भर्खरै :

मधेसवादी दलहरूको गतिविधि प्रजातन्त्रविरोधी

काठमाडौं, २५ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् सांसद नारायणमान बिजुक्छें (रोहित) ले भारतको उल्काइमा तराईमा वितण्डा मच्चाइएको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला संघले बुधबार राजधानीको प्रज्ञा भवनको सभाकक्षमा आयोजना गरेको प्रवचन कार्यक्रममा बोल्दै अध्यक्ष रोहितले फरक विचारका पार्टीलाई कुने सभा–समारोहसमेत गर्न नदिने मधेसवादी दलहरूको गतिविधि प्रजातन्त्रविरोधी भएको बताउनुभयो । उहाँले भन्नुभयो, प्रजातन्त्रमा सबैले बोल्न पाउँछ ।
शासक दलका नेताहरूले काठमाडौंमा आएर घर बनाउने तर जनतालाई प्रजातन्त्रबारे शिक्षित नगरेकै कारण तराईमा उच्छृंखलता देखिएको बताउनुभयो । अध्यक्ष रोहितले सिंहदरवार, बालुवाटार र शितलनिवास ठगहरूले घेरिएको भन्दै हालसम्मका शासकहरूले पञ्चायती व्यवस्थाकै सिको गरिरहेको तर्क गर्नुभयो । उहाले सरकारमा जानेको ध्यान सुन कसरी भित्र्याउने, डलर कसरी कमाउनेमा गएकोले देश कमजोर भएको भन्दै जनतालाई सुख दिनेबारे सरकारले कहिल्यै ध्यान नदिएको उल्लेख गर्नुभयो ।

माओवादीको सरकार आएर पनि महिला समानता नभएको उल्लेख गर्दै अध्यक्ष रोहितले श्रमिक महिलाको हितको निम्ति हरेक गाउमा शिशुशाला तथा शिशु स्याहार केन्द्र आवश्यक भएको विचार राख्नुभयो । उहाले भन्नुभयो, काम गर्ने महिलाले बच्चा स्याहार्ने कि काममा जाने ? महिलालाई राजनीतिक शिक्षा आवश्यक भएको उहाको भनाइ थियो । उहाले भन्नुभयो, समाजवाद, पूजीवाद र साम्यवादजस्ता विषयमा हप्ता हप्तामा कक्षा सञ्चालन हुनुपर्छ । महिलालाई व्यक्तित्व विकासमा समान अवसर आवश्यक भएको भन्दै उहाले योग्य व्यक्तिलाई पदमा पु¥याउनु उपयुक्त हुने धारणा राख्नुभयो । महिलालाई समान शिक्षा र रोजगारी जरुरी भएको विचार राख्दै अध्यक्ष रोहितले समान कामको निम्ति समान ज्याला दिनुपर्ने उल्लेख गर्नुभयो ।
नेमकिपा, काठमाडौं जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले जनसङ्ख्याको अनुपातमा राज्यका विभिन्न निकायमा सहभागी हुनपाउनुपर्ने भन्दै त्यस्तो सहभागिता आफ्नो वर्गको हितको निम्ति हुने बताउनुभयो ।
सभापतिको आसनबाट बोल्दै नेक्रामसङ्घका केन्द्रीय अध्यक्ष तथा सांसद अनुराधा थापामगरले महिलामाथिको शोषण, अन्याय, अत्याचारको अन्त्यको निम्ति समाजवाद नै चाहिन्छ भन्नुभयो । उहाले आफ्नो संगठनले समाजको आमूल परिवर्तनको निम्ति श्रमिक महिलालाई सुसूचित गरिरहेको भनाइ राख्नुभयो ।
नेक्रामसङ्घका केन्द्रीय सदस्य हिमाली रानामगरले संविधानमा महिला हक अधिकार, प्रतिभा श्रेष्ठले महिलाको राजनीतिक सहभागिताको विषय बोल्नुभएको थियो । कार्यक्रममा नेक्रामसङ्घ भक्तपुरका अध्यक्ष कमलमैया सुवाल, काभ्रेका अध्यक्ष कान्ति अवा, काठमाडौंका अध्यक्ष रेविना डंगोलले कामदार वर्गका महिला अगाडि नबढेसम्म देशको विकास सम्भव नभएको विचार दिनुभयो ।
कार्यक्रममा यशुमति महर्जन र कमला विकले गीत प्रस्तुत गर्नुभएको थियो भने केन्द्रीय सदस्य सुलोचना छ्वाजूले पनि बोल्नुभएको थियो । कार्यक्रममा नेमकिपा अध्यक्ष रोहितले नेक्रामसंघको मुखपत्र केटीहरुको अंक १३ सार्वजनिक गर्नुभयो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *