भर्खरै :

स्ववियु चुनावको मितिबारे विद्यार्थी संगठनहरुबीच धु्वीकरण

काठमाण्डौ, २९ माघ । विद्यार्थी संगठनहरुले निर्धारित फागुन १४ गते नै चुनाव हुनुपर्नेमा जोड दिएका छन् । शनिबार बसेको १० वटा विद्यार्थी संगठनहरुको बैठकले क्याम्पसहरुमा देखिएका समस्याहरु तत्काल समाधान गरी फागुन १ गतेबाट तय भएको निर्वाचन कार्यक्रम तालिकाअनुसार प्रक्रिया अघि बढाउन त्रिवि र क्याम्पस प्रमुखहरुलाई आग्रह गरेका छन् ।
स्ववियु निर्वाचनको सन्दर्भमा त्रिविले जारी गरेको आचारसंहिता पूर्ण रुपमा पालना गर्न÷गराउन प्रतिबद्धता व्यक्त गर्दै केही क्याम्पसहरुमा भएका एकमुष्ठ र फर्जी भर्ना पूर्ण खारेजी गर्न समेत निर्वाचन समितिहरुलाई आग्रह गरिएको छ ।
आचारसंहिता पालना भएको–नभएको अनुगमन गर्न सबै संगठनबाट महासचिव वा तोकिएको प्रतिनिधि रहने गरी अनुगमन समिति समेत गठन गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकमा सहभागी अधिकांश विद्यार्थी संगठनहरुले ‘ठूला’ तीन विद्यार्थी संगठनहरुले क्याम्पसमा गरेको आचारसंहिता उल्लंघनको तीब्र विरोध गरेका थिए ।
‘‘तपाईहरु बाह« वर्ष ढुङ्ग्रोमा राखेर पनि सुध्रिनुभएन । हिजो तपाईहरुका यस्तै व्यवहारका कारण चुनाव रोकिएको थियो । आज फेरि पनि तपाईहरुका नसुध्रिएका व्यवहारका कारण चुनाव रोकिने अवस्था नआओस्’, बैठकमा नेपाल क्रान्तिकारी विद्यार्थी संघका अध्यक्ष नीरज लवजूले भन्नुभयो ।

उहाँले त्रिविबाट तीन संगठनलाई मात्र सूचना दिने र अरु विद्यार्थी संगठनहरुलाई आधारभूत सूचनाबाट समेत बञ्चित गरेर निष्पक्ष चुनाव हुन नसक्ने बताउनुभयो ।
बैठकमा विप्लव माओवादीसमर्थित अखिल क्रान्तिकारीले आफ्नो पार्टी महाधिवेशनका कारण चुनावको मिति सार्ने वातावरण बनाउन आग्रह गरेको थियो । उनीहरुले त्यही माग गर्दै क्याम्पस–क्याम्पसमा तालाबन्दी गर्दै आएका छन् । बैठकमा अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले यदि माओवादीको सट्टा शासक दलको महाधिवेशन हुँदो हो त के फागुन १४ गते चुनाव हुन सक्ला भनी प्रश्न गर्नुभयो । राप्रविसंघ पनि चुनावको मिति सार्ने पक्षमा उभिएको छ ।
तर अरु विद्यार्थी संगठनहरु भने फागुन १४ गते नै चुनाव हुनु पर्ने पक्षमा उभिएका छन् । एक दिन मात्र पनि चुनाव सारे चुनाव नहुने परिस्थिति हुने भएकाले चुनाव तोकिएको मितिमा गर्नुपर्ने उनीहरुको विचार छ ।
बैठकमा सबै विद्यार्थी संगठनहरुले उपरान्त कुनै पनि संगठनले आफ्नो संगठन विशेषको कार्यक्रमका लागि त्रिविको तोकिएको कार्यक्रम सार्न आग्रह नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बैठकपश्चात जारी वक्तव्यमा मिति सार्न माग गर्दै आएका विद्यार्थी संगठनहरुले हस्ताक्षर गरेका छैनन् । वक्तव्यमा नेविसंघका सभापति नैनसिं महर, अखिलका अध्यक्ष नवीना लामा, अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने, नेक्राविसंघका अध्यक्ष नीरज लवजू,अखिल छैटौंका अध्यक्ष विमल पोखरेल, नयाँ शक्ति विद्यार्थी युनियनका रमेश महतो, तमविफ्रन्टका अध्यक्ष मनिष मिश्रलगायतका विद्यार्थी नेताहरु हस्ताक्षर गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *