भर्खरै :

नेक्राविसंघको घोषणा पत्र सार्वजनिक

काठमाण्डौ, १ फागुन । नेपाल क्रान्तिकारी विद्यार्थी संघले आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको निम्ति आइतबार नेपाल ल क्याम्पसमा एक कार्यक्रमबीचन घोषणा पत्र सार्वजनिक कार्यक्रम सम्पन्न ग¥यो । त्रिविले फागुन १४ गतेको निम्ति तय गरको निर्वाचन कार्यतालिकाको प्रारम्भसंगै संघले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेर स्ववियु निवार्चनलाई स्वागत गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेक्राविसंघका पूर्व केन्द्रीय अध्यक्ष रविन्द्र ज्याख्वले विद्यार्थीहरुले राजनीतिक र वर्गीय विचार अभिव्यक्त र विमर्श गर्ने मञ्च भएको बताउँदै स्ववियुको नाममा व्याप्त भ्रष्टाचार, गुण्डागर्दी, ठेक्कापट्टा र विकृतिलाई रोक्दै निस्वार्थ र सही राजनीतिक अभ्यास गर्ने थलोको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । निरंकुश पञ्चायती व्यवस्थामा समेत स्ववियुमार्फत् आन्दोलनका गतिविधि अगाडी बढेको उल्लेख गर्नुहुँदै विद्यार्थी आन्दोलनको उपलब्धीका रुपमा स्थापित स्ववियुलाई जोगाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले स्ववियुलाई गुण्डागर्दी र मुढेबलको प्रतिस्पर्धा गर्ने अखडाको रुपमा भन्दा पनि सैद्धान्तिक र राजनीतिक बहस चलाउने थलोको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै नेपाल क्रान्तिकारी युवा संघका केन्द्रीय अध्यक्ष प्रकाश थुसाले कुनैपनि संगठनको आकार संख्याले भन्दा पनि विचारले ठूलो सानो हुने बताउँदै नेक्राविसंघले स्थापनाकाल देखि हरेक किसिमका अन्याय, शोषण, दमन र अत्याचारको विरुद्ध संघर्ष गर्दै आएकोमा गर्व गर्नुपर्ने बताउनुभयो । विगतमा पनि स्ववियु चुनावमा पैसा र गुण्डाको प्रयोग हुने गरेको स्मरण गर्दै विद्यार्थीहरुले त्यस्ता विकृतिहरुको विरोध गर्दै चुनावलाई निष्पक्ष र शान्तिपूर्ण बनाउन संघर्ष गर्नुपर्ने बताउनुभयो ।
सभापतिको आसनबाट बोल्नुहँुदै नेक्राविसंघका केन्द्रीय अध्यक्ष नीरज लवजूले स्ववियु नहुँदा नेपालको विद्यार्थी आन्दोलन शिथिल हुँदै गएको चिन्ता व्यक्त गर्दै भारतले नेपालमाथि अमानवीय नाकाबन्दी लगाउँदासमेत नेक्राविसंघ बाहेक अन्य विद्यार्थी संगठनहरु मौन रहनु दुःखको कुरा भएको बताउनुभयो । फागुन १४ गते हुने निर्वाचनको निम्ति पनि देशका विभिन्न क्याम्पसहरुमा ठूला भनिएका विद्यार्थी संगठनहरुले रातारात लाखौं रकम बराबरको फर्जी विद्यार्थी भर्ना भएको प्रसंग उल्लेख गर्नुहुँदै त्यस्ता विकृति नरोकिएसम्म स्ववियु भ्रष्टाचारमुक्त हुन नसक्ने बताउनुभयो ।
नेक्राविसंघ पूर्व केन्द्रीय अध्यक्ष रविन्द्र ज्याख्व, नेक्रायुसंघका अध्यक्ष प्रकाश थुसा र नेक्राविसंघका अध्यक्ष नीरज लवजूद्धारा संयुक्त रुपमा संघको घोषणा पत्र सार्वजनिक गरिएको उक्त कार्यक्रममा संघका सचिव नरेश खत्री र कोषाध्यक्ष सुरेशन धुसूले पनि आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *