भर्खरै :

युवा संसद् सञ्चालन कार्यविधि २०७५ पारित

भक्तपुर, १९ माघ । भक्तपुर नगरपालिकाको चौथो नगरसभाको शनिबार बसेको बैठकले भक्तपुर नगरपालिकाको युवा समिति गठन तथा युवा सञ्चालन कार्यविधि २०७५ सर्वसम्मतिले पारित ग¥यो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नयाँ पुस्ताका युवाहरूलाई संसद् कसरी सञ्चालन हुन्छ भन्नेबारे थाहा दिन युवा संसद् सञ्चालन कार्यविधि तयार गरी लागू गर्ने उद्देश्यले कार्यविधि पारित गरेको बताउनुभयो ।
सो कार्यविधिमा युवाको नेतृत्व तथा क्षमता विकासमा सहयोग गर्ने, युवा समितिमा सम्बन्धित वडाभित्रका १६ देखि २४ वर्ष उमेर समूहका युवाहरू सम्मिलित गरी समिति गठन गर्ने र सङ्घ, प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने युवा लक्षित कार्यक्रम कार्यान्वयनका लागि समितिले सहयोग गर्ने, विपद् व्यवस्थापन तथा सामाजिक अन्धविश्वास र कुरीतिविरुद्ध युवा परिचालनका लागि सहजीकरणको भूमिका खेल्नेलगायतका व्यवस्थाहरू समावेश गरिएको छ ।
भक्तपुर नगरपालिकाको युवा समिति गठन तथा युवा सञ्चालन कार्यविधि २०७५ पारित गर्नुअगाडि छलफलमा भाग लिंदै सभासद बलराम न्हिसुतु, सिद्धिराम अवाल, हरिरत्न गोर्खाली, शिवप्रसाद बाला, राजेन्द्र माक र श्यामसुन्दर मातांलगायतले राष्ट्रिय युवा ऐनबारे स्पष्ट पार्नुपर्ने, जोखिममा रहेका युवाहरूबारे प्रस्ट हुनुपर्ने र भक्तपुर नगरमा भएका युवाहरूको सङ्ख्या उल्लेख गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
विधायन समितिका संयोजक हरिराम सुवालले सभासद्हरूको जिज्ञासालाई प्रस्ट पार्दै युवा वर्गको नेतृत्व तथा क्षमता विकास गरी देशको शासन सञ्चालन प्रणाली र सुशासन सम्बन्धमा युवाहरू सुसूचित र सशक्तीकरण गर्ने उद्देश्यका साथ भनपाका १० वटै वडामा निश्चित सङ्ख्यामा सदस्य समावेश गरी युवा संसद सञ्चालन गरिने प्रस्ट पार्नुभयो ।
बैठकमा भक्तपुर नगरपालिकाबाट फागुन ५ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने अन्तरनगर कराँते प्रतियोगिता प्रचारार्थ विभिन्न नगरपालिका भ्रमणमा जानुभएका भ्रमण टोलीहरूको तर्पmबाट वडाध्यक्षहरू हरिराम सुवाल, उकेश कवां, रवीन्द्र ज्याख्व र श्यामकृष्ण खत्रीलगायतले भ्रमण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा विधायन समितिका संयोजक हरिराम सुवालले “भक्तपुर नगरपालिका नगर प्रहरी सञ्चालन सम्बन्धमा बनेको विधेयक २०७५” प्रस्तुत गर्नुभयो । नगरसभाको अर्को बैठक माघ २१ गते १ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *