भर्खरै :

एसईई परीक्षा दिने विद्यार्थीलाई शुभकामना

आइतबारबाट एसईई परीक्षा सुरु हुँदैछ । परीक्षा नियन्त्रण कार्यालयले जनाएअनुसार यो वर्षको परीक्षामा कुल ४ लाख ७५ हजार विद्यार्थीहरू सहभागी हुनेछन् । कुनै बेला ‘उच्च शिक्षाको लागि फलामे ढोका’ भनेर पनि चिनिएको यो परीक्षाको शैक्षिक र सामाजिक महत्व अझै पनि उँचो मानिन्छ । नेपाली समाजमा विगतमा एसएलसी भनिने एसईई परीक्षालाई जीवनकै एउटा चरणको रुपमा बुझ्ने गरिन्छ । अझ एसईई परीक्षा उत्तीर्ण हुनुलाई ‘ठूलो’ उपलब्धि भएको मानिन्छ ।
लेटर ग्रेडिङ प्रणाली लागू भएपछि एसईई परीक्षाको निम्ति विद्यार्थीले हिजोजस्तो मिहिनेत गर्ने गर्थे, आजभोलि कम मिहिनेत गरेको धेरै अभिभावकको अनुभव छ । अङ्कका आधारमा मूल्याङ्कन गर्ने प्रणालीले विद्यार्थीबीच अनावश्यक प्रतिस्पर्धा भएको भन्दै ल्याइएको लेटर ग्रेडिङ्ग प्रणालीले निम्त्याएको यो नकारात्मक प्रभावलाई कसरी सुधार्न सकिन्छ, त्यस विषयमा शिक्षाविद् र शिक्षक–शिक्षिकाबीच चिन्तन र विमर्शको आवश्यकता छ । विद्यार्थीको सर्वाङ्गिण विकासको नाममा विद्यार्थी आधारभूत ज्ञानबाट समेत टाढा हुनु निःसन्देह चिन्ताजनक हो ।
हिजो अङ्कका आधारमा उत्तीर्ण वा अनुत्तीर्ण तय गर्दा कतिपय विद्यार्थीले हतासमा आत्महत्या गर्ने, निराश हुने समस्या देखिएको हुनाले आज लेटर ग्रेडिङ्ग प्रणाली भित्र्याइएको हो । तर, आज पनि सी, डी, र ई ग्रेडमा उत्तीर्ण भएका विद्यार्थीका लागि उच्च शिक्षाको निम्ति तोकिएका साँघुरो बाटोले उनीहरूको भविष्य अझ दोसाँधमा पर्ने सम्भावना रहन्छ । कमजोरलाई विकल्प दिएजस्तो देखिए पनि ती ग्रेडमा परीक्षा उत्तीर्ण अधिकांश विद्यार्थी उच्च शिक्षाबाटै विमुख हुँदै जाने वास्तविकता नकार्न सकिन्न ।
वास्तवमा कम ग्रेडमा उत्तीर्ण अधिकांश विद्यार्थीको हातमा शैक्षिक प्रमाणपत्र त हुन्छ, तर त्यसको कुनै प्रयोजन नहुने अवस्था बनेको छ । एसईई परीक्षा उत्तीर्णको प्रमाणपत्र भएका विद्यार्थीले जीवनमा आफूलाई आवश्यक न्यूनतम सीप र कार्यसमेत गर्न नसक्दा त्यस्तो प्रमाणपत्र कागजको खोस्टो सिवाय केही हुनेछैन । त्यसो त स्नातकोत्तर तह पढिरहेका विद्यार्थीहरूसमेत वैदेशिक रोजगारीमा जान छिनाझम्टी गरिरहेको अवस्थामा एसईईको प्रमाणपत्रले रोजगारी पाउनुपर्ने तर्कलाई कतिपयले हास्यास्पद मान्न सक्छन् । तर, राज्यले दिने शैक्षिक प्रमाणपत्र कुनै पनि काम गर्न आफैंमा विश्वासको आधार हो ।
नयाँ शिक्षा व्यवस्थाअनुसार राष्ट्रिय स्तरको परीक्षा कक्षा १२ मा लिने बन्दोबस्त भए पनि यो वर्ष पनि कक्षा १० कै अन्तिम परीक्षाको रुपमा एसईई परीक्षा लिइँदै छ । धेरै विद्यार्थी, शिक्षा–शिक्षिका र अभिभावकको सपनासँग जोडिएको यो परीक्षामा जीवनको ज्यादै महत्वपूर्ण एक दसकभन्दा लामो समयको मिहिनेतको परीक्षणको लागि परीक्षामा सहभागी बन्ने सबै विद्यार्थीलाई हार्दिक शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *