भर्खरै :

वास्तविक महिला अधिकार समाजवादी व्यवस्थामा

भक्तपुर, २३ चैत । ‘सविधानमा पहिले भन्दा महिलाको अधिकार बढी राखिए तापनि सामाजिक रुपमा त्यसो हुन सकेको छैन । महिलाको अधिकार लेखेरमात्र होइन व्यवहारिक रुपमा हुनुपर्ने र पूँजीवादीहरूले देखावटी रुपमा मात्र अधिकार दिन खोजेका छन् । तर वास्तविक महिला अधिकार समाजवादी व्यवस्थामा मात्र सम्भव हुन्छ ।’
उक्त कुरा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष एवं सांसद अनुराधा थापामगरले नेपाल क्रान्तिकारी महिला सङ्घ भनपा ६ ख एकाइ समितिको वडा सम्मेलनमा व्यक्त गर्नुभएको हो ।
उहाँले महिलाहरू जातीय रुपमा होइन वर्गिय रुपमा सचेत हुनुपर्ने उल्लेख गर्दै स्थानीय निर्वाचनमा इमानदारीपूर्वक काम गर्ने र देश र जनताको पक्षमा आवाज उठाउने नेमकिपाका उम्मेदवारहरूलाई जिताउनुपर्ने कुरा उठाउनुभयो । देशमा धेरै नगरपालिका रहे तापनि एउटा सानो विद्यालयसम्म पनि सञ्चालन गर्न सकेको छैन तर भक्तपुर नगरपालिकाले महिला साक्षरता कक्षा सञ्चालनदेखि कलेजसम्म सञ्चालन गरी देशकै नमुना काम गरिरहेको उहाँले बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ नगर समितिका अध्यक्ष रोसनीमैयाँ सुवालले महिलाहरू भजन किर्तनमा मात्र लाग्नु नहुने, सिर्जनशील काम र समाज परिवर्तनका बाहक बनेर लाग्नुपर्ने बताउनुभयो । हाम्रो समाजमा जालसाझी र झूटा आश्वान दिनेहरूको कमी नभएकोले त्यस्तोबाट बच्नका लागि महिलाहरू सधंै जागरुक भइरहनुपर्ने बताउनुभयो ।
जननिर्वाचित वडा सदस्य हरिरत्न गोर्खालीले नेमकिपा समाजवादका लागि लडिरहेको बताउनुभयो । नेक्रामहिला सङ्घका धर्मलक्ष्मी दुवालले महिलाहरू सधंै एकजुट हुनुपर्ने कुरा बोल्नुभयो । नेक्राकिसङ्घ ६ ‘ख’ का कृष्ण दुमरु, सांस्कृतिक सङ्घका नारायणमान बनमालाले पनि बोल्नुभएको थियो । टोलवासीहरूको तर्फबाट कृष्णगोविन्द लाखाले पनि बोल्नुभएको उक्त कार्यक्रममा सङ्घका उपाध्यक्ष सुलोचना लाखाजुले स्वागत र सङ्घका सदस्य नारांदेवी दुमरुले धन्यवाद र सभाको सभापतित्व सङ्घका अध्यक्ष रामेश्वरी लाखाजुले गर्नुभएको थियो ।
बन्दसत्रबाट नेपाल क्रान्तिकारी महिला सङ्घ ६ ‘ख’ एकाइ समिति नारांदेवी दुमरुको अध्यक्षतामा एघार सदस्यीय समितिको पुनःगठन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *