भर्खरै :

स्ववियु निर्वाचनको माग गर्दै नेक्राविसंघद्वारा भक्तपुर बहुमुखी क्याम्पसमा नाराजुलुस

भक्तपुर, ५ फागुन । घोषित मिति मै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको माग गर्दै नेपाल क्रान्तिकारी विद्यार्थी संघ भक्तपुर बहुमुखी क्याम्पस एकाई समितिले विहिबार क्याम्पस परिसरमा नाराजुलुस र सभा गरेको छ । फागुन १ गतेबाट सुरु भएको निर्वाचन कार्यतालिका विप्लव माओवादी निकट अखिल (क्रान्तिकारी)को तालाबन्दीपछि अवरुद्ध भएको थियो । जुलुसपछिको सभालाई सम्बोधन गर्दै नेक्राविसंघको केन्द्रीय अध्यक्ष नीरज लवजूले लामो समयपछि हुन लागेको स्ववियु निर्वाचन फेरि पनि अनिश्चित हुन लागेकोप्रति दुःख व्यक्त गर्दै यसको त्रिवि र क्याम्पस प्रशासनले देखाएको लाचारीपना त्यसको निम्ति जिम्मेवार हुने बताउनुभयो । विगतमा सत्तासीन ठूला विद्यार्थी संगठनहरुको सम्मेलन, महाधिवेशनको कारण देखाई परीक्षा सारिएको इतिहासलाई नै नजीर बनाएर विप्लव माओवादीको अखिल (क्रान्तिकारी)ले चुनाव सार्न माग गरेको उहाँले बताउनुभयो । त्रिविले तीन ठूला विद्यार्थी संगठनहरुलाई काखी च्यापेर हिँडेकै कारण आज फेरि स्ववियु चुनाव अन्योलमा परेको उहाँले बताउनुभयो । विरोधका नाममा भौतिक हमला, तोडफोड गर्ने, क्याम्पस प्रमुख एवं कर्मचारीहरुलाई डर धम्की दिने, अपहरण गर्ने जस्ता अराजक गतिविधिहरु भइरहेकोप्रति असन्तुष्टि पोख्दै उहाँले स्ववियु निर्वाचनका नाममा भइरहेका गुण्डागर्दी र अपराध बन्द गरिनुपर्ने विचार राख्नुभयो । उहाँले अधिकांश विद्यार्थीहरु स्ववियु निर्वाचनको पक्षमा रहेको हुँदा क्याम्पस प्रशासनले पूर्व निर्धारित मितिमै निष्पक्ष र धाँधलीरहित चुनाव गराउन आग्रह गर्नुभयो ।
त्यस्तै सभामा बोल्नुहुँदै नेक्राविसंघका केन्द्रीय कोषाध्यक्ष सुरेशन धुसूले विद्यार्थीहरु निर्वाचनको निम्ति तयार भइसक्दा समेत क्याम्पस प्रशासनले कार्यतालिका अनुसार प्रक्रिया अगाडी नबढाएकोमा क्याम्पस प्रशासनको आलोचना गर्नुभयो । जिम्मेवारी लिइसकेपछि डर, क्रास र धम्कीका अगाडी झुक्न नहुने बताउँदै सर्वपक्षीय बैठक बोलाएर छलफलको वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो । उहाँले घोषित मितिमै स्ववियु चुनाव गराउन र कार्यतालिका अनुसार नै प्रक्रिया अगाडी बढाउन माग गर्नुभयो ।
क्याम्पस परिसरको परिक्रमा गरी सभामा परिणत भएको कार्र्यक्रममा नेक्राविसंघ भक्तपुर बहुमुखी क्याम्पसका दिनेश खड्गीले पनि आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।




 

Leave a Reply

Your email address will not be published. Required fields are marked *