भर्खरै :

नख्खु र बल्खु खोला बस्तीमा पसेको होइन खोला मिचेर बस्ती बसेको हो

– निरोज मास्के, नख्खु, ललितपुर
लगातारको वर्षासँगै शुक्रबार दिउँसो काठमाडौंको कलङ्की, कुलेश्वर तथा ललितपुरको नख्खु क्षेत्र डुबानमा प¥यो । सञ्चारमाध्यमहरूले ‘नख्खु र बल्खु खोला बस्तीमा पसेको भनी कानै पाक्ने गरी समाचार दोहो¥याए । तर यथार्थमा नख्खु र बल्खु खोला बस्तीमा पसेको होइन, खोला मिचेर बस्ती बसेको हो ।
कुलेश्वरमा ठूला अपार्टमेन्टहरू नै डुबानमा परेको दृश्य धेरैका लागि आश्चर्यको विषय थियो । आश्चर्यमा पर्नु यो स्वाभाविक पनि हो । किनकि कोरिडोर सडक आसपासका बस्ती सुरक्षित मानिएको थियो । सरकारले नै नदी किनारहरूमा कोरिडोर सडक निर्माणलाई उच्च प्राथमिकता दिएको छ, अग्ला पर्खालहरू लगाएको छ, सडक बनाएको छ । तर त्यो सबै नाघेर बाढी बस्तीमा पस्यो ।
नख्खु र बल्खु खोलामा आएको योपटकको बाढी २०–३० वर्षमा एकपटक आउने बाढी हो । जसलाई नदीको दुवैतिर लगाएका पर्खालले छेक्नसक्दैन । तर २०–३० वर्षमा एकपटक बाढी आएकै कारण बस्ती डुबानमा परेको होइन । पछिल्ला वर्षमा अनेक नाममा नदी मिचेर संरचना बनाउने काम तीव्रगतिमा भयो । सामान्य वर्षा र बाढी आउँदा मानिसले बनाएको कृत्रिम धारमा नदी बगेको थियो । जब ठूलो बाढी आउँछ, नदीले आफ्नो पुरानै बहाव कायम गर्छ । यसपटक त्यस्तै भयो ।
सरकारले २०६५ मा नै नदीको दुवैतर्फ २०÷२० मिटर छाडेरमात्र पक्की संरचना बनाउन आग्रह गरेको थियो । तर नख्खु र बल्खु खोलामा मात्र होइन, वरपर कहीँ पनि यो पालना भएको छैन । नदी किनारसम्म घरहरू बनेका छन्, ठूलठूला संरचनाहरू ठड्याइएका छन् । खोलालाई साँघुरो बनाइएको छ । त्यसैले मानिसले बनाएको कृत्रिम बाटोमा खोला पस्यो । जब पानीको बहाव उच्च हुन्छ, कृत्रिम बाटोमा अट्दैन । त्यसैले घर होस् कि सडक नदीले आफ्नो बाटो कायम गर्छ । नख्खु खोलामा त्यस्तै भएको छ । २०२१ मा नदीको बहाव जहाँ थियो, त्यतैतिर लैजाने भनेर नदीको धार परिर्वतन गर्ने काम भयो । २०२१ मा नदीको धार भएका धेरै ठाउँमा पक्की संरचनाहरू बनिसकेका थिए । त्यसैले मानिसहरूले आफ्नो अनुकूल धार कायम गरे । करिब ८० करोडमा ठेक्का पाएको कालिका कन्स्ट्रक्सनले १३ मिटर खोला र दुवैतर्फ १२–१२ मिटर बाटो कायम गरेर ढल तथा पर्खाल लगाउने काम पनि गरिरहेको थियो । योपटक आएको बाढीले कृत्तिम धारलाई छोडेर आफ्नो अनुकूल बहाव कायम ग¥यो ।
त्यसैले खोला बस्तीमा पसेको होइन बस्ती खोलामा पसेको हो । बस्ती खोलामा पसेपछि खोला आफ्नो ठाउँमा बग्न नपाएर बाहिर उर्लेको मात्र हो । जहाँ जहाँ खोला र नदीको जमिन मिच्ने काम हुन्छ, त्यता त्यता हरेक वर्षात्मा खोला र नदीले क्षति पु¥याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *