म भैल खः हुँ
- बैशाख ४, २०८३
चन्द्रकिरण कवां
नेपाल भूकम्पीय दृष्टिकोणबाट एक जोखिमपूर्ण क्षेत्रमा पर्दछ । यहाँ विभिन्न समयको अन्तरालमा ठूला तथा साना भूकम्प गइरहेको छ । यसको मुख्य कारण अस्थिर भूगोल हो । हाम्रो देश यस्तो ठाउँमा बसेको छ जहाँ दुई वटा ठूला भूगोल एक आपसमा घस्रिरहेको छ । यही अस्थिर भूगोलका कारणले २०७२ साल वैशाख १२ गते हामीले भूकम्पको अनुभव गर्नुप¥यो । यस भूकम्पको कारण थुप्रै साना तथा ठूला पराकम्पनहरू आइरहेका छन् । नेपालको भूकम्पमा भूकम्प मापन केन्द्रले हालसम्म ४७२ वटा पराकम्प गएको तथ्याङ्क राखेको छ । नेपाल सरकारको तथ्याङ्कको आधारमा यस भूकम्पले ७,८०,००० भवनहरूमा नराम्रोसँग क्षति पुगेको र ८,६०० जनाको मृत्यु भएको छ । यस भूकम्पको असरबाट ऐतिहासिक संरचनाहरू पनि अछुत हुनसकेन । यस भूकम्पले काठमाडौं उपत्यकाका थुप्रै ऐतिहासिक संरचनाहरू ध्वस्त गरेको देखिन्छ । त्यस्तै थुप्रै संरचनाहरू सामान्य रुपमा क्षति पुगेको देखिन्छ । यसको ज्वलन्त उदाहरण हो पाँचतले मन्दिर । यस मन्दिरमा विभिन्न कालखण्डमा आएका ऐतिहासिक भूकम्पहरूमा सामान्य क्षति भएको देखिन्छ । हालसम्मको सबैभन्दा ठूलो भूकम्प (९० सालको भूकम्प) मा सबैभन्दा माथिल्लो तला भत्किएको थियो । यसरी हालसम्म पाँचतले मन्दिरमा सामान्य क्षतिमात्रै भएको देखिन्छ ।
२०७२ साल वैशाख १२ गतेको भूकम्पलगत्तै भक्तपुर नगरपालिकाबाट सञ्चालित इन्जिनियरिङ्क कलेजहरू र अमेरिकाको नेब्रस्कालिङ्कन को संयुक्त आयोजनामा पाँचतले मन्दिरको निरीक्षण एवम् केही परीक्षण गरिएको थियो । यस परीक्षणको मुख्य उद्देश्य मन्दिरमा परेका चिराहरूको तथ्याङ्कहरू सङ्कलन गर्नु र मन्दिरमा आएको ¥हासलाई यकिन गर्नु हो । यस परीक्षणमा प्रयोग गरिएको सामान (यन्त्र) अमेरिकाको विश्वविद्यालयबाट ल्याइएको थियो । जसको नाम क्रमशः लेजर स्क्यानर र एसिलिरोमिटर हुन् । लेजर स्क्यानर को प्रयोग मन्दिरको डिजिटल स्वरुप बनाउनका साथै कहीँकतै चिराहरू भए नभएको पनि हेर्नु हो । त्यसै गरी एसिलिरोमिरबाट मन्दिरको हल्लाइसम्बन्धी जानकारी पाउन सकिन्छ । यी दुवै यन्त्रहरू चित्र नं. १ र चित्र नं. २ मा क्रमशः देखाइएको छ ।
लेजर स्क्यानरको प्रयोगले बनाएको पाँचतले मन्दिरको आकार चित्र नं. ३ मा देखाइएको छ । त्यसैगरी चित्र नं. ३ देखि चित्र नं. ६ सम्म उत्तरको भित्तामा परेको चिराहरू देखाइएको छ । चित्रमा गोलाकार अङ्कित स्थानहरूमा चिराहरू परेको छ । यसबाहेक अरु स्थानमा पनि चिराहरू परेको छ जुन यो आलेखमा देखाइएको छैन । भुइँ तलाको चारवटै गा¥होमा मसिनोदेखि केही इन्चसम्मका चिराहरू दखिन्छ । भुइँ तलामा देखिएको सबैभन्दा ठूलो चिराको लम्बाइमा १.२७ से. मि. र चौडाइमा ३.३ से.मि.सम्म भेटिएको छ । लेजर स्क्यानरले बनाएको पूरै मन्दिरलाई निरीक्षण गर्दा सबै तल्ला मोरिएको देखिन्छ । यो मन्दिरको पहिलोदेखि चौथो तलाको छानोसम्म क्रमशः ०.०००, ०.१५०, ०.२९० र ०.८५० मा मोरिएको छ । यो घडीको उल्टो दिशातिर फर्किएको छ जसलाई चित्र नंंं. ७ मा देखाइएको छ । यसको विपरीत दिशामा पाँचौं तला ३.२५० ले मोरिएको छ ।
एसिलिरो मिटरलाई विभिन्न तलामा जडान गरेका थियांै । हरेक तलामा चारवटा एसिलिरोमिटर गरी जम्मा २० वटा एसिलिरोमिटर प्रयोग गरेका थियौँ । यस यन्त्रको काम मन्दिरको हल्लाइलाई मापन गर्ने हो । हरेक वस्तुको आफ्नै हल्लिने क्षमता हुन्छ जसलाई न्याचुरल फ्रिक्वेन्सी
भनिन्छ । यो गुणबाट कुनै पनि संरचनामा भूकम्पले कतिसम्म क्षति गर्नसक्छ र त्यसलाई बचाउन कस्तो उपाय अपनाउँदा ठीक हुन्छ भन्ने कुरा पत्ता लगाउन सकिन्छ । एसिलिरोमिटरको प्रयोगबाट यो मन्दिरमा क्रमशः १.५१ ज्श, २.५५ ज्श, ३.३१ ज्श मा विभिन्न प्रकारमा हल्लिने देखियो । यीमध्ये सबैभन्दा कम हल्लाइको मापन १.५१ ज्श लाई नेचुरल फ्रिक्वेन्सी भनिन्छ । यसको आधारमा मन्दिरको केही हदसम्ममा इन्जिनियरिङ्ग गुणहरू थाहा पाउन सकिन्छ । यो मापनलाई पहिले गरिएको मापनसँग तुलना गर्दा कम देखिएको छ । पहिलेको मापनमा १.६९ ज्श नेचुरल फ्रिक्वेन्सी थियो भने हालको मापनमा १.५१ ज्श नेचुरल फ्रिक्वेन्सी देखिएको छ । जुन १६.८ प्रतिशतले घटेको देखिन्छ । यो तथ्याङ्कमा आएको परिवर्तनबाट हामीले थाहा पाउछाँै कि यस मन्दिरमा चिराहरू बढ्दै गइरहेको अनुमान गर्न सकिन्छ । लचकताको दृष्टिकोणले हेर्ने हो भने यो मन्दिरको लचकता बढेको छ जुन यस्तो खालको संरचनाको लागि राम्रो मानिदैन । यसले मन्दिरको संरचना कमजोर भएको देखाउँछ ।
यसरी पाँचतले मन्दिरको परीक्षणबाट मुख्य गरी दुईवटा कमजोरीहरू देखिएको छ । पहिलो पाँचतले मन्दिरको पाँचैवटा छानो मोरिएको पाइएको छ र यसका भित्ताहरूमा चिराहरूको सङ्ख्या बढेको देखिन्छ । विशेषतः पहिलो तलाको चारवटै भित्तामा केही इन्चसम्मका चिराहरू देखिएका छन् । यसबाहेक सबैभन्दा माथिल्लो तलामा पूर्णरुपमा भित्ताहरू भत्किएको देखिन्छ । २०७२ सालको भूकम्पले पाँचतले मन्दिरमा पु¥याएको क्षतिलाई अझ विस्तृत अध्ययन र अनुसन्धान गरी संरक्षण गर्नुपर्ने देखिन्छ ।
(लेखक ख्वप कलेज अफ इन्जिनियरिङका अनुसन्धान एकाइका प्रमुख हुनुहुन्छ ।)
Leave a Reply