भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले बिहीबार कञ्चनपुरमा गरेको नेपाली नागरिकको हत्या र ज्यादतीको विरोधमा देशभर विरोध प्रदर्शन भएका छन् ।
काभ्रेको बनेपामा नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल क्रान्तिकारी युवा संघको आयोजनामा एसएसबीले गरेको हत्याको विरोध जुलुस तथा सभा भएको छ । चाँदनी चोकबाट शुरु भएको विरोध जुलुस बनेपा नगर परिक्रमा गरी सोही स्थानमा विरोध सभा भएको थियो ।
सभामा नेक्राविसंघका केन्द्रीय अध्यक्ष नीरज लवजूले भारतीय सशस्त्र बलको ज्यादतीविरुद्ध नेपाल सरकारले निकै कमजोर वक्तव्यबाजी गरेर भारतीय शासक वर्गको अपराध चोख्याउन खोजेको बताउनुभयो । नेपालस्थित भारतीय दुतावासले कञ्चनपुर घटनाको सन्दर्भमा झुठ्ठा कुरा समेटेर वक्तव्य निकालेकोमा विरोध जनाउँदै उहाँले झुठ्ठा कुरा गर्नु कुटनीतिक मर्यादाविपरीत भएको बताउनुभयो ।
सभामा नेक्रायुसंघ काभ्रेका अध्यक्ष ज्ञानेन्द्र डंगोल, नेक्राविसंघका केन्द्रीय सदस्य भोला रिजाल र तारा न्यौपानेलगायतले भारतीय विस्तारवादी चरित्रको विरोधमा नेपाली जनता एकजुट हुनुपर्ने विचार राख्नुभयो ।

बनेपा
कैलालीको लम्कीमा पनि कञ्चनपुर हत्याकाण्डको विरोधमा जुलुस तथा सभा भएको छ । सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले भारतीय विस्तारवादको नाङ्गो हस्तक्षेपप्रति प्रचण्ड सरकार मुकदर्शक बनिरहेकोमा विरोध जनाउँदै विदेशी सशस्त्र बलबाट नेपाली नागरिकको रक्षा गर्न नसक्ने सरकारलाई सत्तामा बस्न कुनै नैतिक अधिकार नभएको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावल, सचिव गगन थापा र नेक्राविसंघ कैलालीका अध्यक्ष तिलक सिजापतिले भारतीय हेपाहाविरुद्ध नेपाली जनताको आन्दोलनको विकल्प नभएको बताउनुभयो ।

कैलालीको लम्की
कैलालीकै फुलबारीबाट भारतीय ज्यादतीको विरोधमा स्वतःस्फूर्ती विरोध प्रदर्शन भएको छ । स्थानीय जनताले भारतीय सशस्त्र बलको ज्यादतीको विरोधमा नाराबाजी गरेका थिए ।
सुर्खेतको वीरेन्द्रनगरमा पनि विरोध सभा भएको छ । नेक्राविसंघ र नेक्रायुसंघको आयोजनामा मंगलचोकबाट शुरु भएको विरोध जुलुस नेताचोकमा पुगेर सभामा परिणत भएको थियो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य नवराज कोइरालाले गोविन्द गिरीको हत्या नेपालप्रति भारतीय हेपाहा प्रवृत्तिको उदाहरण भएको बताउनुभयो । सभामा नेमकिपाका धनेन्द्र विक, गणेश थापा, नेक्रायुसंघका गोविन्दनाथ योगी, नेक्राविसंघका टिकाराम कंडेल र खेमराज कंडेलले बोल्नुभएको थियो ।
घटनाको विरोधमा राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठन अखिल छैटौंले राजधानीमा मसाल जुलुस प्रदर्शन गरेको छ । डिल्लीबजारबाट शुरु भएको मसाल जुलुसका क्रममा अखिल छैटौंका पूर्वकेन्द्रीय अध्यक्ष अनिलकिशोर घिमिरे र रामबहादुर बुढालाई गिरफ्तार गरेको छ ।
सत्तासीन राजनीतिक दलका जनवर्गीय संगठनहरुले पनि राजधानीमा कञ्चनपुर हत्याकाण्डको विरोधमा विरोध प्रदर्शनी गरेका छन् ।
नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गरेको छ भने माओवादी केन्द्रको जनवर्गीय संगठन अखिल क्रान्तिकारीले पनि माइतीघरबाट नयाँ बानेश्वरसम्म विरोध जुलुस र सभा गरेको छ ।
एमालेको युवा संगठन युवा संघले नेपालले पनि विरोध प्रदर्शन गरेको समाचार छ ।
विप्लव माओवादीले कञ्चनपुर घटनाको विरोधमा उपत्यकाका विभिन्न स्थानहरुमा मसाल जुलुस गरेको छ ।

विप्लव माओवादीको मसाल जुलुस

अखिल छैटौंको जुलुसमा प्रहरी हस्तक्षेप

कैलालीको फुलबारीमा नागरिक जुलुस

नेविसंघको जुलुस

सुर्खेत
Leave a Reply