भर्खरै :

गोर्कीको १४९ औं जन्म दिवस मनाइयो

काठमाण्डौ, १५ चैत । प्रगतिशील रुसी साहित्यकार मेक्सिम गोर्कीको १४९ औं जन्म दिवसको अवसरमा सोमबार नेपाल क्रान्तिकारी विद्यार्थी संघ त्रिचन्द्र क्याम्पसको आयोजनामा साहित्य वाचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी साँस्कृतिक संघका केन्द्रीय अध्यक्ष सुरेन्द्रराज गोसाईले समाजवादी व्यवस्थाको स्थापना अवश्यम्भवी र पूँजीवाद पतनोमुख भएका कारण समाजवादको पक्षमा र पूँजीवादको विरोधमा लेख्नु नै प्रगतिशील साहित्यकारको दायित्व भएको बताउनुभयो ।
नेपालका प्रगतिशील साहित्यकार भनाउँदाहरुले स्तालिनको विरोधको गर्नु गलत भएको चर्चा गर्दै भारतीय विस्तारवादले नाकाबन्दी थोपर्दा प्रगतिशील भनाउँदा साहित्यकारहरुले विस्तारवादको विरोध गर्न खुट्टा कमाएको बताउनुभयो ।
‘भारतीय विस्तारवादको विरोध नगर्ने साहित्यकार आजको सन्दर्भमा देशभक्त र प्रगतिशील हुनेछैन’, उहाँले भन्नुभयो ।
नेक्राविसंघका केन्द्रीय अध्यक्ष नीरज लवजूले मेक्सिम गोर्कीको उपन्यास आमा आफैमा एउटा क्रान्तिको नाम भएको चर्चा गर्दै जस्तै प्रतिकुल परिस्थितिबीच पनि समाजको अध्ययन र सेवा गर्ने गोर्कीको संघर्षले उहाँलाई महान बनाएको बताउनुभयो ।
रोमान्टिक साहित्यकारहरुले साहित्यमा सर्वसाधारण जनताको कुरा ल्याएको तर गोर्कीले कामदार जनतालाई साहित्यमा नायक बनाएको हुनाले उनी प्रगतिशील साहित्यकार भएको उहाँको भनाई थियो ।
नेक्रायुसंघका केन्द्रीय सचिव शंकर भण्डारीले समाजवादी यथार्थवाद साहित्यको विकासमा गोर्कीले नेतृत्वदायी योगदान गरेको चर्चा गर्नुभयो ।
कार्यक्रममा नेक्राविसंघका केन्द्रीय सदस्य सुरेश परियार र दिपेन्द्र शाहीले गोर्कीका विभिन्न कृतिहरुबारे परिचर्चा गर्नुभयो ।
गोष्ठीमा विवेक अधिकारी, सञ्जय प्रजापति, उत्तम सेजुवाल, रतन नेपाली, बिन्दू हमाल, आर्यन भण्डारी, रणबहादुर रानालगायतले आ–आफ्ना साहित्य वाचन गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष हृदय दाहालको सभापतित्वमा भएको साहित्य गोष्ठीमा नेत्र थापामाझी, युवराज शाहीलगायतले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *