भर्खरै :

पूर्वविद्यार्थी नेताहरुले पारित गरे यस्ता प्रस्ताव(पूरा पाठ)

नेपाल क्रान्तिकारी विद्यार्थी संघका पूर्व कार्यकर्ताहरुको भेला चैत १२ गते शनिबार भक्तपुर नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)को प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
भेलामा सहभागी नेक्राविसंघका पूर्व कार्यकर्ताहरुले देशको समसामयिक अवस्थाबारे निम्नानुसारका महत्वपूर्ण प्रस्तावहरु पारित गरेका छौं ।
१) व्यवस्थापिका–संसदबाट गत चैत ९ गते पारित गरेको थ्रेसहोल्डको प्रावधानसहितको राजनीतिक दलसम्बन्धि विधेयक नेपालको संविधान २०७२ र प्रजातान्त्रिक मूल्यमान्यता विपरीत भएको यो भेलाको ठहर छ । विदेशीको इसारामा नेपाली जनताको भावनाविपरीत देशका तीन शासक दलहरुको मिलेमत्तोमा पारित भएको सो विधेयक पञ्चायती निरंकुशताको शिलशिला हो । राजनीतिक दल फरक राजनीतिक दर्शन र विचार तथा वर्गीय आधारमा बनेको हुने गर्दछ र निर्वाचनमा प्राप्त मत र स्थान नै राजनीतिक दल ‘राष्ट्रिय वा अराष्ट्रिय’ हुने मापदण्ड पूर्णतः पूँजीवादी विचारको परिणाम हो । तसर्थ यो भेला प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक जना सांसद र समानुपातिक प्रणालीबाट तीन प्रतिशत मत प्राप्त गरेको राजनीतिक दलमात्र राष्ट्रिय हुने मापदण्ड पूर्ण खारेजीको माग गर्दछ ।
२) गत मिति २०७३ फागुन २६ गते कञ्चनपुर जिल्लाको आनन्दबजारमा भारतीय सीमा सुरक्षा बल(एसएसबी) अन्तर्राष्ट्रिय नियमविपरीत नेपाल–भारतको सीमाना ५ सय मिटर नाघेर नेपाली भूमिभित्र प्रवेश गरी नेपाली नागरिक गोबिन्द गौतमको हत्या गरेको र नेपाली नागरिकमाथि ज्यादती गरेको घटनाप्रति यो भेला घोर भत्र्सना गर्दछ । नेपाली भूमिमा कल्भर्ट बनाउँदै गरेका नेपाली नागरिकहरुमाथि हातहतियार सहित आएर गोली हानी हत्या गर्नु भारतीय विस्तारवादको नेपाल र नेपाली जनताप्रतिको हेपाहा प्रवृत्तिको निरन्तरता हो । यो भेला तत्काल दोषी एसएसबीलाई कार्यबाही गरी मृतक तथा घाइतेका परिवारलाई भारतीय पक्षबाटै क्षतिपूर्ति दिलाउन साथै आगामी दिनमा यस्ता घटना नदोहो¥याउने सुनिश्चितताको माग गर्दछ ।
३) आगामी बैशाख ३१ गते तय भएको स्थानीय तहको निर्वाचन नेपाली जनताले बनाएको संविधान २०७२ को कार्यान्वयनको लागि सहयोगी सिद्ध हुनेमा यो भेला आशा व्यक्त गर्दछ । स्थानीय तहमा प्रभावकारी प्रजातान्त्रिक अभ्यासले मात्र देशमा प्रजातन्त्र बलियो हुनेछ । तर निर्वाचनको नाममा शासक दलहरुले गर्ने गरेको धाँधली, धन, सत्ता र बलको दुरुपयोगले भने प्रजातान्त्रिक आचरण र बन्दोबस्तलाई कमजोर बनाउनेछ । यो भेला सम्पूर्ण नेपाली जनतालाई बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनमा भाग लिई जनताको सेवामा समर्पित र देशलाई माया गर्ने इमान्दार उम्मेदवारलाई निर्वाचित गरी स्थानीय तहमा प्रजातन्त्र बलियो बनाउने कर्तव्य पूरा गर्न आह्वान गर्दछ ।
४) मधेस प्रदेशको नाममा देशलाई कमजोर बनाउने, हिन्दी भाषालाई कामकाजी भाषा बनाउने, वैवाहिक अंगीकृत नागरिकलाई वंशज सरहको अधिकार दिने लगायतका विषय समेटेर संसदमा सरकारले पेश गरेको संविधान संशोधन प्रस्तावले नेपालको सार्वभौमिकता कमजोर बनाउने र सो प्रस्ताव नेपाली जनताको भावना विपरीत भएको यो भेलाको ठहर छ । संविधान संशोधन प्रस्तावले भारतीय एकाधिकार पूँजी र विस्तारवादको हित गर्ने निश्चित छ । तसर्थ सो संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित हुन नहुने यो भेलाको ठहर छ । संविधान संशोधन प्रस्तावविरुद्ध नेपाल मजदुर किसान पार्टी लगायतका दलहरुले चालु राखेको संघर्षप्रति यो भेला ऐक्यबद्धता व्यक्त गर्दछ ।
५) छिमेकी देश चीनले आपसी सहकार्यमा आधारित रहेर संसारभरको विकासलाई लक्षित गरी सन् २०१३ मा प्रस्ताव गरेको एक क्षेत्र एक बाटो (वन बेल्ट वन रोड–ओबीओआर) पहलकदमीमा नेपाल पनि सहभागी बन्नु पर्ने यो भेला जोड दिन्छ । यसले नेपालको विकासका लागि आवश्यक पूर्वाधार विकास र आर्थिक समृद्धिमा योगदान गर्नुका साथै संसारभर चलेका साम्राज्यवादी एकमनावाद कमजोर हुँदै जानेछ । साथै यो भेलाले एउटै देशबाट मात्र नभई विभिन्न देशहरुबाट पेट्रोलियम पदार्थ ल्याउनुपर्नेमा जोड दिन्छ । विभिन्न देशबाट पेट्रोलियम पदार्थ ल्याउने विषयमा भएका सम्झौता तत्काल कार्यान्वयनमा ल्याउन माग गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *