भर्खरै :

आगामी फागुन १८ मा स्ववियु निर्वाचन ः विद्यार्थी नेताहरुले गरे सहमति

काठमाण्डौ, ५ फागुन । त्रिभुवन विश्वविद्यालयले आह्वान गरेको त्रिवि पदाधिकारी, डिन, क्याम्पस प्रमुख र विद्यार्थी संगठनका नेताहरुको संयुक्त बैठकले आगामी फागुन १८ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने निर्णय गरेको छ । त्रिवि स्मृति हलमा दिउँसो बसेको बैठकले फागुन १४ गते हुने भनिएको स्ववियु निर्वाचनलाई असहज परिस्थितिको कारण देखाई स्थगित गरी १८ गते गर्ने निर्णय गरेको हो । निर्वाचनको नयाँ मिति घोषणासंगै पुरानै आचारसंहिता लागु गर्ने र नयाँ कार्यक्रम तालिका लागु गर्ने सहमति भएको छ ।

त्यस्तै त्रिविमै सम्पन्न विभिन्न विद्यार्थी संगठनहरुको संयुक्त बैठकले अब उप्रान्त निर्वाचन विथोलिने किसिमका गतिविधि नगर्ने, कुनै संगठन विशेषको कार्यक्रमको निम्ति त्रिविका पूर्व निर्धारित तालिका हेरफेर नगर्ने, फागुन १८ गते हुने स्ववियु निर्वाचन सफल बनाउन सबैले सकारात्मक भूमिका खेल्नेलगायतका बुँदाहरुमा सहमति भएको छ । संघीय समाजवादी फोरमलगायतका केही विद्यार्थी संगठनको सहमति जुट्न बाँकी रहे पनि अधिकांश विद्यार्थी संगठनको सहमति जुटिसकेको स्रोतले जनाएको छ । बाँकी विद्यार्थी संगठनहरुसंग शुक्रबार विहानसम्ममा बैठक बसेर सहमति गर्ने जानकारी प्राप्त हुन आएको छ ।
संयुक्त बैठकले निम्न बुँदाहरुमा विद्यार्थी संगठनहरुबीच सहमति जुटाएको छ ः
१) विभिन्न विद्यार्थी संघ–संगठनले स्ववियुमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनु पर्छ भन्ने सन्दर्भमा त्रिविले एक उच्च स्तरीय कमिटी गठन गरी भविष्यमा विद्यार्थीहरुसंग छलफल चलाई प्रतिवेदन पेश गरेकोलाई त्रिविले कार्यान्वयनको प्रक्रिया अगाडी बढाउनेछ ।
२) एकमुष्ट भर्ना भनिएको सन्दर्भमा त्रिविले गठन गरेको छानविन समितिले छानविन गरी खारेज गर्नेछ ।
३) विभिन्न संगठनले क्याम्पसहरुमा लगाएको तालाबन्दी आजैबाट खोलिनेछ ।
४) निर्वाचन आचारसंहिता परिवर्तन गरिनेछैन । कार्यक्रममा हेरफेर गरिनेछ ।
५) निर्वाचन अवधिभर क्याम्पसहरुमा निर्वाचनलाई बाधा पुग्ने गरी कुनै पनि आन्दोलन गरिनेछैन ।
६) स्ववियु निर्वाचन मिति २०७३ साल फागुन १८ गते सम्पन्न पार्ने गरी मिति तय गर्ने । २०७३ साल फागुन १८ गते निर्वाचन गर्ने कार्यलाई सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्ने ।
७) त्रिभुवन विश्वविद्यालयको क्यालेण्डर अनुसार तोकिएको कार्यक्रमहरु भएका समयमा कुनै संघ संगठनहरुको कार्यक्रम नराख्ने र पर्न गएमा त्रिविले तय गरेको क्यालेण्डर परिवर्तन नगर्ने प्रतिबद्धता गरियो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *