानी हक दिनु पर्नेमा सरकारले जमिन्दारकै पक्ष लिई उनीहरुलाई मुक्त गरेकोले अहिले उनीहरुले दःुख पाइरहेका छन् । सुकुम्बासीका नाममा देशको जंगल फडानी गरेर शासक दलहरुले आफ्नो कार्यकर्ताहरुलाई राजनीति गर्ने माध्यम बनाइएको छ । जमिन माथिको हदबन्दीको कानुन बनेको छ । तर सरकारले कार्यान्वयन गर्न चाहेको छैन । हदबन्दी भन्दा बढीको जग्गा बिनामुआव्जा जफत गरेर भूमिहीन किसानलाई बाँडनु पर्नेमा सरकारले त्यस्ता कामहरु गर्न सकेको छैन ।

– नेक्राकिसंघसँग किसानका समस्या समाधान के छन् ?
नेक्राकिसंघसँग किसानको समस्या समाधन गर्न अल्पकालीन रुपमा क्रान्तिकारी भूमिसुधार लागु गर्नुपर्ने, जमिन जोत्नेलाई वितरण गर्नुपर्ने, स्वदेशमै मलकारखानाको स्थापना गर्नुपनर्,े किसानलाई पेन्सन, अनुसन्धान केन्द्रहरुलाई प्रभावकारी बनाउनु पर्नेजस्ता समाधान हुन भर्न दीर्घकालीन रुपमा समाजवादी गणतन्त्रको स्थापना नै समस्या समाधानको वैज्ञानिक समाधान भएकोले हामीले यसैका लागि संघलाई समार्पित गर्नु आवश्यक ठान्दछौं ।
–अन्त्य केही थप भन्नु पर्ने ?
अन्तमा नेपाल क्रान्तिकारी किसान संघको दोश्रो राष्ट्रिय सम्मेलनमा उपस्थित भई सहयोग गर्न सम्पूर्ण किसानलाई हार्दिक अपिल गर्दछु र नेपाल क्रान्तिकारी किसान संघले उठाएका विषयहरुलाई प्राप्ति गर्न सम्पूर्ण किसानहरुले नेक्राकिसंघमा आबद्ध हुन अनुरोध गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *