भजन गायन प्रदर्शनी
- जेष्ठ १५, २०८३
आँखीझ्यालमा इतिहास
धारिलो आँसी वा कसिंदो फाँसीजस्तै
घाँटीमा बाँधेर सुकिलो टाई,
पी.आर. सपनाको खोजीमा
डलरको हरियो घाँस चपाउँदै
हिंडेथ्यो काठमाण्डौंबाट
डिग्री होल्डरहरूको हुल ।
मन्त्रयुद्धको सूत्र घोकेर
अंग्रेजी झोलामा झूट बोकेर
हिंडेथ्यो सम्मोहित हुल निर्विचार
र पुगेथ्यो सुदूर जिल्ला
घेरेथ्यो ‘जिलेस्पी’ले जस्तै
स्वाभिमानको नालापानी किल्ला ।
हुलले देख्यो—
अभावमा जलिरहेका धुरी पाली
आँखाबाट झरिरहेको
दुःखको ‘कर्णाली’,
चुल्होमा पुत्ताइरहेको
गरीबीको धुँवाचित्र
हुलले खिच्यो—
शे–फोक्सुन्डोभन्दा
गहिरो भोकको छायाचित्र,
छर्न खोज्यो स्वार्थको बीउ
भोकको त्यै गहिराइभित्र ।
गाउँको माटोमा
छरिइरह्यो असरल्ल
वियर र कोकका क्यान,
फ्रुट केक र सुकुटीका ¥यापर,
ह्विस्कीका सिसी र टोइलेट पेपर,
केटाकेटीहरूले उडाइरहें
कण्डमका बेलुन ।
सारंगी संगीतमा गुञ्जिरह्यो
भोकको व्याकुल धुन ।
काठमाण्डौंको अँधेरमा
नचाउँदै आफ्ना चम्किला आँखाहरू,
भिरङ्गी फिरङ्गी पढिरहेछ
उहीं गरीबी आज पनि
र बुनिरहेछ चक्रव्यूह दामकामको
सेवा योजना छलछामको ।
एकदिन निस्कनेछ फेरि ‘नीलो’ गाडी
सुकिलो हुुल लिएर,
फिरङ्गीले सोचेजस्तो तर
झर्ने छैन शिरबाट स्वाभिमानको फेटा,
झुण्डिने छैनन् क्रसमा
उन्मुक्त चराहरूको पखेटा ।
थाहा पाउने गरी कण्डमको गन्ध
ठूला भइसकेका हुनेछन् केटाकेटीहरू,
भइसकेका हुनेछन् ती
कान्जिरोवा हिमालजस्तै ढृढ
र उडाइरहेका हुनेछन्—
सारङ्गीभित्र अल्झिएको
आफ्नै फोक्सोका विद्रोही बेलुन
उभिएर म्लेच्छ सपनाको लासमा,
हिमालमाथिको आफ्नै
मुक्त उन्मुक्त आकाशमा ।
मरुभूमिको गीत
मध्यरातको नीरव छटपटीमा
दह बास बसिरहेको आँखामा
छाइरहेछ प्रियसीको उदास अनुहार,
आइरहेछ ऋणमा डुबेको घरबार,
बेतोड भागिरहेछ निद्रासँगै
प्रेमजस्तो सुकोमल सपना ।
सम्झेर घरको भोक चुहिने मझेरी
लागिरहेछ आँखामा आँसुको झरी
छिचोलेर आँसुको झरना
देखिरहेछु स्वजनका तस्वीर,
मनमा उर्लिरहेछ पीर
छातीमा बज्रिरहेछ तीर ।
दौडिइरहेछु मृगतृष्णाको पछिपछि
सेकिदैछु बालुवाको ताप बोकी
चलिरहेको पवनमा,
डुब्दै छु पलपल
आँसुको आफ्नै आयतनमा,
एकान्तको अँध्यारो गोठमा
जब हुत्याउँछ निराशाको छालले
छाती फोडेर उभिन्छ
पीडाप्रश्न सचित्र—
फर्किनेछु आफ्नै खुट्टामा उभिएर ?
वा काठको बाकसभित्र ¤
गोलीजस्तै यो
प्रश्नको घाउ लिएर
दौडिदै घाइते मृगजस्तै
सिँचिरहेछु पसिनाले मरूभूमि
र माटो आफ्नै हराइरहेछु
भाँसिइरहेछु बालुवाव्यूहमा
र बाटो आफ्नै हराइरहेछु
हजुर ¤
म त एक पाशित गोठालो,
आत्मबलिदानको रेमिट्यान्समा
विद्वान् विज्ञहरूले जस्तै
देखिरहेको छैन—
देशको मुहारमा मुस्कान,
भेटिरहेको छैन—
लत्रेको शिरमा स्वाभिमान ¤
हरदम मलाई बोलाइरहने
मैलाई सम्झी टोलाइरहने
यौटी छिन् मेरी मोई,
हरियो पासपोर्ट बोकाइरहने
यातनाको गोमनले टोकाइरहने
अर्को छ अग्निवर्णको राज्यसत्ता
जो खाइरहेछ
मेरै पसिनाको भत्ता ।
पश्चिम र पूर्वजस्तै
वा चुम्बकको दुई धु्रवजस्तै
यौटी मेरी मोई छिन्
र अर्को छ राज्यसत्ता ।
टिप्पणी
-रामचन्द्र श्रेष्ठ
कविता मानवीय अनुभूतिको सम्प्रेषण हो । भोगाईले निर्माण गरेको संवेदना परिपक्व भएपछि कविले शब्दको शिल्पद्वारा जे अभिव्यक्ति गर्दछ, त्यहीं नै कविता हो । त्यसैले कवितामा कविका भावना लुटपुटिएको हुन्छ, अनुभूति छचल्किरहेको हुन्छ ।
तर, अनुभूतिको निर्माण कसरी हुन्छ ? अनुभूतिको निर्माण शुरुमा अनुभवद्वारा नै हुन्छ होला । तर, मात्र अनुभव पर्याप्त हुँदैन अनुभूतिको लागि । संवेदना परिपक्व बन्न प्रत्यक्ष अनुभवमात्र पर्याप्त हुँदैन । मान्छेको चेतनाको स्तरले उसको अनुभूति र संवेदनाको तह फरक पार्दछ । त्यसैले कविको चेतना, उसको दृष्टिकोणको स्तरले नै उसको अनुभूतिलाई बलियो पार्दछ । कविको दर्शन उसको कवितामा पोखिन्छ ।
कवि गिरि श्रीस मगर पछिल्ला दिनहरूमा आफ्ना कवितामा निखार ल्याइरहेका भेटिन्छन् । उनको दृष्टिकोण फराकिलो बन्दैछ । जीवन र जगतलाई हेर्ने नजर धारिलो बन्दैछ । उनी विम्ब, प्रतीक र शब्दको नयाँ–नयाँ प्रयोगद्वारा समाजसँग संवाद गरिरहेका छन् । परिवर्तनको स्वर तिखारिरहेका छन् । जसको उदाहरण उनका यी दुई कवितामा प्रष्ट झल्किन्छ ।
‘मरूभूमिको गीत’ कविता गिरिले सन् २००८ अक्टोबर १८ मा कतारको दोहामा रचना गरेका हुन् । कवि स्वयं एक मजदूर भएर विदेशी भूमिमा पसिना बगाइरहेका थिए । त्यसैले वैदेशिक रोजगारीको पीडा उनी आफै भोगिरहेका थिए । परदेश भासिएको एक युवाको अनुभूति जीवन्त उतारेका छन् कविले । आँखाभरि प्रियसीको उदास अनुहार, घरको ऋण, बाँच्नको लागि सकस । मन तातो बालुवाले भतभती पोलिरहेछ । आफ्नो उमेर, पसिना, श्रम, सीप सबै विदेशी भूमिमा चढाउँदा आफ्नै अस्तित्व मासिइरहेछ । कविले अस्तित्वको गुमाईलाई यसरी पोखेका छन्—
सिंचिरहेछु पसिनाले मरुभूमि
र माटो आफ्नै हराइरहेछु…
कविले तथाकथित विद्वान् विज्ञले भन्ने जस्तो ‘रेमिट्यान्सका जादु’ भेटिरहेका छैनन् ।
यो कविताको सबैभन्दा चोटिलो पक्ष हो— यसमा कविको रुवाबासी छैन । वैदेशिक रोजगारीमा गएका कैयौं युवाहरूले लेखेका साहित्यमा रुवाबासी भेटिन्छ । भाग्यलाई दोष दिएको पाइन्छ । तर, यो कवितामा कुनै रुवाबासी छैन । कविले बडो शालिन ढंगले दुई विम्ब उभ्याएका छन्— एकातिर मोइ (आमा) छिन् अर्कोतिर राज्यसत्ता छ । मोइले सन्तानको प्रतिक्षा गरिरहेछिन् । नेपाल मोई सन्तान सम्झेर टोलाइरहेछिन् । मोई माया र ममताको प्रतिक हुन् । जसको विपरीत राज्यसत्ताले मोईका सन्तानलाई बेचिरहेछ र पसिनाको भत्ता पचाइरहेछ । ‘मोइ’ र ‘राज्यसत्ता’लाई दुई विपरीत धुव्रमा उभ्याएर कविले विद्रोह बोलिरहेछन् । तिखो विद्रोह चेत यो कविताको आत्मा हो ।
यस्तै सशक्त अर्को कविता ‘आँखीझ्यालमा इतिहास’ हो । सन् २००५ सेप्टेम्बर १९ मा रचिएको यो कविता कर्णालीको सन्दर्भमा छ । कवितामा कर्णाली छ । जो भोको छ । जो निरक्षर छ । र, जसमाथि विदेशी संस्थाहरूको आँखा गडेको छ । विदेशी भत्तामा कर्णाली पुगिरहेछ काठमाडौंको डिग्रीधारी हुल । जसले विकासको नाममा, अनुसन्धानको नाममा कर्णालीको गरिबी र दुःख बेचेको छ । कविले उनीहरूको उद्देश्यलाई उत्कृष्ट प्रतीक प्रयोग गरेका छन्— मन्त्रयुद्ध । तर, यो हुलले कुनै गरिबी र भोक अन्त्य गर्ने पाइला चाल्दै छैन । यसले त उल्टो कोक र वियरका बोतलले फोहोर गरिरहेको छ । अनि कण्डमले केटाकेटीलाई बिगारिरहेको छ । यो यथार्थ हो । जीवन्त यथार्थ । सग्लो चित्र । तर कवि यो यथार्थ चित्रणमा मात्र अल्झिएका छैनन् । उनले भविष्य पनि चित्रण गरेका छन् । कविको दूर दृष्टिले भविष्य इंगित गरिरहेको छ । कर्णाली सँधै भोक बेचेर बस्नेछैन । स्वाभिमानको बिक्री गर्नेछैन् । बरु कर्णालीले विद्रोह गर्नेछ । ‘कान्जिरोवा’ हिमालको विम्ब प्रयोग गर्दै कविले भविष्य हाँक्ने पुस्ताको ढृढता संकेत गरिरहेका छन् र ‘फोक्सोको विद्रोही बेलुन’को सुन्दर विम्बले हृदयमा छिपेको विद्रोह दृष्टिगत गरिरहेका छन् । यो कविता विमल निभाका कविताको हाराहारीमा रहेको उत्कृष्ट प्रगतिवादी कविता हो ।
Leave a Reply