भर्खरै :

भक्तपुर बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको तयारी तीव्र

भक्तपुर, १ फागुन । भक्तपुर बहुमुखी क्याम्पसमा त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गतेको निम्ति तय गरेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारी तीव्र भएको छ । त्रिविले गत माघ १४ गते सार्वजनिक गरेको स्ववियु निर्वाचन कार्यक्रम तालिका र आचारसंहिता निर्देशिका अनुसार फागुन १ गते क्याम्पसको निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरेको छ । प्राप्त तथ्यांक अनुसार भक्तपुर बहुमुखी क्याम्पसमा विज्ञान, व्यवस्थापन, मानविकी संकायको स्नातक र स्नात्तकोत्तर तहमा अध्ययनरत कुल १६४५ विद्यार्थीले फागुन १४ गते मतदानमा भाग लिन पाउनेछन् । निर्वाचन समितिले प्रकाशित गरेको मतदाता नामावलीमा दावी विरोध गर्न २ दिनको समय तोकेको छ । मतदाता नामावली उपर आइपरेका दावी विरोधको छानविन गरी अन्तिम नामावली फागुन ३ गते प्रकाशित गर्ने निर्वाचन समितिले जानकारी दिएको छ । अन्य क्याम्पसहरुको तुलनामा भक्तपुर बहुमुखी क्याम्पसमा निर्वाचनको कार्यतालिका सहज ढंगले अघि बढेको निर्वाचन अधिकृत शेरसिंह रैखोला बताउँछन् । उनका अनुसार विद्यार्थी संगठनहरुले निर्वाचनप्रति देखाएको तदारुकता र आपसी समझदारीले नै कार्यतालिका अघि बढेको देखिन्छ ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघ भक्तपुर बहुमुखी क्याम्पस एकाई समितिका अध्यक्ष मिलन गणेजूले निर्वाचनप्रति क्याम्पसले देखाएको तदारुकता सकारात्मक रहेको बताउँदै घोषित मिति मै निष्पक्ष र मर्यादित तरिकाले स्ववियु चुनाव सम्पन्न गराउन आफ्नो समिति प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले विगत लामो समयदेखि स्ववियु निर्वाचन हुन नसक्दा विद्यार्थी आन्दोलनको उपलब्धिको रुपमा स्थापित स्ववियुको अस्तित्वमाथि नै प्रश्न चिन्ह खडा गरेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
निर्वाचन समितिले दल दर्ताको आह्वान गरे लगतै नेक्राविसंघले पहिलो नम्बरमा आफ्नो दल दर्ता गरेको थियो । आइतबार अपरान्हसम्म नेक्राविसंघलगायत अनेरास्ववियु, अखिल(क्रान्तिकारी), नेविसंघ र अखिल क्रान्तिकारी गरी ५ वटा विद्यार्थी संगठनहरुले आफ्नो दल दर्ता गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *