भर्खरै :

स्वतन्त्रता, सार्वभौमिकता र आत्मरक्षाको लागि आणविक शक्ति

भक्तपुर, ४ फागुन । कोरिया पुनःएकीकरण सहयोग समिति र कोरिया अध्ययन मण्डल नेपालको संयुक्त आयोजनामा बुधबार यहाँ प्रजग कोरियाका नेता तथा साम्राज्यवादविरोधी योद्धा किम जङ इलको ७५ औं जन्मदिवसको अवसरमा ‘साम्राज्यवादविरोधी सङ्घर्ष र प्रजग कोरिया’ विषयक प्रवचन कार्यक्रम भयो ।
उक्त प्रवचन कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले प्रजग कोरियाले आफ्नो देशको स्वतन्त्रता, सार्वभौमिकता र आत्मरक्षाको लागि गरिरहेको आणविक शक्तिको परीक्षणको समर्थन गर्नुभएको छ ।
आफ्नै देशमा यथेष्ठ हतियार भए अर्को देशसामु आत्मसमर्पण गर्न नपर्ने उल्लेख गर्दै अध्यक्ष रोहितले अरू देशलाई दुःख दिने ठूला देश पनि टुक्रिन सक्ने सम्भावना औंल्याउनुभयो ।
देश र जनतालाई केन्द्र मानेको जुच्छेमा आधारित समाजवादको रक्षाको निम्ति जस्तोसुकै दुःख कष्ट र आँधी बेहरीसित जुध्ने प्रतिबद्धता प्रजग कोरियाको दोहोर्‍याइरहेको विचार राख्दै उहाँले अमेरिकी साम्राज्यवादविरोधी भावना विश्वव्यापी फैलिरहेको छ भन्नुभयो ।
नेपालका लागि प्रजग कोरियाका महामहिम राजदूत किम योक हकले देश र जनताको हितमा अन्तिम दमसम्म लडिरहने प्रजग कोरियाको प्रतिबद्धता रहेको बताउनुभयो ।
कोरियाली नेता, जनता र सेनाको एकता साम्राज्यवादी देशहरूको निम्ति एक हाँक भएको चर्चा गर्दै महामहिम राजदूत हकले आणविक हतियार परीक्षणले कोरियामात्र होइन एसियामै शान्ति छाइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो – प्रजग कोरिया युद्ध होइन शान्ति चाहन्छ, कोरियाली प्रायद्वीपमा संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र जापानको खतराको घण्टी बजिरहेको छ देशको रक्षा गर्न प्रजग कोरिया सङ्घर्षरत छ ।
नेमकिपाका विदेश सम्बन्ध विभाग प्रमुख एवं कोरिया पुनः एकीकरण सहयोग समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति प्रेम सुवालले प्रजग कोरियाका प्रिय नेता किम जङ इलले सन् १९९३ अप्रिल ९ मा प्रजग कोरियाको सुरक्षा आयोगको अध्यक्ष भएर देशको सार्वभौमिकताको रक्षाको जिम्मेवारी लिनुभएको बताउनुभयो ।
राष्ट्रपति किम इल सङले प्रतिपादन गर्नुभएको सन्गुन विचारलाई सन्गुन राजनीतिमा विकास गर्नुभएको उल्लेख गर्दै उहाँले राजनीति, सैन्यमामिला, अर्थतन्त्र र संस्कृतिको विकासमा सेना र जनताको एकता नै सन्गुन नीति हो भन्नुभयो ।
उहाँले भन्नुभयो – सन्गुन राजनीतिले कुनै पनि आणविक हतियारभन्दा बलियो कोरियाली समाज आफै एउटा शक्तिशाली हतियारको रूपमा स्थापित गर्‍यो, पूर्वसोभियत सङ्घ र पूर्वी युरोपेली देशमा समाजवादी सरकारहरूको अस्थायी हार भइरहेको बेला सन्गुन राजनीतिमार्फत कोरियाली शैलीको समाजवादको विकास भयो ।
कोरियाली जनसेनालाई बलियो विश्वास, इच्छा र विचार भएको आधुनिक युद्धकला र प्रविधियुक्त उच्चस्तरको सेनाको रूपमा विकास गर्नुभएको पनि उहाँले बताउनुभयो ।
कोरिया अध्ययन मण्डलका अध्यक्ष चैत्यराज शाक्यले किम जङ इल माक्र्सवाद, लेनिनवाद र जुछे विचारधारा र अन्य समाजवादी विचारधाराका एक ज्ञाता एवं सिद्धान्तलाई विद्यमान वस्तुस्थिति र व्यवहारको कसीमा जाँच्दै अघि बढ्ने नेता हुनुहुन्थ्यो भन्नुभयो ।
उहाँले भन्नुभयो – कोरिया र नयाँ विश्व परिवेशमा जुछे विचारधाराले कम्युनिष्टहहरूद्वारा सत्ता सम्हालेपछि निरन्तर क्रान्ति र निर्माणबारे उत्तराधिकारीको नेतृत्व प्रणाली विकास गरी क्रान्ति र निर्माणबारे पूर्ण व्याख्या गर्ने अवस्था परिपक्व भयो, यो कोरियाली अनुभव, उत्तराधिकारीको नेतृत्व प्रणाली र सन्गुन राजनीतिको सिद्धान्त विश्व कम्युनिष्ट आन्दोलनको निम्ति अनुकरणीय रह्यो ।
नेमकिपा विदेश सम्बन्ध विभाग सदस्य रवीन्द्र ज्याख्वले प्रजग कोरियाले सन् २०१६ जनवरी ६ मा हाइड्रोजन वमको सफल परीक्षण तथा फ्रेबु्रअरी ६ मा अन्तरिक्षबाट पृथ्वीको अवलोकन गर्ने भूउपग्रहको सफल प्रक्षेपण गरेको बताउनुभयो ।
प्रजग कोरियाले देशको लागि आवश्यक आणविक कार्यक्रम विकास गरेको तथा भूउपग्रह प्रक्षेपण गरेको उल्लेख गर्दै उहाँले कोरियाली जनता युद्धविराम होइन कोरियाली प्रायद्वीपमा स्थायी शान्ति चाहन्छन् भन्नुभयो ।
कोरिया अध्ययन मण्डलका सदस्य एवं पत्रकार समाजका अध्यक्ष लक्ष्मण जोशीले समाजवादी देशमा भइरहेको हतियारको उत्पादनले विश्वकै रक्षामा राहत पुगिरहेको विचार व्यक्त गर्नुभयो ।
विध्वंसात्मक हतियार पहिलो पटक प्रयोग नगर्ने प्रजग कोरियाले बारम्बार दोहो¥याइरहेको उल्लेख गर्दै उहाँले साम्राज्यवादी अमेरिकाले प्रजग कोरियालाई ध्वस्त पार्न दिनरात धम्की दिने, घेरा हाल्ने र नाकाबन्दी गरेर जनजीवन अस्तव्यस्त बनाउने कार्यको विरोध गर्न र आवश्यक परेमा आक्रमणको प्रत्याक्रमण गर्न पनि हतियारको उत्पादन जरूरी छ भन्नुभयो ।
प्रेम सुवालको सभापतित्वमा भएको सो कार्यक्रम आयोजकको तर्फबाट तयार गरिएको सन्देश सुरेन्द्रराज गोसाईंले वाचन गर्नुभयो ।
उक्त सन्देशपत्र सभापति सुवालले महामहिम राजदूत हकलाई हस्तान्तरण गर्नुभयो ।







Leave a Reply

Your email address will not be published. Required fields are marked *