भर्खरै :

कृषकहरू कुरिलो खेतीतर्फ आकर्षित

–मनिषा मचामसी
भक्तपुर, २३ चैत । सूर्यविनायक नगरपालिका, सिपाडोलका स्थानीय कृषकहरू कुरिलो खेतीबाट बढी आम्दानी भएको कारण कुरिलो खेतीप्रति आकर्षित छन् ।
काउली, फर्सी, बन्दा, धान, गहुँजस्ता खाद्यबाली लगाए तापनि कुरिलो खेतीबाट मनग्य आम्दानी हुने भएकोले हिजोआज यहाँका कृषकहरू कुरिलो खेतीमा लागेका हुन् ।
बजारमा कुरिलोको माग बढी भएको र उचित मूल्यमा बिक्री हुने भएकोले कुरिलो खेती गर्न धेरै मिहिनेत लागे पनि मिहिनेतअनुसार फल पाउने हुँदा कृषकहरू खुसी छन् ।
स्थानीय किसान लक्ष्मीप्रसाद मचामसी भन्छन्, “कुरिलो खेती गर्न धेरै समय लाग्दैन । कुरिलो खेतीमा राम्रोसँग हेरविचार गरेर, व्यवस्थित तरिकाबाट ठीक समयमा मल र पानी दिएर, बेलाबेलामा गोडमेल गरेमा कुरिलो चाँडै फल्ने गर्छ ।” उनले आठ महिनाभित्र रु. असीदेखि एक लाखसम्म आम्दानी गर्नसक्ने बताए ।
अर्का किसान आशाराम ख्याजूले पनि कुरिलो खेतीबाट रु. दुई लाखसम्म कमाएको बताए । उनीहरूले उत्पादन भएको कुरिलो बिचौलियामार्फत बजारमा पु¥याउँदा बजार भाउभन्दा अलि कम मूल्य पाएको बताए ।
अर्का एक किसान दशराम ख्याजूले भने उत्पादन भएको कुरिलो आफैँ बजारमा लगेर बिक्री गर्दा अरुको तुलनामा आफूले अलि बढी आम्दानी गरेको बताए । यसरी आफ्नो मिहिनेतअनुसारको फल आउने भएकोले सिपाडोलका किसानहरू कुरिलो खेतीप्रति धेरै आकर्षित देखिन्छन् ।
प्रशिक्षार्थी

Leave a Reply

Your email address will not be published. Required fields are marked *